सचिनको महाशतक-म भगवान् होइन क्रिकेटर हुँ

सचिनको महाशतक-म भगवान् होइन क्रिकेटर हुँ


एउटा क्रिकेटरले अन्तर्राष्ट्रियस्तरमा शतक बनाउनुलाई ठूलो उपलब्धिको रूपमा हेरिन्छ । शतकीय पारी उसको सफलतासँग जोडिनुको साथै ऊ अन्तर्राष्ट्रियस्तरमा सफल खेलाडीको रूपमा पनि चिनिन्छ । एउटा शतकले उसको खेलजीवनलाई नै अर्कै मोडमा पुर्‍याइदिन्छ । तर्सथ क्रिकेटमा शतकको महत्त्व अविष्मरणीय हुन्छ । यसरी एक शतक बनाउने खेलाडीले एकदिवसीय र टेस्टक्रिकेटमा थुप्रै शतक बनाउने सपना देख्छ । त्यसमा कति सफल हुन्छन्, कति असफल त्यो आफ्नो ठाउँमा भए पनि सयौँ शतकको कल्पना भने कुनै पनि खेलाडीले सपनामा समेत गरेको हुँदैन । तर, विश्व क्रिकेटको इतिहासमा यो कुरा सम्भव भएको छ अर्थात् यथार्थमा परिणत भएको छ । भारतका लिटिल मास्टर सचिन तेन्दुलकरले शतकको महाशतक ‘सयौँ शतक’ बनाएर क्रिकेटमा नौलो कीर्तिमान कायम गरेका छन् । सचिनले यो उपलब्धि हाल सञ्चालन भइरहेको एसिया कपमा बंगलादेशविरुद्ध एक सय १४ रनको शतकीय पारी खेलेर बनाएका हुन् । सचिनको यो शतकीय पारीले क्रिकेटको गौरवमय इतिहासलाई थप उचाइमा पुर्‍याएको छ । जुन नवआगन्तुक खेलाडीका लागि प्रेरणाको स्रोत बन्ने पक्का छ ।
विश्व क्रिकेटको इतिहासमा शतकको महाशतक बनाउन सफल भएका सचिनले यो उपलब्धि लगातार २२ वर्ष क्रिकेट खेलेर बनाएका हुन् । १६ वर्षको उमेरदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका सचिनले सन् १९९० मा पहिलोपटक अन्तर्राष्ट्रिय शतक बनाएका थिए । जुन इंग्ल्यान्डविरुद्ध इंग्ल्यान्डमा नै थियो । यसरी विदेशी भूमिमा शतकको उद्घाटन गरेका सचिनले अहिलेसम्म निरन्तर रूपमा शतक बनाइरहेको छ । ३८ वर्षको उमेरमा पनि १६ वर्षीय युवाझंै आक्रामक खेल्ने सचिनले शतकको महाशतक बनाउन निकै निकै संयमित रूपमा ब्याटिङ गरेका थिए । जब उनले आफ्नो जीवनको सयौँ शतक पूरा गरे त्यसपछि निकै गम्भीर मुद्रामा भगवान्लाई धन्यवाद दिएका थिए । सयौँ शतकको महान् उपलब्धि हासिल गर्ने क्रममा सचिन निकै दबाबमा परेका थिए । भारतीय सञ्चारमाध्यमहरूले भारतको जितभन्दा पनि सचिनको महाशतकलाई बढी प्राथमिकतामा राखेपछि उनका लागि निकै टाउको दुखेको थियो । जसले गर्दा विगत एक वर्षको दौरानमा सचिन शतकको नजिक पुगेर पनि ‘नर्भस नाइन्टी’को सिकार बन्न पुगेका थिए ।
