पत्रकारितामा ‘इमोशनल इन्फर्मेसन’ले निम्त्याउन सक्ने खतरा !

पत्रकारितामा ‘इमोशनल इन्फर्मेसन’ले निम्त्याउन सक्ने खतरा !


डायस्पोराको नेपाली पत्रकारितामा समाचारका आधारभूत मान्यताहरूबारे बहुआयामिक चिरफार !
समाचारको सत्यता समाचारदाताको खल्तीबाट नभएर तथ्यहरूको आधारभूमिको वरिपरिबाट खोजिनुपर्छ । सामान्यतः तर्कहरू समाचारको लागि नभएर अनुसन्धानकर्ताका लागि सहायक तत्व हुन सक्छन् । फिचर वा आलेख अथवा विश्लेषण लेखको सन्दर्भमा तर्कहरू सर्वथा ‘मत’ हुन सक्छन् तर ‘निष्कर्ष’ हुन सक्दैनन् ।
✍ डिल्ली अम्माई

व्यक्तिगत ‘इमोशन’ सबैको हुन्छ तर त्यसलाई व्यक्त गर्ने उपयुक्त तरिकाले मात्र मानिसको अन्तर्मनमा भएको उर्जाले आफू, आफ्नो परिवार र समाजलाई उज्यालो दिन्छ । उसको व्यक्तिगत भावना समाचारमा व्यक्त हुनु, सूचनाका तथ्यहरू दबाएर वा सम्बन्धित अर्को पक्षका तथ्यगत जानकारीहरूलाई लुकाएर सूचना सम्प्रेषण गरिनु पत्रकारको लागि सोभनीय कुरा हुँदैहैन ।

अलिक अगाडिको कुरा…, नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका एक पत्रकार काठमाडौंको एनआरएनए मुख्यालयमा कुटिए । त्यस घटनाबारे कतिपय पत्रिकाहरूमा समाचार सम्प्रेषण गर्दा फर्जी नाम राखेर वा हिंसात्मक अवस्थाको मुख्य अवस्थालाई उल्लेख नगरी समाचार निकालिएको देखियो । त्यहाँ एक पत्रकार पिटिए, एकोहोरो रगत बग्यो र नेपाल पत्रकार महासंघले वक्तब्य निकालेर खेद प्रकट गऱ्यो । कानुनी उपचारको लागि पीडितले कानुनी निकायमा निवेदन नै दिए । तर समाचारमा ‘फाइभ डब्लु’का आधारभूत तथ्यलाई पस्किने लेठा नै गरिएन । त्यो समाचार पढ्दा स्वयम् पङ्क्तिकारलाई समेत लाज लागेर आयो ।

यी यावत घटनालाई त्यो समाचारमा जोडेर निर्णय गर्ने अधिकार समुदायलाई समर्पित गर्दै समाचारको प्लट निर्माण गर्नुपर्ने हुन्छ । भन्नाले दुवैतर्फ सार्वजनिक भएका तथ्यहरू जस्ताको तस्तै राखी समाचारको प्लट निर्माण गर्दा नै उक्त समाचार भरपर्दो र विश्वासिलो बन्दछ । पत्रपत्रिकामा ‘फाइभ डब्लु’लाई बेवास्ता गरिएको उक्त समाचार पढेपछि पङ्क्तिकारलाई रुन मन लाग्यो ! मैले सबैभन्दा अगाडि आफ्नो घाइते सहकर्मीको क्षतविक्षत अनुहार सम्झेँ । अनि, सूचना सन्तुलनको दायित्व, भातृत्व, हिंशाप्रतिको ती पत्रकारको झुकाव र पीडक पक्षका नेताको नाङ्गो दलाली गरेको अर्को तस्बिर सम्मुख आयो ।

