सोवा रिग्पा : ओझेलमा परेको उपचार पद्धति

सोवा रिग्पा : ओझेलमा परेको उपचार पद्धति


मानिसमा काम, क्रोध र अविद्या (अज्ञानता) बाट नै विभिन्न रोगको सिर्जना (जन्म) हुने हुन्छ । कामबाट वायु, क्रोधबाट पित्त र विभिन्न अविद्याबाट कफजन्य रोग लाग्छ । गलत आहार-विहार, मौसमको फेरबदल र तत्सम्बन्धी गर्नुपर्ने व्यवहारको अनभिज्ञता पनि रोग लाग्नाको अर्को कारण हो ।


हामी मानव लगायत चराचर जगतमा भएका सम्पूर्ण प्राणी पञ्चतत्वबाट बनेका हुन्छन् । पृथ्वी(सा), जल (छयु), तेज वा ताप (में), वायु (लुँङ) र आकाश वा प्राण (नाम्खा) पञ्चतत्वभित्र पर्दछन् । मानव शरीर पनि यिनै पञ्चतत्वले बनेको हुने हुँदा शरीरमा पञ्चतत्वको सन्तुलन बिग्रिँदा अनेकौँ रोगहरू लाग्दछन् । जडिबुटी पनि तिनै पञ्चतत्वले बनेको हुने हुँदा रोगको निदान एवं उपचार गर्न सकिएको हो । मानव प्राणी र वातावरणबीच अत्यन्तै घनिष्ट सम्बन्ध रहेको हुन्छ । वायु र पित्तमा विकास (दोष) धेरै हुँदा रोग लाग्दछ । यसबाट लगभग ४०४ प्रकारका रोगको जन्म हुन्छ । यो अझै फैलिएर गएमा १०१६ वटा रोग बन्दछन् । यदि त्यसलाई समयमै पहिचान (निदान) गर्न सकिएमा ४०४ मा झार्न सकिन्छ । यसलाई अझ राम्रोसँग उपचार गरेर एक सय एक (१०१) मा र अझै यसमा गहन उपचार गरेर १०१ बाट त्रिदोष कफ (बेकेन), बात (लुङ) र पित्त (ठिपा) मा झार्न सक्दछौँ । तातो (छावा) र चिसो (डङ्वा) का बीच सन्तुलन कायम भयो भने हामीलाई निरोगी रहन सहज हुन्छ । आयुर्वेदमा यसलाई ‘आश्वा’ अर्थात् तातो र ‘शीतन’ अर्थात् चिसो भनिन्छ । यी बाहेक अन्य रोग नै हुँदैनन् भन्ने मान्यता यस पद्धतिमा रहेको छ ।

बुद्धधर्मले मानव जातिको शरीरको बाहिरी स्वास्थ्य मात्र नभइ भित्री स्वास्थ्य पनि स्वस्थ हुन जरुरी हुन्छ भन्दछ । सोवा रिग्पामा मस्तिष्कको स्वास्थ्यमा विशेष जोड दिइन्छ । सोवा रिग्पा संस्कृतिसँग पनि सम्बन्धित रहेको छ । यस पद्धतिमा शिक्षा, स्वास्थ्य र विज्ञानको पनि उत्तिकै ज्ञान हुनु आवश्यक हुन्छ । बाह्य स्वास्थ्यको मात्र नभइ मानसिक स्वास्थ्य अवस्थाको पनि गहन विश्लेषण यस पद्धतिमा गरिन्छ । बौद्ध गुम्बाहरूमा राखिएका विभिन्न पाँचवटा रङका झण्डाहरूको रङको अर्थ पनि बेग्लाबेग्लै हुन्छ । सेतो रङको झण्डाले ‘मस्तिष्क’ निलोले ‘पानी’ रातोले ‘आगो’, पहेँलोले धर्ति र हरियो रङको झण्डाले वायुलाई जनाउँछ । यिनै रङका आधारमा मानिसमा हुने रोगको प्रकृति र कारण पत्ता लगाउन सकिने मान्यता यस सोवा रिग्पा पद्धतिमा रहेको छ ।