१६ वर्षको कलिलो उमेरमा दूधेओठ लिएर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उत्रिएका सचिनको यो सफलता अहिले क्रिकेट इतिहासमा ‘कोसेढुङ्गा’ सावित भएको छ । अन्तर्राष्ट्रियस्तरको पहिलो खेल खेल्न पाकिस्तान पुगेका सचिनलाई तत्कालीन पाकिस्तानका फास्ट बलरहरूले गिज्याउँदै क्रिकेट मैदानमा नआउन भनेका थिए । सचिनले ती बलरहरूलाई मुखले नभई ब्याटले जवाफ दिँदै सदाका लागि राष्ट्रिय टिममा आफ्नो स्थान सुरक्षित पारेका थिए । सचिनले फास्ट बलरहरूको बिगबिगी रहेको पाकिस्तानका सबै बलरहरूलाई पिटेर आफ्नो उत्कृष्ट ब्याटिङको परिचय दिएका थिए । यसरी पहिलो अन्तर्राष्ट्रिय खेलमै उत्कृष्ट प्रदर्शन गर्न सफल भएका सचिनले एक वर्षपछि १६ वर्षकै उमेरमा टेस्ट क्रिकेटमा शतक बनाएर कीर्तिमानसमेत कायम गरेका थिए ।
शतकको महाशतक सयौँ शतक बनाएपछि सचिनले एक अन्तर्वार्तामा आफू निकै दबाबमा परेको खुलासा गरेका छन् । उनले यसको दोषी भारतीय सञ्चारमाध्यम भएको आरोपसमेत लगाए । सचिनले आफूलाई ९९ शतक बनाउनुभन्दा एउटा शतक बनाउन निकै गाह्रो भएको बताए । सचिनले सञ्चारमाध्यमहरूले आफ्नो ९९ शतकभन्दा पनि सयौँ शतकलाई बढी प्राथमिकतामा राखेकोमा दु:ख प्रकट गरेका थिए । ९९ शतक प्रहार गरेको ठीक एक वर्षपछि सयौँ शतक बनाएका सचिनले यो अवधिमा आफूले निकै टेन्सनमा क्रिकेट खेल्नुपरेको खुलासा गरेका थिए । जुन एक क्रिकेटरको खेलजीवनमा खेलवाड भएको गम्भीर आरोपसमेत लगाए । सधैं शान्त र शालीन देखिने सचिनले सञ्चारमाध्यमहरूको अनावश्यक दबाब र टीका-टिप्पणीले आफ्नो सयौँ शतक पूरा हुन एक वर्षको समय लागेको बताए । सचिनले क्रिकेट मैदानमा उत्रिएपछि उत्कृष्ट ब्याटिङ गर्ने र टिमलाई जिताउने मात्र आफ्नो लक्ष्य हुने भन्दै यो क्रममा शतक बन्यो भने त्यसले सुनमा सुगन्ध थप्ने बताए । तर, सञ्चारमाध्यमहरूले प्रत्येक म्याचमा शतक बनाउनुपर्छ भन्ने टीका-टिप्पणीले गर्दा आफू दबाब परेको बताए ।
सचिनले सोही अन्तर्वार्ताका क्रममा आफूले विश्वकपको ट्रफी २२ वर्षपछि मात्र चुम्न पाएको सत्यतालाई उजागर गर्दै सफलता हतारमा होइन धैर्यताले देख्न पाउने बताए । मैले विश्वकप ट्रफी चुम्ने सपना देखेको थिएँ तर मलाई त्यो अवसर २२ पछि मात्र प्राप्त भयो । के मैले त्यसबेला क्रिकेट खेल्न छोडेको भए, मिहिनेत गर्न बिर्सिएको भए र वास्तविकतालाई आत्मसात् गर्न नसकेको भए कदापि यो स्थानमा पुग्ने थिइनँ । तर, सञ्चारमाध्यमको हतारले गर्दा विगत एक वर्षदेखि आफ्नो खेलजीवन निकै प्रभावित भएको सचिनले गुनासो पोखेका थिए । स्मरणीय छ, विगत एक वर्षभित्र शतक बनाउन नसकेपछि सञ्चारमाध्ममहरूले सचिनविरुद्ध नकारात्मक टिप्पणी गरेका थिए । उनी अब शतक बनाउन सक्तैनन् भन्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिनसमेत दबाब दिएका थिए । ती सञ्चारमाध्यमहरूले अब बूढो गोरुले खेत जोत्न सक्तैन भन्दै सचिनको क्रिकेटको जादु सकिएको घोषणासमेत गरेका थिए । इंग्ल्यान्ड र अस्ट्रेलियाको भ्रमणमा भारतीय टोलीको कमजोर प्रदर्शनपछि सचिनलाई मिडियाहरूले खेद्ने क्रममा तीनवटै अन्तर्राष्ट्रिय खेल टेस्ट, एकदिवसीय र ट्वान्टीबाट हटाउनुपर्नेजस्ता विश्लेषणसमेत गरेका थिए ।
