नेपाल यात्राको छैठौं संस्करणमा कलाकार पी. सिंहको सांस्कृतिक क्यानभास

नेपाल यात्राको छैठौं संस्करणमा कलाकार पी. सिंहको सांस्कृतिक क्यानभास


कला महोत्सवमा कलाप्रेमीहरूलाई मन्त्रमुग्ध तुल्याउँदै सिंहका कला-कृति

कतारको दोहामा जारी कतार अन्तर्राष्ट्रिय कला महोत्सवमा ‘नेपालयात्रा कला प्रदर्शनी’को छैटौं संस्करण ‘कतार कन्भास २०२३’ सुरु भएको छ ।

कला महोत्सवमा कलाकार पी. सिंहका एक्रिलिक र वाटर कलरका चित्रहरू सहित मनमोहक कलाकृतिहरू राखिएको छ जसले नेपालको प्राकृतिक दृश्य, वन्यजन्तु लगायत नेपालका वास्तुशिल्पका दृष्टिले धनी प्राचीन मन्दिर र गुम्बाहरूलाई कलात्मक रूपमा चित्रण गरेको छ ।

यसअघि युके र नेपालका विविध स्थानमा कला प्रदर्शनी गरिसकेका कलाकार सिंह आफ्ना चित्रहरूमार्फत नेपाली संस्कृतिको प्रवद्र्धन गर्न प्रतिबद्ध छन् । उनको योगदानलाई कदर गर्दै बेलायतका लागि नेपालका पूर्व राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा विशेष प्रयास गरेकोमा सिंहलाई २०२० मा सम्मान गरेका थिए ।

आफ्नो कार्यका लागि मिलेको प्रशंसाबाट उत्साहित कलाकार सिंहले भने, ‘कतारमा आफ्नो कलाकृतिमार्फत नेपालको प्रतिनिधित्व गर्न पाउँदा म निकै हर्षित छु । पाँच दिवसीय प्रदर्शनीमा सयौं आगन्तुकलाई नेपाली कला, संस्कृति र परिदृश्य देखाउन पाउनु साँच्चै रोमाञ्चक छ ।’

उनले नेपाली कलाकृतिहरूप्रति आगन्तुकहरूको उत्साहजनक प्रतिक्रियालाई पनि टिप्पणी गरे । लन्डनको ‘एसएमबीसी’ बैंकमा कार्यरत सफ्टवेयर इन्जिनियर सिंह आफ्नो खाली समयमा जोशका साथ कला सिर्जनामा होमिन्छन् । यतिमात्र नभइ उनले नेपालमा विकास गरेका ‘टाइपशाला’ टाइपिङ ट्युटर, ठमेल डट कम, ‘नेपाली युनिकोड’ र ‘राजमार्ग’ रोड इन्जिनियरिङ सफ्टवेयर उल्लेख्य सफ्टवेयर योगदानअन्तर्गत पर्दछन् ।

यतिबेला जारी कला महोत्सवमा पी. सिंहकी सुपुत्री रोस्लिन सिंहले पनि आफ्ना केही पानीको रंग र पेन्सिल कलाकृतिहरू प्रदर्शन गर्नेछिन् । बेलायतमा बायोमेडिकल इन्जिनियरिङ गर्दै आएकी १९ वर्षीया कलाकार रोस्लिन भन्छिन्, ‘यस कला महोत्सवमा नेपालका मेरा केही कलाकृतिहरू प्रदर्शन गर्न पाएकोमा म निकै उत्साहित छु ।’

नेपाल यात्रा कला प्रदर्शनी शृंखलाका संयोजक संगीता स्वेच्छाका अनुसार कतार इन्टरनेशनल आर्ट फेस्टिभल २० देखि २५ नोभेम्बर २०२३ सम्म चल्ने छ, जसमा ६५ भन्दा बढी देशका कलाकारहरूको सहभागिता रहेको छ ।

‘हामी नेपालका कलाकृतिहरूको प्रतिनिधित्व देख्न पाउँदा खुसी छौँ’, कतार अन्तर्राष्ट्रिय कला महोत्सव प्रमुख रश्मी अग्रवालले भनिन्– ‘उदीयमान प्रतिभाहरू, स्थापित मास्टरहरू, कला विशेषज्ञहरू, आलोचकहरू, र शिक्षाविद्हरूलाई एकै ठाउँमा ल्याउँदै, मूर्तिकला, चित्रकला र डिजिटल एवम् मूर्तिकलााहरू सहित कलात्मक विषयहरूको व्यापक दायरा प्रदर्शन गर्दै महोत्सवले विश्वव्यापी प्लेटफर्मको रूपमा काम गर्दछ ।’

कला महोत्सवमा उपस्थित कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालकले कतार कला महोत्सवमा नेपालको प्रतिनिधित्व देख्दा गर्व लागेको भन्दै महोत्सवको प्रशंसा गरेका थिए ।