समाचार खोजी पनि हो । यसमा किन, कसरी, कहाँ, कहिले, कोद्वारा भन्ने प्रश्नको उत्तर हुनु आवश्यक हुन्छ । सकेसम्म त्यसका स्रोत प्रमाणहरू पनि राखिनुपर्ने हुन्छ । समाचारका यी मुलभूत सिमा र आवश्यक तत्वहरूको अभावले मिसन प्रोपगान्डा बन्दछ । समाचारमा सम्वाददाताका तर्कहरू हुँदैनन् । कसैले तर्क वा आफ्नो मत जाहेर गरेर समाचार बनाउँछ भने त्यो कथा समाचारका मुलभूत मान्यता भन्दा बाहिर बहकिन्छ । सत्यता समाचारदाताको खल्तीबाट नभएर तथ्यहरूको आधारभूमिको वरिपरिबाटै खोजिनुपर्छ । सामान्यत तर्कहरू समाचारको लागि नभएर अनुसन्धानकर्ताका लागि सहायक तत्व हुन सक्छन् । फिचर वा आलेख अथवा विश्लेषण लेखको सन्दर्भमा तर्कहरू सर्वथा मत हुन सक्छन् तर निष्कर्ष हुन सक्दैनन् ।

पत्रकार ओम शर्माको सन्दर्भमा जस्तै भुकम्पपीडितको राहत वितरणको सन्दर्भमा समेत केही पत्रकार हौँ भन्नेहरूले प्रमाण दबाएर आफ्ना तर्कहरू राख्दै बिनाखोज एकतर्फी रूपमा समाचार पस्कने गरेका छन् । समाचारलाई पत्रकार आफै न्यायाधीश बनेर घरबाट निर्णयहरू सुनाउँछन् । पीडितले फिल्डबाट भोगाइ बोलिरहेको हुन्छ तर पत्रकार घरको सोफामा बसेर उसको भोगाइलाई ठेस पुग्नेगरी समाचार बनाइदिन्छ । यस्ता समाचारहरू पुराना र लोकप्रिय भनिएका समाचार अनलाइनमा देखिनु दुर्भाग्य नै भन्नुपर्छ ।

उदाहरणको लागि यस्तो समस्या खुद पङ्क्तिकारलाई पऱ्यो भने भन्नुको मतलव कहीँ कतै मेरो साथी भनिएकालाई मन नपरेको अप्रत्यासित स्थानमा जानुपर्ने भयो भने मेरो प्रिय साथीले मलाई हेर्ने अवस्था फेरिने भयो । त्यो अवस्थामा पङ्क्तिकारले पिटाइ खायो वा उसको मृत्यु भयो भने साथीको मप्रति हुने माया, करुणा वा मानवताको न्युनतम मानसिकता मेटिने भयो । अर्थात् उसले लेख्दा वा समाचार सम्प्रेषण गर्दा कस्तो सूचना बन्ला !

हरेक घटना वा दुर्घटना आकस्मिकतामा प्रकट हुन्छन् । प्रायःजसो आकस्मिक घटना वा दुर्घटना ठ्याक्कै पुर्व नियोजित हुँदैनन् । पत्रकार पनि घटना घटेपछि तुरुन्त सूचना लिन पुगेका हुँदैनन् । पत्रकार आफ्ना परम मित्र, नातेदार वा आफ्नै परिवारले मन नपराएको ठाउँमा पुगेर रिपोर्टिङ गर्नुपर्ने हुन्छ । द्वन्द्व, युद्ध वा आफ्नाले कसुर गरी कानुन उल्लंघन गरेका अवस्थाको पनि समाचार बनाउनुपर्ने हुन सक्छ । यही कारणले हमास र इजरायलको द्वन्द्वमा एक महिनाभित्र झण्डै तीन दर्जन पत्रकारहरूले रिपोर्टिङकै क्रममा ज्यान गुमाए । आक्रमणको घटना कुनै पनि बेला जो-कोहीमाथि पनि घट्न सक्छ । पत्रकारलाई सही सूचना ल्याउन खतरनाक स्थानमा समेत जानुपर्ने हुन सक्छ, कतिपय अवस्थाहरू बाध्यकारी रूपमा उपस्थित हुन्छन् । अर्थात् स्वयमको निर्णयमा निजी हितलाई प्राथमिकता दिएर पत्रकारहरू सूचना लिन हिँड्दैनन् ।

