टिकटकले के देखायो ? अब के गर्ने ?

टिकटकले के देखायो ? अब के गर्ने ?


टिकटकको कार्यालयले ‘सरकारसँग हामी नजिक रहेर वार्ता गरिरहेका थियौँ’ भन्ने विज्ञप्ति निकाले पनि समस्या भने थियो । बेनामे आइडी बनाएर विभिन्न सामाग्री पोष्ट गर्ने, चरित्र हत्या गर्नेहरूलाई यो कहाँबाट कसले चलाएको छ भनेर साइबर ब्युरोले पत्राचार गर्दा जवाफै नदिने, वास्तै नगर्ने ! नेपाल प्रहरीलाई बेवास्ता गर्नुको अर्थ राज्यले मागेको जानकारी दिन वास्ता नगर्नु या अस्विकार गर्नु हो ।
✍ बबिता बस्नेत

मैले लेखेको कथा सङ्ग्रह ‘सम्बन्धहीन सम्बन्धहरू’मा ‘अभिशप्त खुशी’ शीर्षकको एउटा कथा छ, जुन कथा ‘घाम लाग्ने आशमा छाता बोकिएन’ शीर्षकमा अनलाइनमा प्रकाशित छ । उक्त कथाको सुरुमै भएका केही प्रश्नमध्ये एउटा छ- ‘जीवनमा लुकाउने कुरा धेरै हुन्छन् कि खोल्नुपर्ने ?’ कथाकी पात्रले ‘थाहा भएन’ भन्ने जवाफ दिएपनि उसलाई भन्न मन लगेको हुन्छ- ‘सायद लोग्नेमान्छेहरूले सार्वजनिक गर्ने धेरै कुराहरू हुन्छन् र महिलाहरूले लुकाउने ।’ आफूले लेखेको यो सम्वादलाई जीवनमा पहिलोपल्ट टिकटकमा देखिएका केही महिलाले गलत सावित गरिदिए । टिकटकमा कतिपय महिला तालबेताल उफ्रिएको र तिनले आफूलाई करिव-करिव नाङ्गो बनाएको हेर्दा लाग्थ्यो, समाज हामीले सोचेजस्तो छैनरहेछ ।

कतिपय महिलाले अहिले विभिन्न सामाजिक सञ्जालमा लाइभ बसेर जे-जस्ता शब्दहरू प्रयोग गर्ने गरेका छन्, त्यस्ता शब्द कुनैपनि नेपाली महिलाले बोल्न सक्छन् या बोल्छन् भन्ने पहिला कहिल्यै लागेको थिएन । सामाजिक सञ्जालमा कतिपय पुरुष पनि उफ्रिन्छन्, न्वरानदेखिको बल निकालेर कराउँछन्, कराइरहेका छन्, उफ्रिरहेका छन् तर त्यसरी देखापर्ने पुरुषले प्रायः ब्यक्तिगत कुरा गरेको देखिँदैन । तर, सामाजिक सञ्जाललाई प्रदुषित बनाइरहेका केही महिलाले आफ्ना नितान्त ब्यक्तिगत कुराहरू जुन दुनियाँलाई सुनाउन आवश्यक नै छैन, आफ्ना निजी अङ्गहरू जुन देखाएर बदनामी बाहेक पाउने केही होइन, त्यस्ता कुराहरू सुनाउने/देखाउने गरेको पाइयो, पाइएको छ ।

कुनैपनि समाजमा न महिला सबै एकै प्रकारका हुन्छन् न पुरुष, न यौनिक तथा लैंगिक अल्पसंख्यक नै, सबैका आ-आफ्ना फरक प्रवृत्तिहरू छन् । सामाजिक सञ्जाललाई प्रदुषित बनाउनमा धेरथोर सबैको भूमिका छ । सभ्य शब्द र दृष्यहरू पोष्ट गर्नेले नहेरिदिने हो भने अर्धनग्न हुनेहरूको हौसला बढ्ने थिएन होला । महिलालाई त्यसैपनि शारीरिक रूपले बढी हेर्दै आएको हाम्रो समाजमा अहिले कतिपय महिलाले आफूसँग शरीरबाहेक अरु केही नै छैन झैँ गरी प्रस्तुत भएपछि धारणा बनाउनेहरूलाई थप बल पुगेको छ । नरमाइलो कुराचाहिँ के हो भने आफूले त गरे-गरे, आफ्ना छोरीहरूलाई पनि प्रतिभाको मुख्य केन्द्र नै शरीर हो झैँ गरी ‘मेरी छोरीलाई पनि माया गरिदिनुस् है’ भन्दै अपिल गरेको पनि देखिएको छ । सामाजिक सञ्जालमा जिब्रो निकाल्दै रातभरी लाइभ बस्नेहरू भन्दा रत्नपार्कमा ग्राहक खोज्ने महिलाहरू निकै आत्मसम्मानित लाग्छ पङ्क्तिकारलाई । विभिन्न परिस्थिति र बाध्यताले देहब्यापारका लागि रत्नपार्क र अन्य सडकमा उभिने महिलाहरूले कहिल्यै पनि आफ्ना छोरीहरूलाई त्यस्तो पेशामा लाउन चाहँदैनन् ।