सोवा रिग्पा पद्धतिमा डा. (आम्ची)ले बुद्धिष्ट ज्योतिष र खगोल विज्ञानका आधारबाट उपचार गर्ने गर्दछन् । यी विधिबाट गरिँदा उपचार प्रभावकारी हुने बताइन्छ । अर्को कुरा बुद्धिष्ट ज्योतिष र सोवा रिग्पा पद्धतीय औषधीका बीच गहिरो सम्बन्ध छ । सोवा रिग्पा) औषधीले रोगको रोकथामका लागि शुद्ध पानी मुहानको सरसफाइ स्वच्छ खानपिन र स्वस्थ जीवनशैलीमा जोड दिन्छ । हालको अवस्थामा रोगको रोकथामका निमित्त रोगको कारण र प्रकृतिले यस तथ्यलाई पुष्टी पनि गरेको छ । रोग लाग्नुमा मुख्यतः स्वेच्छाचारी जीवनशैली नै प्रमुख कारकतत्व (कारण) रहेको छ । साथसाथै गलत आहार-विहार एवं तत् सम्बन्धी अनभिज्ञता पनि रोग लाग्नुको अर्को कारण हो । यी विभिन्न कारणले मानवमा अल्पकालीन, साथै दीर्घकालीन (क्रोनिक) रोगले आक्रमण गर्ने खतरा रहन्छ । विशेष गरी खाद्य सुरक्षाबारेको अनभिज्ञताको कारणले गर्दा नै मानिसमा लोभ, घृणा, मुर्खता बढ्छ र नतिजास्वरुप अनेक प्रकारका दीर्घरोगको जन्म हुन्छ ।

ज्ञात छ, मानिसमा काम, क्रोध र अविद्या (अज्ञानता) बाट नै विभिन्न रोगको सिर्जना (जन्म) हुने हुन्छ । कामबाट वायु, क्रोधबाट पित्त र विभिन्न अविद्याबाट कफजन्य रोग लाग्छ । यिनै विकारहरूले शरीरका अङ्गहरूमा नकारात्मक भावको सञ्चार गर्दछ र यसबाट शारीरिक असन्तुलन हुन गइ हामी विरामी हुन्छौं । गलत आहार-विहारबाहेक मौसमको फेरबदल र तत्सम्बन्धी गर्नुपर्ने व्यवहारको अनभिज्ञता पनि रोग लाग्नाको अर्को कारण हो ।

आयुर्वेदिक ग्रन्थ चरक संहितामा सुझाइएको एउटा मार्गदर्शक सिद्धान्तको उल्लेख गर्नु यहाँ वाञ्छनीय देखिन्छ । यथा विषं यथा शस्त्रं यदाऽग्निरशनिर्याथा । तथौषधं अविज्ञातं विज्ञातं अमृतं यथा ।। अर्थात् पूर्व ज्ञान नभइकन (जथाभावी) प्रयोग गरिएको औषधीले विष, आगो र बज्रपात (विद्युत)ले जस्तो घातक परिणाम गराउन सक्छ भने राम्ररी सही तरिकाको प्रयोग विधि अपनाइएको अवस्थामा भने जीवनदायक हुन्छ । यो सिद्धान्त सोवारिग्पा उपचारमा लागू हुन्छ । त्यसकारण औषधीहरूको सेवन वा प्रयोग सही ढङ्गबाट भएमा मात्र औषधीको काम गर्दछन् नत्र विषमा परिणत हुने हुन्छ ।

सोवा रिग्पाको औषधी प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा :

१) औषधी गुण नबिग्रिएको (गुणस्तरीय) हुनुपर्दछ । एलोप्याथिक, रसायनिक औषधीको तुलना सोवा रिग्पा लगायत आयुर्वेदिक औषधीहरू लामो अवधिसम्म गुणस्तरयुक्त रहन्छन् । तर भण्डारण गर्दा तापक्रम मिलाएर नराख्ने, खुल्ला राख्ने र धेरै लामो अवधिसम्म प्रयोग गर्ने गल्ती भने गर्नु हुँदैन । औषधी ओस्सिएर नबिग्रियोस् वा बढी तापले नष्ट नहोस् भन्नका लागि हल्का चिसो, सुख्खा तथा चिसो ठाउँमा राख्नु पर्दछ ।

२) आम्ची (डा.)ले भनेअनुसार मात्रा मिलाएर खानुपर्दछ । तोकिएबमोजिम, तौल वा गन्ती गरेर मात्र प्रयोग गर्न सकिन्छ । आफूखुसी गरियो भने रोग निको नभइ झन् जटिल बन्दै जाने खतरा रहन्छ । आम्चीले सामान्यतः गरी विहान खाली पेट, दिउँसो खाना (खाजा) खाएको एकघण्टा पछि र बेलुका खाना खाएको एक घण्टा पछि औषधीको सेवा गर्न वा आवश्यता अनुसार दिने गर्दछन् ।

