माफियाको कब्जामा वीर अस्पताल ?!

माफियाको कब्जामा वीर अस्पताल ?!


  • सुरेन्द्र सुवेदी, काठमाडौं

वीर अस्पतालको खरिद एकाई मेडिकल माफियाको कब्जामा परेको आरोप लागेको छ । मेडिकल माफियाको ऐजेन्ट नै खरिद एकाईको वरिष्ठ सदस्यमा नियुक्त भएपछि यस्तो आरोप लागेको हो ।

देशकै पहिलो र ठूलो अस्पताल हाल न्याम्स वीर अस्पतालको खरिद एकाई मेडिकल माफियाको योजना र दबाबअनुसार बनेको वीरसम्बद्ध एक कर्मचारीले बताए । अस्पतालबाट फाइल उठेर गठन भएको खरिद एकाईमा नियुक्त एक सदस्य नवराज श्रेष्ठ विगतदेखि नै विवादित थिए । उनलाई अहिले खरिद इकाइको वरिष्ठ सदस्यमा नियुक्ति दिइएको छ ।

श्रेष्ठले ग्यास्ट्रो मेडिसिन ओपिडिमा रहँदा बिरामीसँंग पैसा लिइ इन्डोस्कोपी, क्लोनस्कोपी गराइ सो रकम अस्पताल खातामा जम्मा नगरेर लाखौँ अनियमितता गरेका हुन् । उनले अन्य बिरामीलाई ‘वीर अस्पतालमा समय मिल्दैन’ भन्दै निजी अस्पतालहरू र आरएस भण्डारीको ह्याम्स अस्पतालमा पठाएर पनि कमिसन लिने गरेको कर्मचारीहरूको भनाइ छ ।

श्रेष्ठको यस्तो धन्दा बुझेर तत्कालीन मेडिकल विभाग प्रमुख डा. विधान पौडेल र डा. अजित खनालले उनलाई कारवाही गर्न अस्पताल प्रशासनलाई भनेका थिए, तर श्रेष्ठलाई कारवाही गर्न निजी अस्पताल सञ्चालकले रोकेका थिए । त्यसपछि निजी नर्सिङ कलेज सञ्चालकको योजनामा अस्पतालको समन्वय शाखाप्रमुख बनेका श्रेष्ठले निजी नर्सिङ कलेजका विद्यार्थीलाई वीर अस्पतालमा प्रयोगात्मक अभ्यास गराउन विभिन्न नर्सिङ कलेजलाई मापदण्डविपरीत वर्षौंसम्म सहमति दिएका र अभ्यास गराउन सहमति दिइ त्यसबापत अस्पतालमा तिर्नुपर्ने शुल्क अस्पतालमा दाखिला नगरी आफैले लिने गरेको आरोप छ ।

अन्य विधाका विद्यार्थीलाई पनि अभ्यास गर्न दिँदा अनियमितता गरेको, सोही शाखाअन्तर्गतको सामाजिक सेवामा पैसा लिँदै १६ जना सहजकर्ता कर्मचारी भर्ना गरेको, वीर अस्पतालमा स्वास्थ्य विमा कुल कमाइको १० प्रतिशत कमिसन लिन खोजेको तर कर्मचारीहरूले विरोध गरका थिए । पछि रकम उनले नपाएपछि बिमा कार्यक्रम नै असफल बनाउन लागेकोले हालका निर्देशक पौडेलले श्रेष्ठलाई बिमा कार्यक्रमबाट हटाएका थिए ।

उनी कोभिड महामारीमा कोभिड भ्याक्सिन खोप लगाउने कार्यक्रममा पनि सहभागी थिए । श्रेष्ठले सो समय पनि भारतीय नागरिक जो चीनमा अध्ययन र ब्यापार गर्ने हुन्, तिनीहरूलाई सरकारी मापदण्डविपरीत काठमाडौंका होटल-होटलमा गएर विदेशी नागरिकलाई प्रतिब्यक्ति ३५ देखि ४० हजार रुपैयाँ लिएर भेरोसिल भ्याक्सिन लगाउने व्यवस्था मिलाएका थिए ।

अझ अचम्म त के भने, श्रेष्ठसँग सम्पर्क बढेपछि कोरोनाको समयमा भारतीयहरू हवाइजहाज चार्टर्ड गरेर हजारौँको संख्यामा नेपाल आएर उनै श्रेष्ठसँग खोप लगाएर चीन जान्थे । यसरी करोडौँ कमाएका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पति शुद्धीकरण र स्वास्थ्य मन्त्रालयमा उजुरी परेको छ । सतर्कता र अख्तियारमा छानवीन भइरहेको खरिद एकाईका एक सदस्य बताउँछन् । सामाजिक एकाइ तथा समन्वय शाखाका कर्मचारी भन्छन्- उनले हामीलाई घरको नोकरको जस्तो व्यवहार गर्छन्, सामन्ती पाराका छन् !

उनी विमा शाखाबाट हटेपछि पनि स्वास्थ्य मन्त्रालयबाट बिमासम्बन्धी कार्यक्रममा कोरियासमेत गएर आइसकेका छन् । ‘उनलाई केही मेडिकल, सर्जिकल, प्याथोलोजी र उपकरण सप्लायर्स माफियाको सहयोग छ र, मेडिकल माफियाकै योजनामा अस्पतालको खरिद एकाइमा वरिष्ठ सदस्यमा लगिएको हो’, मेडिकल स्टोर र खरिद एकाई सदस्य नै एकै स्वरमा भन्छन्- ‘माफियाको हातमा गयो, वीर अस्पताल अब अझै डुब्छ !’