तर, सचिन सञ्चारमाध्यमको यो आक्रमणबाट कहिल्यै विचलित भएनन् । उनले धैर्यताका साथ क्रिकेट खेलिरहे । आफ्नो लक्ष्य के हो त्यसलाई राम्रोसँग बुझेका सचिनले एसिया कपमा प्रहार गरेको शतकले ती मिडियाहरूको मुखमा बुझो लगाउन सफल भएका छन् । हिजोसम्म मानसिक रूपमा गह्रँगो बनेका सचिन अहिले कपासझैं हलुको बन्न पुगेका छन् । अर्थात् उनी यो दबाबबाट मुक्त भएका छन् । आफ्नो कलात्मक ब्याटिङ शैलीलाई अझ कलात्मक बनाउनेपट्ट िलागेका छन् । आफूलाई क्रिकेटको भगवान् भनेर पूजा गर्नेप्रति आभार प्रकट गर्दै आफू भगवान् नभई क्रिकेटर भन्न अनुरोध गरेका छन् । उनले आफू यो स्थानमा पुग्न आफ्ना कराडौं शुभचिन्तकको आशीर्वाद रहेकोले भविष्यमा पनि यस्तै माया, ममता र स्नेह पाउने कुरामा विश्वास प्रकट गरेका थिए ।
निकै दबाबका बाबजुद पनि सचिनले आखिर अन्तर्राष्ट्रिय क्रिकेटमा सयौँ शतक बनाउन सफल भएका छन् । यो सफलतालाई अहिले सचिनको मात्र सफलता नभई क्रिकेटसँग जोडिएका सबै खेलाडी र खेलप्रेमीको सफलता मानिएको छ । विश्व क्रिकेट काउन्सिल ?आईसीसी)ले यो सफलतालाई ‘दर्ुलभ’ को संज्ञा दिएको छ । यसले विश्व क्रिकेटको इतिहासमा अर्को सुनौलो पाना थपिदिएको बताउँदै यो महान् उपलब्धि हासिल गर्ने सचिन वास्तवमै धन्यावादको पात्र भएको विश्लेषण गरेको छ । क्रिकेटमा थुप्रै कीर्तिमान कायम भएका छन्, तोडिएका छन्, तर यो कीर्तिमान अद्भूत भएको टिप्पणी क्रिकेटका विशेषज्ञहरूले गरेका छन् । जुन क्रिकेटमा कोसेढुङ्गाको रूपमा रहनसक्ने दाबी पनि उनीहरूको छ ।

दक्षिण एसियाली भारोत्तोलन नेपालगन्जमा
नेपाल भारोत्तोलन सङ्घ तथा बाँके जिल्ला भारोत्तोलन सङ्घको संयुक्त आयोजनामा प्रथम दक्षिण एसियाली पुरुष तथा महिला भारोत्तोलन प्रतियोगिता बाँकेको नेपालगन्जमा हुने भएको छ । केन्द्रीय अध्यक्ष रतन टण्डनले प्रतियोगिता चैत १० र ११ गते हुने पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । कुल १५ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगितामा पुरुषतर्फ आठ तथा महिलामा सात स्पर्धा समावेश गरिएको जानकारी गराएका थिए ।
प्रतियोगितामा पुरुषतर्फ ५६ केजी, ६२ केजी, ६९ केजी, ७७ केजी, ८५ केजी, ९४ केजी, एक सय पाँच केजी र एक सय पाँच केजीमाथि तौल समूहमा खेल हुनेछ । त्यस्तै महिलातर्फ ४८ केजी, ५३ केजी, ५८ केजी, ६३ केजी, ६९ केजी, ७५ केजी र ७५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुने सो अवसरमा जानकारी गराइएको थियो ।