सामाजिक समाजमा महिलाका शरीर मात्र छैनन्, विभिन्न प्रतिभाहरू पनि त्यत्तिकै आएका छन् । महिलाहरूले गरेको सानो ब्यापार-ब्यवसायलाई सामाजिक सञ्जालले हुर्काएर ठुलो बनाइदिएको छ । कतिपय महिलाले पकाएको दालभातलाई नै पनि अहिले नै गएर खाइहालुँ झैँ देखाइदिएको छ । घरेलु र देश-विदेशको ब्यापार गर्ने ब्यवसायीको रूपमा चिनाएको छ । सामाजिक सञ्जालका कारण आफ्ना सिर्जनात्मक काम गरेर नाम, दाम दुवै कमाउनेहरूको सङ्ख्या ठुलो छ । विगतमा पैसा कमाउन पाखुरा बजार्नुपर्थ्यो, अहिले सिर्जना गरे पुग्छ ।

प्रतिबन्धपछि टिकटक चलाइरहेका कतिपयले ‘तपाईं पनि चलाउनुस् न कसरी चलाउने म मान्छे पठाइदिन्छु’ भन्नेहरू पनि भेटिए । त्यसो भन्नेहरूलाई मेरो एउटै जवाफ रहनेगरेको छ, ‘यो देशको नियमकानून मान्ने नागरिक हुनुको अर्थमा राज्यले बन्देज लगाएको कुरालाई मैले चलाउन मिल्दैन । तर यसलाई कानूनी रूपले नै चलाउन देउ भनेर बन्देज फुकुवा गर्नका लागि दबाब दिन र बन्द गर्न हुँदैन भन्ने पक्षमा वकालत भने गरिरहने छु ।’

सामाजिक सञ्जालले आफूले गरेको सिर्जनालाई विश्वब्यापी बनाएको छ । गाउँघर, कुना-कन्दरामा कति मानिसहरू गीत गाउन जान्ने रहेछन्, कतिले असाध्यै राम्रो नाच्ने रहेछन् । गाउँमा बनेको गुन्द्रुक, बुनेको गुन्द्री, फिलुङ्गेको छोपको अचार लगायतका लोप हुँदैगएका कुराहरूले सामाजिक सञ्जालकै कारण गाउँदेखि शहरसम्मको यात्रा गर्न पाएका छन् । सामाजिक सञ्जालले विश्वभरी छरिएर रहेका आफन्त र साथीहरूसँग भेट गराएको छ । यस्ता राम्रा कुरा धेरै छन् । सकरात्मकसँगै नकारात्मक कुरा पनि टन्नै छन् । एक वर्षमा ४ हजार भन्दा बढी मुद्दाहरू नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेका छन् । तीमध्ये धेरैजसो मुद्दा महिलामाथि भएका हिंसासँग सम्बन्धित छन् । सबैभन्दा बढी हिंसा फेसबुकको म्यासेन्जरबाट हुने गरेको छ । दोश्रोमा इन्स्टाग्राम र तेश्रोमा टिकटकबाट हुने गरेको छ ।

विभिन्न सामाजिक सञ्जालका चुनौती र अवसरहरूका बीच सरकारले एक्कासी टिकटकमाथि बन्देज लगाएको छ । तिहारको छुट्टीमा हठात् गरिएको यो निर्णयले नेपालमा टिकटक बन्द भयो भनेर विश्वब्यापी चर्चा पाएपनि टिकटक चलाउँदै आएका नेपालीहरूलाई भने खासै फरक पारेको छैन । जुन कुरा सरकारका लागि निकै अप्ठ्यारो कुरा हो । सरकारले बन्देज गरेको कुरालाई जनताले अटेर गर्छन् भने त्यसलाई राम्रो अवस्था मान्न या भन्न मिल्दैन । बन्देज गर्नुअघि टिकटक बन्द गर्नुपर्ने परिस्थिति किन आयो भन्ने बारेमा जनताले जानकारी पाएको भए अवस्था अर्कै हुन सक्थ्यो, तर कुनै जानकारी दिइएन । प्रतिबन्धपछि टिकटक चलाइरहेका कतिपयले ‘तपाईं पनि चलाउनुस् न कसरी चलाउने म मान्छे पठाइदिन्छु’ भन्नेहरू पनि भेटिए । त्यसो भन्नेहरूलाई मेरो एउटै जवाफ रहनेगरेको छ, ‘यो देशको नियमकानून मान्ने नागरिक हुनुको अर्थमा राज्यले बन्देज लगाएको कुरालाई मैले चलाउन मिल्दैन । तर यसलाई कानूनी रूपले नै चलाउन देउ भनेर बन्देज फुकुवा गर्नका लागि दबाब दिन र बन्द गर्न हुँदैन भन्ने पक्षमा वकालत भने गरिरहने छु ।’

