सात दिनभित्र कार्यालयको सम्पर्क नआउने प्रहरीलाई कारबाही हुने

सात दिनभित्र कार्यालयको सम्पर्क नआउने प्रहरीलाई कारबाही हुने


लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म २२ जनालाई सात दिनभित्र सम्पर्कमा नआए कारवाही गरिने भएको छ ।

कार्यालयमा जानकारी नगराई लामो समयदेखि गैरहाजिर रहेका २२ जना प्रहरीलाई सातदिन भित्रमा हाजिर हुन आउन प्रहरी प्रधान कार्यालय नक्सालले एक सूचना प्रकाशित गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ दिन भनिएको छ । अन्यथा उनीहरूलाई सेवाबाट हटाउने कारबाही हुनेछ ।

नेपाल प्रहरीको सम्पर्कमा नरहेका प्रहरीमा प्रहरी सहायक निरीक्षक जेम्सहाङ सोदेम्बा, प्रहरी हवल्दार डम्मरनारायण चौधरी, लोकबहादुर गौतम, सहायक प्रहरी हवल्दारमा नारायण पोखरेल, राजकुमार थारु, सुनिता चौधरी, भुपाल क्षेत्री रहेका छन् ।

यसैगरी प्रहरी जवानमा टोपेन्द्र शाही, विकेश प्रजापति, प्रदीप रोका, श्यामसुन्दर यादव, रामकृष्ण वली, जनकसिंह साउद, राजन राई, विशाल थापा, विश्वप्रकाश विक, युवराज अर्याल, सुजन गुरुङ, हेमराज महतो, प्रकाश कुँवर, नीरज बढई तथा वसन्त ढकाल रहेको केन्द्रीय प्रहरी प्रवक्ता कडायतले जनाएका छन् ।