एनआरएनए कार्यालयमा समाचार संकलनका क्रममा पत्रकार ओम शर्मामाथि सांघातिक आक्रमण

एनआरएनए कार्यालयमा समाचार संकलनका क्रममा पत्रकार ओम शर्मामाथि सांघातिक आक्रमण


नेपाल पत्रकार महासंघ बेल्जियम शाखा अध्यक्ष एवम् चारदिशा अनलाइन पत्रिकाका सम्पादक ओम शर्मामाथि बालुवाटारस्थित एनआरएनएको कार्यालयमा सांघातिक आक्रमण भएको छ । एनआरएनएद्वारा आयोजित पत्रकार सम्मेलनमा समाचार संकलन गर्दैगर्दा पत्रकार शर्मामाथि आक्रमण भएको हो ।

आफूमाथि युवा संघका कार्यकर्ताले सांघातिक आक्रमण गरेको पत्रकार शर्माले आरोप लगाएका छन् । आक्रमणबाट उनको अनुहारमा चोट पुगेको छ ।

कार्यक्रमको तस्बिर खिच्ने क्रममा आफूमाथि एक्कासी नेकपा एमालेसमर्थित युवासंघका कार्यकर्ताले आक्रमण गरेको शर्माको भनाइ छ ।

एमाले नेता महेश बस्नेतसमेतको सहभागितामा एनआरएनएका अध्यक्ष डा. बद्री केसीसहित एनआरएन नवनिर्वाचित टिमको स्वागत कार्यक्रममा कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला समाचार संकलन गर्न बेल्जियममा रही पत्रकारितामा क्रियाशील रहँदै आएका शर्मा सरिक भएका थिए । सो क्रममा कार्यक्रमको तस्बिर खिच्दैगर्दा मंगलबार दिउँसो दुई बजेतिर सो घटना भएको बताइएको छ ।

आफूमाथिको आक्रमण सिंगो पत्रकार जगतमाथिकै आक्रमण भएकाले आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारवाही गर्न नेपाल सरकारसमक्ष शर्माले जोडदार माग गरेका छन् । नेपाल पत्रकार महासंघलगायतका संघ संस्था र व्यक्तिविशेषका तर्फबाट पनि शर्मामाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरिएको छ ।