म टिकटकको ठुलो प्रसंशक र नियमित प्रयोगकर्ता दुवै होइन, तर चलिरहेको कुनै पनि माध्यम बन्द गर्नुअघि मुलुकमा उक्त माध्यमले के-कस्तो ‘थ्रेट’ उत्पन्न गऱ्यो भन्ने कुराको जानकारी जनताले पाउनुपर्छ । मुलुकमा उत्पन्न परिस्थिति अनुरुप सरकारले राष्ट्र र जनताको हितमा आपतकालीन निर्णयहरू गर्न सक्छ, त्यसको कारण स्पष्ट हुनुपर्छ । संविधानतः सङ्कटकालको अवस्थामा बाहेक सञ्चारका कुनै पनि माध्यमहरू बन्द गर्न पाइँदैन, सरकारले नियमन र नियन्त्रण भने गर्नसक्छ । यद्यपि प्रजातन्त्रमा सञ्चारका कुनैपनि माध्यमको नियन्त्रणको परिकल्पना गरिँदैन, आचारसंहिता बनाएर नियमन भने गर्नसक्छ । हाम्रो जस्तो नागरिक उत्तरदायी नभइसकेको मुलुकमा सामाजिक सञ्जाललाई कडाइका साथ नियमन गर्नुपर्ने अवस्था भने छ ।

दिन-प्रतिदिन प्रविधिको विकास यति तीव्र भइरहेको छ कि कुनै माध्यमलाई निषेध गर्न सक्ने देखिँदैन । आज फेसबुक, टिकटक आयो, भोलि अर्कै बुक, अर्कै टक आउँछ । प्रविधिको बहावलाई छेक्न सक्ने अवस्था छैन । प्रविधि प्रयोगकर्तालाई कसरी उत्तरदायी बनाउने भन्ने मात्र हो । टिकटक बन्द गरेपछि टिकटकको प्रदुषण ‘रिल’तिर सरिसक्यो, के मात्रै बन्द गर्ने ? टिकटकको कार्यालयले अहिले सरकारसँग हामी नजिक रहेर वार्ता गरिरहेका थियौँ भन्ने विज्ञप्ति निकाले पनि समस्या भने थियो । बेनामे आइडी बनाएर विभिन्न सामाग्री पोष्ट गर्ने, चरित्र हत्या गर्नेहरूलाई यो कहाँबाट कसले चलाएको छ ? भनेर साइबर ब्युरोले पत्राचार गर्दा जवाफै नदिने, वास्तै नगर्ने । नेपाल प्रहरीलाई बेवास्ता गर्नुको अर्थ राज्यले मागेको जानकारी दिन वास्ता नगर्नु या अस्विकार गर्नु हो । यस्ता कुरामा टिकटकले अब प्रतिबद्धता जनाउनुपर्छ । राज्यले पनि स्पष्ट अडान राख्नुपर्छ ।

हामी प्रयोगकर्ताले बुझ्नुपर्ने कुरा के हो भने सामाजिक सञ्जाललाई उपयोग गरेर पैसा कमाउनु राम्रो कुरा हो तर के काम गरेर ? भन्ने महत्वपूर्ण कुरा हो । संघर्षले मानिसलाई जीवन बाँच्ने प्रेरणा दिन्छ, शारीरिक हाउभाउ र जे पायो त्यही बोलेर भाइरल हुनेहरूलाई डिप्रेसनतिर धकेल्छ । आफूले परिश्रम गरेर तयार गरेको कुरालाई मार्केटिङ गर्न सामाजिक सञ्जाल गज्जबको माध्यम भएको छ । आफ्ना सामाग्रीको जानकारी दिने क्रममै कति सर्वसाधारणहरू मोडेल बनेका छन् । उपयोग गर्न जान्यो भने सामाजिक सञ्जाल सडकजस्तै हो जो आफू त्यहीँ हुन्छ तर धेरैलाई गन्तब्यमा पुऱ्याउँछ । कुनैपनि सामाजिक सञ्जाल आफैमा खराब हुँदैनन्, प्रदुषित बनाउने प्रयोगकर्ताले हो । प्रयोगकर्ताका लागि आचारसंहिता बनाऔँ, सामाजिक सञ्जालको बन्देज होइन कडाइका साथ नियमन गरौँ ।