फलतः मित्र, आस्था राखेकै जमातमा समेत पत्रकारहरूका धेरै दुश्मन हुन सक्छन् । विकसित देशमा पत्रकारलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ तर नेपालजस्तो अविकसित देशमा मान्छेको मानसिक अवस्था पनि सेवाको स्तरलाई बुझ्ने हदसम्म विकसित भइसकेको हुँदैन । त्यसैले पत्रकारले हाम्रो जस्तो देशमा बढी नै दुःख झेल्नुपर्ने अवस्था आइरहन्छ ।

पत्रकारितामा कसले पत्रकार वा सूचना सेवकलाई व्यक्तिगत रूपले लाभ दियो भन्ने कुराले खासै अर्थ राख्नु हुँदैन÷राख्दैन । त्यहाँ तथ्यगत समाचार र सूचना सन्तुलनको कर्तब्य हाबी हुन्छ÷हुनुपर्छ । भन्नाको अर्थ, ब्यक्तिको भावना वा आस्थालाई टेकेर एउटा आलेख तयार होला, तर सूचनामुलक समाचार बन्न सक्दैन । समाचार बन्नको लागि तथ्य, प्रमाण र तथ्यका दोहोरा विपरीत आयामहरूको सन्तुलित संकलन तथा खोजको आवश्यक हुन्छ ।

त्यसैले एक दक्ष पत्रकारले इमोसनल आवेगहरूलाई समाचारमा हाबी हुन कदापि दिनु हुन्न । घटनामा भएका सबै तथ्यलाई आधार बनाएर समाचार बनाउँदा सूचना भरपर्दो र विश्वाशिलो बन्दछ । समाज वा पार्टीको ठुलो एक हिस्साले स्याबासी देला भनेर आफ्नै बिश्वासको छर्रा उडाउने काम कुनै पत्रकारले गर्दछ भने त्यो अवस्था ऊ स्वयमको लागि घातक हुनेछ । यसको मतलव पत्रकार सदैव न्युट्रल बन्नुपर्छ भन्ने पनि हैन । उसको राय दिने ठाउँ सम्पादकीय र स्तम्भ रही नै रहन्छ । फिचर लेखनमा पनि तथ्यमा टेकेर सामान्य राय दिन सकिन्छ ।

समुदायका निम्छरा वर्गसँगै अन्य कसैले सहयोग गरेन भन्दैमा एक पत्रकारले सूचनामा रिस साँध्नु सूचना अपराध हो । यो कुरा पङ्क्तिकारले आफ्ना अग्रज पत्रकारहरूबाट सिकेको हो । मैले यो मनोरोग छोडेदेखि नै आफूलाई अधिक स्वतन्त्र महसूस गरेको हुँ । पत्रकारलाई सूचना अपराधमा पुऱ्याउने मुख्यतया दुई कारणमध्ये एक कारण बाह्य हुन्छ भने अर्को कारण स्वयं भित्रै हुन्छ । बाहिरी कारणमा राजनैतिक, धार्मिक, संघ संस्थासंगको प्रभावकारी आवद्धता र आर्थिक लेनदेन हुन्छन् भने आन्तरिक कारणमा लोभ, आग्रह, पूर्वाग्रह र मिसन पर्दछन् ।

बाहिरी प्रभाव जस्तै आन्तरिक मनोरोग बास्तवमा पत्रकारको स्वतन्त्रता लुट्ने भयानक रोग रहेछ । यी रोगहरूले एक पत्रकारलाई वास्तविक तथ्यहरूको नजिक जानै दिँदैन । यो रोगले पत्रकारहरूको इमानलाई सदैव आफ्नो कब्जामा लिइरहन्छ । जबसम्म पत्रकार ति रोगहरूबाट मुक्त हुँदैनौं, असली अर्थमा हामी पत्रकार त के सूचनाकर्मी पनि हुन सक्दैनौँ । इगो र इमोशनले पत्रकारलाई क्रमशः भित्रभित्रै खोक्रो बनाउँदै लैजान्छ । पत्रकार बन्नु भन्दा अगाडि हाम्रो पहिलो काम मनोरोग हटाउनुसँग सम्बन्धित हुन्छ । किनकि पत्रकार आपÞm्नो लागि सेवारत हुँदैन । पत्रकारिता लोकको सेवा हो, यो एक पवित्र पेशा पनि हो, आफूबाहेकको लोकसेवा ।

