जापानमा नेपालीको संख्या १ लाख ५० हजार पार

जापानमा नेपालीको संख्या १ लाख ५० हजार पार


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानमा नेपालीहरुको जनसंख्या निरन्तर बढ्ने क्रममा पहिलो पटक १ लाख ५० हजार पार भएको छ ।

जापान सरकारको अध्यागमन विभागले हालै जापानमा रहेका विदेशीहरुको संख्या अधावधिक गर्ने क्रममा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालीको जनसंख्या १५६,३३३ पुगेको उल्लेख छ ।

जापानले हरेक वर्ष जुन महिना र डिसेम्बर महिनालाई आधार बनाएर दुई पटकट तथ्यांक प्रकाशन गर्ने गर्दछ । उक्त तथ्यांक निस्कन करिब ४ महिना लाग्ने गर्दछ । जुन तथ्यांकअनुसार अघिल्लो बर्षको तुलनामा नेपालीको जनसंख्या १६,९४० ले बढेको छ ।

यो तथ्यांकमा जापानमै जन्मेका नेपालीको बच्चाहरुलाई समेटिएको छ । तर जापानी नागरिकता लिएर नेपाली नागरिकता छोडेकाहरु कति छन् भन्ने उल्लेख नहुने जापानबारे जानकारी राख्नुहुने जिज्ञानकुमार थापाले जानकारी दिनुभयो ।

त्यसैगरी, जापानबाट तेस्रो मुलुक गएका नेपालीहरुको बारेमा अथवा विभिन्न अवस्थाले जापान छोडेर नेपाल फर्केका वा फर्काइएकाहरुको बारेमा भने जुन मसान्तभित्र जापान छोडेको जानकारी स्थानीय निकाएमा बुझाएकाहरुको भने कुन संख्याबाट घटाइएको हुन्छ । यद्यपि भिषा अवधि भएर केही समयका लागि रिइन्ट्री लिएर गएकाहरु भने यस गणनामा स्वतः जोडिएका हुन्छन् ।

जापान सरकारको तथ्यांकअनुसार सन् २०२२ डिसेम्बरसम्म जापानमा नेपालीको संख्या १३९,३९३ रहेको थियो । सार्वजनिक जापान सरकारको तथ्यांकले जापानको स्थानिय निकाय वडा कार्यलय, नगर वा शहरमा कानुनी रुपमा बसोबासरत व्यक्तिहरुको तथ्यांक मात्र समेट्ने गर्दछ ।

जापानमा नेपालीहरुको संख्या वृद्धिक्रम हेर्ने हो भने गत बर्ष अहिलेसम्मकै सर्वाधिक ४२ हजार भन्दा बढिले वृद्धि भएको थियो । कोभिड महामारिका कारण रोकिएकाहरु दुई बर्षपछि एकैपटक आउँदा उक्त वृद्धि देखिएको थियो ।

जापानमा संख्याका आधार नेपालीहरुको उपस्थिति सन् २०१३ मा ३१,५३७, २०१४ मा ४३,३४६, सन् २०१५ मा ५४,७७५, सन् २०१६ मा ६७,४७०, सन् २०१७ मा ८०,०३८, सन् २०१८ मा ८८,९५१ तथा सन् २०१९ मा ९६,८२४ रहेको थियो ।

कोभिड महामारिको सुरुवातसँगै नयाँ भिषाबाहक जापान आउन रोकिएको र विभिन्न कारण जापानबाट बाहिरिने संख्या नियमित रहँदा सन् २०२० मा भने नेपालीको जनसंख्या करिव ११ सयले घटेर ९५,९८२ रहेको थियो । यस्तै सन् २०२१ मा ९७,१०९ र सन् २०२२ मा १३९,३९३ रहेको थियो भने सन् २०२३ मा १५६,३३३ पुगेको छ ।

जापानमा विदेशी नागरिकको कुल जनसंख्या भन् सन् २०२३ मा ३,२२३,८५८ पुगेको छ । यसमा सबैभन्दा धेरै चिनियाँ नागरिक ७८८,४९५ रहेका छन् ।

दोस्रो नम्वरमा भियतनामी ५२०,१५४, दक्षिण कोरियाली ४११,७४८, फिलिपिनी नागरिक ३०९,९४३, ब्राजिलका नागरिक २१०,५६३ र छैटौं नम्वरमा नेपालीहरुको संख्या १५६,३३३ रहेको छ ।

नेपालपछि इण्डोनेसियालीहरुको संख्या १२२,०२८ रहेको छ । जापानमा इण्डियन नागरिकको संख्या भने केवल ४६,२६२ रहेको छ । यो संख्या अघिल्लो बर्षको तुलनामा केवल ३ हजारले वृद्धि हो।

Representative image