३. आम्ची (डा.)को सल्लाह बमोजिम लामो समयसम्म खानुपर्ने औषधी भए छुटाउनु हुँदैन । सामान्यतः बच्चालाई दिनमा एक गोली बयस्कलाई विहान दिउँसो र बेलुका एक-एक गोली गरी दिनको तिन गोली र वृद्धवृद्धालाई विहान बेलुका एक–एक गोली गरी दिनको दुई गोली सेवन गराइन्छ । औषधीको मात्रा विशेष अवस्थामा विरामीको रोगको अवस्था, शारीरिक बनावट हेरेर आवश्यकता अनुरुप आम्ची (डा.)ले औषधीको मात्रामा थपघट गर्न सक्दछन् ।

४. आफूले सेवन वा प्रयोग गर्ने औषधीको नाम र गुणबारे राम्ररी जानकारी हुनुपर्दछ । दल्ने वा लगाउने तेल वा मलह्मजन्य औषधीको हकमा पनि आम्ची (डा.)को सल्लाह उत्तिकै महत्वपूर्ण हुन्छ ।

५. औषधीसँग वा औषधीको सेवनपछि खाइने खाद्यपदार्थ दुध, दही, घ्यू, माछामासु वा अन्य मादक पदार्थ, धुम्रपान आदिको प्रयोगको बारेमा आम्चीको सल्लाह बमोजिम गर्नुपर्दछ ।

६. स्वास्थ्यलाई हानी गर्ने (अपथ्य) र हानी नगर्ने (पथ्य) आहार विहारको ज्ञानले रोगको निदान एवं उपचारमा महत्वपूर्ण भूमिका खेल्दछ । जस्तै उच्च रक्तचापमा नुनको न्यूनमात्रामा प्रयोग, मुटु रोगमा चिल्लो पदार्थको कम मात्रामा प्रयोग र धुम्रपान बर्जित गर्ने एवं मधुमेहमा गुलियो पदार्थको प्रयोग सकेसम्म कम गर्नुपर्दछ । यस पद्धतिमा आम्चीले रोग र रोगीको गहिरो अध्ययन गरिसकेपछि मात्र औषधी दिने गर्दछन् ।

सोवा रिग्पा उपचार पद्धतिमा विरामीको शरीर र मस्तिष्कको सूक्ष्म अध्यायन गरी उपचार गरिने हुँदा मानव स्वास्थ्य र रोगबीचको अन्तरसम्बन्धलाई अत्यन्तै (सूक्ष्म) गहिरो विश्लेषण गरिएको हुन्छ । सोवा रिग्पा उपचारमा (झण्डै) करीव करीव चार सयदेखि पाँचसय प्रकारका जडिबुटीहरूको आवश्यकता पर्दछ । तिनमा विकट हिमाली क्षेत्रमा जडिबुटीहरू पनि पर्दछन् । यिनमा लगभग एकसय प्रकारका जडिबुटी पर्दछन् । पहिले पहिलो जंगली जनावरका अङ्गलाई पनि औषधीका रुपमा प्रयोग गर्ने गरिन्थ्यो । कस्तुरीको पित्त, भालुको पित्त जस्ता संरक्षित जीवको अङ्गको प्रयोग हुँदै आएकोमा यी निषेधित औषधीको ठाउँमा आम्चीले वैकल्पिक जडिबुटीहरूको प्रयोग गर्न थालेका छन् । यो आम्चीहरूको सह्राहनीय कार्य हो ।

हिमाली क्षेत्रमा पाइने लगभग एकहजार प्रकारका जडिबुटी र १३० किसिमका जनावरका विभिन्न अङ्गबाट पनि औषधी बनाउने गरिन्छ । करीव १० प्रतिशत वन्यजन्तुजन्य औषधीहरू नेपालबाटै र नपुग भारतबाट आपूर्ति हुने गरेको अनुमान छ । हिमाली जडिबुटी र वन्यजन्तुजन्य औषधीको व्यापार समुद्रपारतर्फ बढेको हुँदा सोवा रिग्पामा प्रयोग हुने कमसेकम ५० प्रजातिका औषधीहरू उपलब्ध हुन सकिरहेका छै्नन् र वन्यजन्तुका प्रजाति पनि लोपोन्मुखताको जोखीममा छन् । निर्माण कम्पनीले पनि दिगो आपूर्तिको सुनिश्चितता नभएसम्म महँगो दरमा औषधी बनाउने कच्चा पदार्थको आयात गर्न सक्दैनन् । स्थानीय जडिबुटी र वन्यजन्तुजन्य कच्चापदार्थ पाउन असहज भएपछि विकल्पमा आम्चीहरूले अन्य जडिबुटीको अनुसन्धान गरी उपचार गर्न थालेका हुन् । औषधीको मूल्यवृद्धिको कारक जडिबुटीको अवैध व्यापार हो भन्दै उनीहरूले चिन्ता समेत व्यक्त गरेका छन् ।