प्रतियोगितामा नेपाललगायत भारत, बंगलादेश, श्रीलङ्का, पाकिस्तान तथा अफ्गानिस्तानका ३७ पुरुष र २३ महिला गरी कुल ६० खेलाडीको सहभागिता रहनेछ । पाकिस्तान र अफगानिस्तानबाट भने महिला खेलाडीको सहभागिता रहने छैन । यो प्रतियोगितामा पाकिस्तानले ६ तथा अफगानिस्तानले पाँच पुरुष खेलाडी सहभागी रहनेछ । त्यस्तै नेपालबाट आठ पुरुष र त्यत्ति नै सङ्ख्यामा महिला खेलाडीले भाग लिनेछन् । यसैगरी, भारत, बंगलादेश तथा श्रीलंकाबाट समान ६-६ पुरुष र ५-५ महिला खेलाडी सहभागी हुने थाहा भएको छ ।
अन्य दुई दक्षिण एसियाली राष्ट्र माल्दिभ्स र भुटानको सहभागिताका सम्बन्धमा केन्द्रीय महासचिव पार्थ सारथी सेन गुप्ताले भने, ‘माल्दिभ्समा भारोत्तोलन सङ्घ नै नभएकोले उसको सहभागिता रहने छैन । भुटानका हकमा एक-दुईजना खेलाडी सहभागी हुने सम्भावना छ, तर कन्फर्मेसन आइसकेको छैन ।’ एसियाली प्राविधिक समितिका महासचिवसमेत रहेका गुप्ताले डोपिङका लागि वाडाबाट दुई जना अधिकारी नेपाल आउने बताएका छन् ।
अध्यक्ष टन्डनले नेपालगन्जमा भएको भौतिक पूर्वाधार तथा चौथो राष्ट्रिय खेलकुदको अनुभव पनि आफूसँग रहेकाले प्रतियोगितालाई भव्य एवम् सफलतापूर्वक सम्पन्न गर्न मद्दत पुग्ने धारणा व्यक्त गरका थिए ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३० लाख रुपैयाँ खर्च हुनेछ । प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालन गर्न खेल सुरु हुन एक दिन अगाडि नै उद्घाटन कार्यक्रम राखिएको अध्यक्ष टण्डनले बताए । उद्घाटन स्थानीय रंगशालामा तथा खेल कभर्डहल हुनेछ । उद्घाटनकै दिन दक्षिण एसियाली भारोत्तोलन सङ्घको नयाँ कार्यसमितिसमेत चयन गरिने कार्यक्रम रहेको छ ।
यो प्रतियोगितामा नेपाली सेनाका खेलाडीहरूले सहभागिता दिन पाउने छैनन् । छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नेपाली सेनाले सहभागिता नजाएको कारणले सेनाका खेलाडीहरूलाई आयोजकले सहभागिता नगराउने निर्णय गरेको हो । आयोजकले सेनामा उत्कृष्ट भारोत्तोलन खेलाडी भए पनि छैटौँमा सेनाको सहभागिता नहुनु दुर्भाग्य भएको बताएको छ । उक्त अवसरमा भारोत्तोलन सङ्घका सचिव तथा एवम् प्रमुख प्रशिक्षक तिलकबहादुर राउतले सेनाका खेलाडी छनोट प्रक्रियामा सहभागिता नभएकाले छनोट नभएको बताएका थिए ।
