घरमै यसरी बनाऔँ बाख्रालाई दाना

घरमै यसरी बनाऔँ बाख्रालाई दाना


✍ सुरेन्द्र सुवेदी

बाख्रा पाल्ने किसानका लागि सन्तुलित दानाको ठूलो महत्व छ । ब्याउन २ महिना बाँकी रहँदा र ब्याएको २ महिनासम्म बाख्रालाई, बढ्ने उमेरका पाठापाठी, बीऊ बोकालाई विशेषगरी सन्तुलित दाना नियमित खुवाउनु पर्छ । यसो भन्दा ती बाहेकका बाख्रालाई खुवाउनु पर्दैन भनिएको हैन, सबै उमेर समूहका बाख्रालाई सन्तुलित दाना खुवाउनै पर्छ । तर ब्याउन २ महिना बाँकी रहँदा र ब्याएको २ महिनासम्म बाख्रालाई, बढ्ने उमेरका पाठापाठी र, बीऊ बोकालाई शारीरिक तौलको १ देखि २ प्रतिशतसम्म सन्तुलित दाना खुवाउनु राम्रो मानिन्छ ।

सामान्यतया हाम्रो देशका रैथाने बाख्राको सरदर जीवित तौल ३० किलो हुन्छ । यो हिसाबमा एक बाख्रालाई दैनिक ३ सय ग्राम सन्तुलित दाना खुवाउनु पर्छ । यसरी खुवाउनुपर्ने दाना घरमै बनाउन सकेको खण्डमा लागत कम पर्ने र दाना उच्च गुणस्तरको हुन्छ । ढुसी परेका, धेरै पुराना अर्थात् प्रयोग गर्न नहुने दानामा प्रयोग हुने कच्चा पदार्थ घरमै बनाउँदा पक्कै पनि हालिन्न । बजारमा खरिद गरेको दानामा गुणस्तर राम्रो हुने कुरामा विश्वास गर्न सकिन्न । तसर्थ, घरमै दाना बनाउनु उचित हो । घरमै कसरी सन्तुलित दाना बनाउन सकिन्छ भनी यहाँ संक्षिप्त चर्चा गरिएको छ ।

बाख्रापालनमा लागेका व्यवसायीहरूले सुरुमा मकै पिस्ने मिल खरिद गर्नैपर्छ, जसको अहिले बजारमूल्य करिव २५ हजार रुपैयाँ पर्छ । ३ एचपीको मोटार भएको यस्तो मिल नगरपालिका, गाउँपालिका र कृषि ज्ञान केन्द्रहरुले अनुदानमा वितरण पनि गर्दै आएका छन् । सम्भव भए यस्तो मिल राख्नु होला । यो चलाउन सामान्य छ । आफँैले चलाउन सकिन्छ । यो सम्भव नभएमा गाउँघरमा हुने मिलमै लगेर पनि पिस्न सकिन्छ ।

दानाको लागि प्रोटिन र कार्बोहाइड्रडयुक्त कृषि उपजको व्यवस्था गर्नुपर्छ । प्रोटिनको श्रोतमा तोरीको पिना, भटमासको पिना, दलहन बालीका पिना र चोकर प्रयोग गर्नुपर्छ । कार्बाेहाइड्रेडका लागि मकै, गहुँ, कोदो, धानको ढुटो चाहिन्छ । दाना सन्तुलित हुनको लागि अब खनिज तत्व र नुन आवश्यक पर्छ । १६ वटा खनिज तत्व मिलाएको मिनरल मिक्सचर बजारमा खरिद गर्न पाइन्छ । त्यो नै हामीले प्रयोग गर्नुपर्छ ।

एक सय किलो दाना बनाउन आवश्यक यी सामानको जोहो भएपछि कति कति मात्रा हाल्ने ? यसको राम्रो जानकारी हुनुपर्छ । सामान्यतया दाना बनाउँदा १४ प्रतिशत प्रोटिन, १६ प्रतिशत प्रोटिन र १८ प्रतिशत प्रोटिन भएको बनाइन्छ । ब्याउने तयारीका, ब्याएका र भरखर दूध छुटेका पाठापाठीलाई १८ प्रतिशतसम्मको दाना खुवाइन्छ भने अन्यलाई १४ प्रति खुवाउँदा पुग्छ । अनि दाना खुवाउँदा कति प्रतिशतको खुवाउने भन्ने कुरा बोका बाख्राको अवस्थाले निर्धारण गर्छ ।