राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) बाराका वरिष्ठ जिल्ला उपाध्यक्ष एवम् स्थानीय बाल एकता बोर्डिङ स्कुल कलैया-६ बाराका संस्थापक रुपेशकुमार सर्राफको हत्याको विरोधमा एनप्याब्सनले सोमबार बारा जिल्लाका सम्पूर्ण निजी विद्यालय बन्दको घोषणा गरेको छ ।
एनप्याब्सन बाराले एक प्रेस विज्ञप्ति जारी गर्दै नेशनल प्याब्सनका वरिष्ठ जिल्ला उपाध्यक्ष सर्राफलाई गोली हानी हत्या गर्नेलाई कारबाही गर्न माग समेत गरेको छ । एनप्याब्सनले जिल्लाका सम्पूर्ण निजी विद्यालय सञ्चालक असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै कात्तिक १४ गते मङ्गलबार जिल्लाका सम्पूर्ण निजी विद्यालय बन्द हुने जनाएको हो ।
जिल्ला अध्यक्ष प्रभुलालप्रसाद कुश्वाहाद्वारा जारी विज्ञप्तिमा बाल एकता बोर्डिङ स्कुल कलैया-६ बाराका संस्थापक सर्राफलाई आपराधिक समूहले ज्ञान सरोवर बोर्डिङ र नेरामावि (मदर्शा)स्कुलको बीचमा दिनदहाडै गोली प्रहार गरी हत्या गरेको घटनाप्रति घोर भत्र्सना गर्दै हत्यारालाई कारबाही गर्न माग गरिएको छ ।
विज्ञप्तिमा शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना प्रकट गर्दै मृतकको आत्माको चिरशान्तिको कामना समेत गरिएको छ ।
हत्या गर्नेको खोजी जारी
सोमबार दिउँसो अज्ञात समूहले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सर्राफको हत्या गरेको थियो । मोटरसाइकलमा आएको उक्त समूहले सर्राफको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका छन् ।
टाउको र छातीमा गोली लागेर घाइते भएका सर्राफको वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रिन्सिपल सर्राफको शव हाल अस्पतालमै राखिएको छ ।
विद्यालयबाट कलैया बजारतर्फ आउँदै गर्दा दिउँसो १ बजेतिर कलैया उपमहानगरपालिकाको मदर्सा टोल नजिकै प्रिन्सिपल सर्राफमाथि दुई राउण्ड गोली प्रहार भएको प्रहरीको भनाइ छ ।
प्रिन्सिपल सर्राफमाथि गोली प्रहार गर्नेहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक काफ्लेको जानकारी दिएका छन् ।
प्रतिक्रिया