✍ राजन घिमिरे
टेलिभिजन शोमा अतिथि बोलाउँदा टिभी कार्यक्रम होस्टको कर्तब्य या भूमिका कस्तो हुनुपर्छ ? अतिथिको यथोचित सम्मान गर्ने कि अपमान ? उसको खिल्ली उडाएर टेलिभिजन शोकै बेइज्जत गर्ने कि कार्यक्रमको गरिमा बढाउने ? कार्यक्रममा निमन्त्रणा गरिएका अतिथिहरूलाई मजाक तुल्याएर ‘गतिलै काम गरेँ’ भनेर सोच्नु र आत्मरतिमा रमाउनु त्यो कार्यक्रम होस्टको भ्रम मात्र नभइ ठूलै भूल हो ।
यस्ता गलत सोच र प्रस्तुति बोकेर हरेक हप्ता टेलिभिजनमा अनुहार देखाउँदै अतिथिहरूको अपमान गर्ने लत लागेका एक कार्यक्रम सञ्चालक हुन् बिक्की अग्रवाल । ‘आम्मा कसम यहाँनेर दुख्छ’ नामक उनको शोको नामले नै ‘आमा’ जस्तो पवित्र शब्दको अपमान गरेको छ भने कसम भनेको त केही पनि होइन, सामान्य कुरा हो जस्तो सन्देश दिन खोजेको छ । कमेडी च्याम्पियनबाट फ्याँकिएपछि रन्थनिँदै ताल न बेतालको शो चलाउन पुगेका उनको नेपाली कलाकारिता विधामा केही योगदान र सक्रियता नै छैन भन्दा फरक नपर्ला ! तर कार्यक्रममा आएका अतिथिहरूको अपमान उनी यसरी गर्छन् कि मानौँ त्यो अतिथि भन्दा आफू ठूलै सेलिब्रेटी हुँ ! नेपाली कलाकारितामा आफ्नो ठूलै योगदान छ ! लाग्छ- बिक्कीको कार्यक्रम र उनको सोच वा उद्देश्य नै कलाकारहरूको अपमान गर्ने र खिल्ली उडाउने मात्र हो !
आफू सर्वज्ञाता जस्तो ढोँग गर्दै सर्जकहरूको अपमान गर्ने यिनको नियतमाथि प्रश्न किन नउठाउने ? पेल्नु, हेप्नु र खिल्ली उडाउनुको पनि सिमा होला नि ! तर, बिक्कीले त्यो सिमा नाघ्ने गरेको पाइएको छ । कार्यक्रममा जाँदा अतिथिहरूले केही आफ्ना सकारात्मक कुरा राख्न पाइयोस्, दर्शकहरूसँग भलाकुसारी गर्न पाइयोस् र अनुभव साट्न पाइयोस् भन्ने सोचेका हुन्छन् । तर, उक्त कार्यक्रममा जाँदा अतिथिले ठिक उल्टो परिणाम भोग्ने गरेका छन् ।
सञ्चालकको दिमागमा नै कसरी अतिथिलाई निचो देखाएर उडाउने, कुन कोणबाट अपमानित तुल्याउने र खित्का छोड्ने भन्ने तल्लो स्तरको सोच र नियत भएपछि त्यो कार्यक्रमबाट सकारात्मक अनि राम्रो कुराको आशा राख्नु भनेको भैंसीको अघिल्तिर विन बजाउनु भनेजस्तै हो । स्क्रिनमा कसैको तस्बिर देखाएर मनग्गे गाली गर्न लगाउने र धज्जी उडाउने यो कार्यक्रमको नेगेटिभ शैलीबाट दर्शकहरूले के सन्देश पाउने ? के सिक्ने ? एउटा उदाहरण लिऔँ- केही हप्ता अगाडिको एपिसोडमा सन्दिप लामिछाने र पल शाहको तस्बिर देखाएर अदालतमा विचाराधीन विषयमा ‘बलात्कारी’ भनेर अतिथिले खुल्ला आरोप लगाउँदा सञ्चालक दङ्ग परेर बस्नु घोर आपत्तिजनक विषय हो । अदालतको कुरालाई यसरी प्रभाव पार्न मिल्छ ? कसैलाई पनि पुष्टि नभइ बिनाआधार बलात्कारी भन्न पाइन्छ ? किन सेन्सर गरिएन यो दृश्य ?
बिक्कीको टिभि शोमा कलाकार वा अतिथिहरूको धज्जी उडाउने, उनीहरूका बारे गलत सन्देश मात्र प्रवाह गर्ने र आजका पुस्तालाई ‘कलाकार भनेका गÞलत सोच-शैली अनि नराम्रो विगत भएका विवादित पात्र हुन्’ भनेर स्थापित गर्न खोजेको महसूस हुन्छ । यो दुर्नियतबाहेक केही होइन ।
सोच र उद्देश्य नै नकारात्मक भएकोले कार्यक्रम सञ्चालक अग्रवाल कार्यक्रममा स्क्रिनमा देखाइने तस्बिरको बारेमा सकारात्मक भनाइ राख्ने अतिथि नै बोलाउँदैनन् । अरूले भनेको र सुनेको भरमा कलाकार तथा अन्य अतिथिहरूलाई हास्यपात्र तुल्याउने बिक्कीको अशोभनिय प्रस्तुतिमा अतिथिको रूपमा गएर व्यक्ति-व्यक्तित्वहरू जानाजान आफैं हासोको पात्र बनिरहेका छन् ? यो पनि उदेकलाग्दो छ ।
प्रतिक्रिया