राउतले दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनसिपको छनोटको आधार छैटौँ राष्ट्रिय खेलकुद भएकाले त्यसमा सेनाले सहभागिता नजनाएका कारणले सेनाका खेलाडीहरूलाई सहभागिता नगराइएको प्रस्ट पारेका थिए । साथै राउतले सेनाका खेलाडीको अनुपस्थितिले पदक-तालिकामा असर पर्ने बताउँदै यो प्रतियोगितामा नेपालका महिला तथा पुरुष खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने बताए । राउतले यो प्रतियोगिताका दुवै समूहमा नेपालले पदक जित्ने बताउँदै सेनाको उपस्थिति भएको भए अझ राम्रो हुने सङ्केत दिएका थिए । स्मरणीय छ, छैटौँमा राष्ट्रिय खेलकुद परिषद्ले पीएलएलार्इर्र्विभागीय टोलीको मान्यता दिएपछि सेनाले प्रतियोगिता नखेल्नेे निर्णय गरेको थियो ।

राष्ट्रपति रनिङ सिल्ड चैत अन्तिममा
तेस्रो राष्ट्रपति रनिङ सिल्ड काठमाडौं जिल्लाव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चैत अन्तिम साता हुने भएको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिले आयोजना गर्ने उक्त प्रतियोगिता चैत २५ देखि २७ गतेसम्म हुने आयोजक समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले हालै पत्रकार सम्मेलनमा जनाएका छन् । प्रतियोगितामा छात्र/छात्राको भलिबल र एथलेटिक्स खेल समावेश छन् । एथलेटिक्सअन्तर्गत छात्र र छात्रा दुवैमा एक सय, दुई सय, चार सय र एक हजार पाँच सय मिटर दौड, चार गुणा सय मिटर रिले, हाइजम्प, लङजम्प, सटपुट तथा ज्याभलिनतर्फ प्रतिस्पर्धा हुनेछ । लामो दूरीतर्फ छात्रको पाँच हजार मिटर दौड र छात्राको तीन हजार मिटर दौड पनि समावेश गरिएको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक समितिका अध्यक्ष हिक्मत थपलियाको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिताका खेलहरू सानो गौचरणमा हुनेछन् ।

प्रधानमन्त्रीको दबाबले होइन : राखेप
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ठाडो आदेश र दबाबमा छोरी मानुषी भट्टराईलाई राखेपले नेपाल क्रिकेट सङ्घको सदस्यमा मनोनयन गरेको सन्दर्भमा राखेपले हालै प्रेस विज्ञप्ति निकाल्दै त्यसको खण्डन गरेको छ । सो प्रेस विज्ञप्तिमा राखेपले नेपाल क्रिकेट सङ्घ ?क्यान)मा गरेको मनोनयनको विषयलाई लिएर प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नाम केही सञ्चारमाध्यमले अनर्गल रूपमा प्रचारमा ल्याउन खोजेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै राखेपले क्रिकेटमा नयाँ सोचका प्रभावशाली युवामध्येबाट मानुषी भट्टराईको मनोनयन भएको बताएको छ । युवा नेत्री भट्टराईलाई क्यानले सदस्य बनाउनुको अर्थ यस विधामा जुझारू युवा महिला नेत्रीको प्रतिनिधित्व गराउने उद्देश्य भएको बताएको छ । राखेपको ऐनले आफूमातहतका हरेक खेल सङ्घमा दुईजना पदेन सदस्य मनोनयन गर्ने अधिकार प्रत्यायोजन गरेबमोजिम भट्टराई र दीपक साउदलाई सदस्यमा मनोनयन गरेको पनि प्रेस विज्ञप्तिमा जानकारी गराएको छ । राखेपले कुनै पनि निर्णय कसैको आदेश वा दबाबमा नगरेको पनि स्पष्ट पारेको छ ।