सत्ताको चरित्र भलै प्रजातान्त्रिक प्रकारको किन नहोस्, संविधान भलै प्रेस स्वतन्त्रतासापेक्ष किन नहोस्, त्यहाँ पुग्ने नेतृत्वले हमेशा आफ्नो पक्षको समर्थन चाहन्छ । पार्टी र त्यसका हाँगाबिँगाहरूको नियत जनकेन्द्रित भन्दा सत्ताकेन्द्रित बढी हुन्छ । उनीहरू संविधानको कारणले मिडियामैत्री देखिए पनि उनीहरूको नियत स्वतन्त्र मिडियाको पक्षमा हुँदैन । अर्थात् उनीहरूले प्राय ‘डार्लिङ मिडिया’ चाहन्छन् । जसलाई भारतीय संचारमाध्यमले गोदी मिडिया भनेर नामाकरण गरिदिएको छ । हाम्रो सत्ता, पार्टी र कर्मचारीतन्त्रबीचको अन्तरविरोध यहीँनेर हुन्छ ।

त्यसैले अहिले आफ्नो स्वार्थको रक्षा कसले गर्ला, पद र पैसा कसले देला, निजी इगोको समर्थन कसले गर्ला भनेर सोच्नु हुँदैन । अर्को कुरा के पनि सत्य हो भने खराबीको विरुद्ध लेख्ने पत्रकार कुनै एक दिन आक्रमणमा पर्ने खतरा सदैव रही रहन्छ । त्यति बेला आफूले गुहार्ने आफ्नै समुहको संगठन हो । अरुलाई ग्यास च्याम्बरमा लैजाने हिटलरका सिपाहीले एकदिन आफूलाई पनि लैजान्छ भन्ने कुराको हेक्का राखेरै राष्ट्रिय, अन्तराष्ट्रिय प्रेस संगठनहरूले निकालेका वक्तब्यहरूको हेक्का राख्नैपर्ने हुन्छ । पेशाका सहकर्मीहरू बेइमान नै किन नहुन् उनीहरू भन्दा नजिकका नेता वा अन्य संगठन माउहरू हुन सक्दैनन् । कसैको पनि आपद, विपद र दुःख दिन हेराएर वा सूचना दिएर आउँदैन । त्यसैले ओम शर्मा जस्तै सहकर्मीमाथि कुनै राजनैतिक झुण्डबाट आक्रमण हुँदा रमिते भएर वा कुनामा ताली बजाएर एक पत्रकार बस्न सक्दैन । त्यो भनेको मित्रघातमात्र नभएर पत्रकार आचारसंहिताको पनि गम्भीर उल्लंघन हो ।

साँच्चै भन्ने हो भने यो पङ्क्तिकारका पनि अरु पत्रकारका भन्दा कम दुश्मन छैनन् होला । मलाई मन नपराउने मानिसहरू वा उनीहरूका झुण्डहरू पनि पक्कै हुन सक्छन् । पत्रकारहरूमै पनि नराम्रो चाहने कथित मित्र होलान् । तर ती कुराहरूले हाम्रो कलमलाई प्रभाव पार्नु हुन्छ त ? ती कुराहरूले हाम्रो सहधर्मितामा आँच आउन हुन्छ त ? पत्रकारहरूको सामुहिक दायित्व, हित र सुरक्षा मुद्धामा हाम्रो ऐकबद्धता कमजोर बनाउन हुन्छ त ? यो कदापि हुन सक्दैन किनकि त्यो हाम्रो पेशागत मर्यादा, संहिता र कर्तब्यविरुद्ध हुन्छ । पत्रकारितामा स्थापित मान्यताहरूको विरुद्ध हुन्छ ।

एनआरएनएको वर्तमान अवस्थाबारे गरिने रिपोर्टिङको अवस्था र स्थानीय सामाजिक संघसंस्थाहरूको नीतिबारे :