मिसन सागको तयारीमा राखेप
राष्ट्रिय खेलकुद परिषद्को ८९औँ बोर्ड बैठकले हालै सम्पन्न छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सामान्य कमी-कमजोरी भएको स्वीकार गर्दै प्रतियोगिता भव्य र शानदार रूपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ । उक्त बैठकले खाना, बसोबास, उद्घाटन समारोह र व्यवस्थापनमा कमी-कमजोरी भएको स्वीकार गर्दै तेक्वान्दो युनियनलाई ३२औँ खेलको रूपमा समावेश गरिएकोमा त्यसलाई अनुमोदन गरेको छ ।
त्यस्तै परिषद्का कोषाध्यक्ष इन्द्रबहादुर थिङको संयोजकत्वमा परिषद्का सदस्य खड्गबहादुर रानाभाट, देवाकुमार लामा सदस्य रहनेगरी हिसाब फस्र्योट समिति गठन गरेको छ । समितिमा युवा तथा खेलकुद मन्त्रालय र आन्तरिक लेखा परीक्षणका प्रतिनिधि अनिवार्य सदस्य रहने व्यवस्था गरिएको छ । यसैगरी खाना तथा बसोबास छानबिन गर्न पनि कोषाध्यक्ष इन्द्रबहादुर थिङको संयोजकत्वमा मन्त्रालय तथा परिषद्का प्रतिनिधि सदस्य रहनेगरी समिति गठन गरेको जनाएको छ ।
भारतमा हुने आसन्न १२औँ दक्षिण एसियाली खेलकुदलाई लक्षित गरी परिषद्ले सञ्चालन गर्ने मिसन साग २०१३ अन्तर्गत विभिन्न तीन चरणको विशेष प्रशिक्षणमा छैटौँ राष्ट्रिय खेलकुदमा प्रथम र द्वितीय स्थान हासिल गर्ने खेलाडीलाई राख्ने निर्णय गरेको छ । प्रशिक्षण वैशाख १ गतेदेखि प्रारम्भ गर्नेसमेत जनाएको छ । त्यस्तै छैटौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडी तथा टिमलाई क्रमश: १० हजार र पाँच हजार नगद पुरस्कार प्रदान गर्न सम्बन्धित निकायमा बजेट निकासाका लागि पहल गर्ने निर्णय गरेको छ ।

दोस्रो हिमालयन बैंक गल्फ सम्पन्न
आर्मी अफिसर्स गल्फ कोर्समा भएको थ्री बाई फोर हेन्डी क्याप स्टेबल फोर फरम्याटमको पुरुषतर्फको उपाधि मेजर जनरल दमनबहादुर घलेले जितेका छन् । दुई दिनसम्म चलेको यस प्रतियोगितामा महिलातर्फ केसाङ लामाले सोही उपाधि हात पारेकी थिइन् ।
यस्तै लेफि्टनेन्ट कर्नल वसन्त गुरुङ पहिलो रनर अप भएका थिए भने बेस्ट ग्रसको उपाधि भने मेजर निश्चयजँग रायमाझीले जितेका थिए । त्यस्तै बिग्रेड जनेरल बिबी थापा सिनियरतर्फको उपाधि जितेका थिए । मेजर जनेरल बी लिम्बूले मोस्ट ब्राइडको उपाधि हात पार्दा गौतम सायमीले क्लोजेस्ट टु दि पिन गर्न सफल भएका थिए । यसैगरी लङगेस्ट ड्राइभतर्फ सुबोध थापाले जित्न सफल भए भने वाङचेन दनडुपले गेस्ट विनरको उपाधि हात पारेका थिए । विजेता खेलाडीलाई हिमालयन बैंकका अध्यक्ष मनोज श्रेष्ठ र र्सर्ीइओ अशोक रानालगायतले पुरस्कार र मेडलले सम्मान गर्नुभएको थियो ।