पत्रकार पिटिएकोबारे एक समाचारमा भेटिएको हरफ हो यो- ‘गैरआवासीय नेपाली संघमा पराजित एक समूहले निर्वाचित भएका पदाधिकारी र कर्मचारीहरूमाथि जीउज्यान मार्ने, हुलदंगा गर्दै अमर्यादित काम गरिरहेको भन्दै प्रहरीमा उजुरी परेको छ ।…’ यो समाचारको मुख्य भाग नै पुर्वाग्रही छ । तथ्यसंगत लिड वाक्य के हुन सक्थ्यो भने- ‘गैह्रआवाशीय नेपाली नेपाली संघको चुनावमा आएको त्रुटीले आशंकित दुई प्रतिष्पर्धी उम्मेद्वार तथा समूहद्वारा चुनावी परिणाम अस्विकार गर्दै कार्यालय प्रवेश गर्ने क्रममा कार्यालयमा उपस्थित अर्को समूहको उपस्थितिमा एमालेनिकट युथ फोर्सद्वारा पत्रकारलगायत आरके र महेश समुहमाथि आक्रमण हुँदा पत्रकार घाइते भएका छन् । पत्रकारलगायत दुवै समूह र घाइते पत्रकारले घटनाको अनुसन्धान गर्ने मागसहित प्रहरीमा उजुरी दिएका छन् । त्यसको भोलिपल्ट चुनावमा विजय भएका भनिएका बद्री केसीले पनि सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् ।’ चुनावमा धाँधली वा त्रुटी भएको स्वीकार्दै तीनैजना अध्यक्ष (त्रिमुर्ति)ले छानविनको लागि एक सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताले तीन कुरातर्फ स्पष्ट संकेत गरेको थियो, जसमा ‘पहिलो चुनावमा केही गडबड भएकै हो, दुई परिणामलाई निलम्बित गरि परिणामसँग सम्बन्धित त्रुटी वा गडबडीको छानबिन अनिवार्य छ र कार्यकारी पदबाट चुनावी परिणाम निलम्बित गरि छानविन नगर्ने हो भने यो परिणाम सर्वस्वीकार्य हुनै सक्दैन ।’ सम्झौतामा घोषित चुनावी परिणामबारे छानविनको रिपोर्ट आएपछि आवश्यक निर्णय गरिने उल्लेख थियो । जसमा अध्यक्षका तीनै जनाले बकाइदा हस्ताक्षर गरेका थिए । यसको अर्थ यो कहीँकतै दबाब र किर्ते तरिकाले गरिएको सम्झौता थिएन । चुनावका तीनै अध्यक्षका प्रतिस्पर्धी र पहिलो कार्यसमितिका तीनैजना अध्यक्षको सहमतिबेगर त्यो सम्झौता सम्भव नै थिएन । त्यो सम्झौता पत्रकार सम्मेलन गरेर लागु गर्नका लागि घोषणा गरिएको थियो । त्यहाँ घटित वास्तविक तथ्य यही थियो । भयो के भने जितको रूपमा घोषणा गरिएको बद्री समुहले त्यो सम्झौताको केही घण्टा नबित्दै सपथ ग्रहण गऱ्यो । त्यही बिन्दुबाट सम्झौता भंग भयो र अर्को समुहले पनि तुरुन्तै अर्को समिति घोषणा गऱ्यो । जसले जसरी बुझे पनि वास्तविकता यही थियो ।

लोकतन्त्रमा चुनावको परिणाम आफ्नो दल वा समुहले स्विकारेन, हारजित भएका सबै पक्षबाट घोषित परिणामको अनुसन्धान गर्ने लिखित सम्झौता भयो भने त्यो परिणाम निलम्बित हुन्छ । त्यसलाई निष्कर्षमा पुगेर हारेका भनिएका सबै प्रतिस्पर्धीले बधाई दिएपछि मात्र मान्यता दिइन्छ । त्यसैले लोकमतमा सर्वस्वीकार्य चुनावी परिणाम आबश्यक हुन्छ । अहिले एनआरएनएको चुनावी परिणामबारे धेरै आशंका गर्ने ठाउँ देखियो । केशव पौडेलको मतपरिणामले त झन् त्यो चुनावलाई विश्वास गर्ने आधार नै कमजोर बनाइदियो ।

प्रतिस्पर्धीमध्येका अध्यक्षका प्रत्यासीले नै निर्वाचन समिति बनाए । त्यसमा सबैको सहमति थियो भन्ने कुरालाई अन्यले स्वीकार नै गरेका छैनन् । यी यावत कुराले अहिले यो संस्था पुन विभाजन हुने अवस्थामा पुग्यो । यो विभाजनको स्वरूप हेर्दा नेपालको राजनैतिक धारको प्रभाव स्पष्ट रूपले देखिन पुगेको छ । यसर्थ एनआरएनए जस्तो सुद्ध सामाजिक संस्थामा नेपालका राजनैतिक पार्टीको प्रभाव खतरनाक रूपले प्रकट हुनु नेपाली डायस्पोराको दुर्भाग्य हो ।

राहतको झुटो विवरणबारे सम्बन्धित स्थान र समुदायबीच समन्वयात्मक सूचना आदानप्रदानमा चनाखोपन :

अर्को कुरा, भूकम्पले क्षतिग्रस्त कर्णाली क्षेत्रमा एनआरएनहरूका सबै चिराहरू पीडितलाई राहत दिने र चन्दा उठाउने कार्यमा ब्यस्त देखिएका छन् । विदेशमा विभिन्न संगठनहरूले सहयोग उठाइरहेका छन् । त्यो एक सकारात्मक कदम हो । तर पत्रकारहरूले उनीहरूले उठाएको चन्दा, खर्चको विवरण र वितरण प्रणालीको पारदर्शिताबारे चासो दिनु नितान्त आवश्यक देखिएको छ । विगतको अनुभव हेर्दा डायस्पोराबाट उठाएको चन्दा र खर्चको प्रमाणबारे एकरूपता नदेखिँदा आर्थिक विचलनको दुर्गन्ध फैलिएकोबारे हामी सचेत हुनैपर्छ । अघिल्लो पटक कतिलाई खर्चको झुटो विवरण देखाएर चन्दा हजम गरेका आरोप आए । उनीहरूले वितरण गरेको भनेको स्थानमा राहत नै नपुगेको अवस्थालाई यो पटक पत्रकारहरूले हेक्का राखेर समाचार सम्प्रेषण गर्नु जरुरी देखिएको छ ।

अन्त्यमा, एनआरएनएको विभाजित अवस्थामा सूचना प्रवाह गर्दा पत्रकारहरूले उनीहरूलाई झन् दरार पैदा हुने गरेर सूचना सम्प्रेषण गर्नु हुँदैन । उनीहरूलाई सामाजिक संघ-सँस्थाका नेतृत्व तथा पत्रकारहरूले एकताका आधारहरू उपर बारम्बार दबाब सृजना हुने गरेर आफ्ना सम्बोधन गर्नुपर्छ वा सम्पादकीय तथा लेखहरू लेख्नु पर्दछ । मिलेर नआएसम्म स्वागत गरिन्न भनेर अडान लिन सक्नुपर्छ । त्यसले कमसेकम उनीहरूमा मनोवैज्ञानिक दबाबको सृजना गरिरहन्छ ।

यथार्थतामा भन्नैपर्ने हुन्छ, एनआरएनएको वर्तमान अवस्था विभाजित हो । मूल संरचनाको एक भाग कुवेरपक्ष हो, अर्को पक्ष केसीपक्ष हो भने तेश्रो पक्ष आरके तथा महेशपक्ष हो । यसमा हामीले स्थानीय रूपमा सम्बोधन गर्दा उल्झन आउन सक्ने भएकोले राष्ट्रिय समन्वय परिषदबाहेक केन्द्रको कुनै एक पक्षलाई मात्र एकलौटी रूपमा मान्यता दिने भुल गर्नु हुँदैन । अज्ञानतावश यसो गरियो भने सामाजिक संघसंस्थाभित्र आन्तरिक विवाद सृजना हुने सम्भावना प्रवल हुन्छ । यसले स्पष्ट रूपमा पक्षधरतालाई बल मिल्छ र अनेसासजस्ता जस्ता बौद्धिक तथा सांस्कृतिक वा सामुदायिक संस्थालाई विवादतिर धकेल्छ । हेक्का रहोस् !