सोवा रिग्पा परम्परागत उपचार पद्धति हो । रोगीको नाडी छामेर, पिसाव, दिशाको परीक्षण गरेर तथा आँखा, जिब्रो, कान तथा शरीरका अन्य भागहरूको निरीक्षण, अवलोकन गरेर, विरामीले बताएका लक्षणहरूको सूक्ष्म विश्लेषण गरेर रोगको पहिचान गर्ने र सोको उपचारको लागि स्थानीयस्तरमा उपलब्ध जडिबुटीहरूबाट आफैंले तयार गरेका औषधीहरू वा अन्य औषधालयहरूमा तयार गरिएका औषधीको सेवन आफ्नै निगरानीमा गर्न लगाएर उपचार गर्ने विधि भएकाले सोवा रिग्पामा रगत र पित्त सम्बन्धी रोगीको उपचार गर्दा शरीका विभिन्न विन्दु (प्वाइन्ट)हरूबाट रगतको परीक्षण गर्ने गरिन्छ । नशा तथा हड्डी खिइएकोमा कपडामा विभिन्न ५ प्रकारका जराहरूको औषधी राखेर त्यसलाई तेलमा तताएर दुखेको ठाउँमा सेकाउने गरिन्छ ।

यस पद्धतिमा आम्चीले नाडीमा तीनवटा औंलाले थिचेर मुटु र फोक्सोका अवस्था पत्ता लगाएर विभिन्न जडिबुटी मिश्रित औषधी दिने गर्नुका सार्थ शरीरका भित्री अवस्था बुझ्ने गरिन्छ । यो पद्धति बौद्धमार्गीय विज्ञानमा आधारित छ र यो विदा उपचारका पाँचवटा उच्च तहमध्ये एक हो । बौद्ध दर्शनमा आधारित यो विद्या वंशाणुगत रुपमा गुरुहरूबाट चेलाहरूमा सर्दै आएको छ । यो पद्धति वातावरण संरक्षण, आयस्तरमा वृद्धि, सांस्कृतिक र रहन-सहनमा आधारित रहेको हुनाले एलोप्याथिक उपचार भन्दा सस्तो र पार्श्वप्रभाव (साइड इफेक्ट) रहित हुन्छ । यस पद्धतिमा आधारित, शारीरिक एवं मानसिक तीन तहमा उपचार गरिने हुँदा रोग र विरामीको सम्पूर्ण अबस्थालाई गहन रुपमा अध्ययन गरिएको हुन्छ । यसैले गर्दा यो पद्धतिप्रति जनविश्वास बढेको छ ।

यस पद्धतिमा विरामीलाई औषधी मात्र सेवन गराउने मात्र नभइ उसको व्यक्तिगत स्वास्थ्य, पारिवारिक स्वास्थ्य साथसाथै सामुदायिक स्वास्थ्यको महत्व र आवश्यकताका बारेमा ज्ञानकारी गराइन्छ । आहार–विहारमा सन्तुलन राख्ने कुरालाई अत्यन्तै महत्वका साथ हेरिन्छ । आम्चीले रोगको प्रकृति हेरी विरामीलाई आफ्नै क्लिनिक वा घरमै राखेर उपचार गठराउनुका साथै असाध्य रोग लागेर असमर्थ भएमा रोगीकै घरमा नै गएर हप्तौंसम्म बसेर आफ्नै निगरानीमा उपचार पनि गर्ने गर्दछन् । उनीहरूले आफ्नै निगरानीमा औषधी खुवाउने, लेप लगाउने तथा जडीबुटी राखेर पट्टी बाँधेर उपचार गराउँछन् ।

आम्चीले यस पद्धतिमा ३९ प्रकारका रोगहरूलाई १६ समूहमा विभाजन गरी उपचार गर्ने गर्दछन् । मांशपेशी र हाडजोर्नी दुखाईबाट संक्रमित भएका, अधिकांश विरामीहरू श्वास-प्रश्वास, पाचन प्रणालीमा समस्या भएका पनि आउने गर्दछन् । रोग लाग्ने बित्तिकै नगइ एलोप्याथिक अस्पताल वा क्लिनिकबाट निको नभएपछि मात्र आम्चीकोमा आउने गर्दछन् । त्यसकारण उनीहरूको रोग छिप्पीसकेको हुन्छ र यसले गर्दा लामो समयसम्म उपचार औषधी गर्नुपर्ने बाध्यता रहेको तथ्य आम्चीहरू बताउँछन् । त्यसकारण स्वास्थ्यका बारेमा बेलैमा सचेत रहन उनीहरूस्को आग्रह छ ।

हिमामी क्षेत्रमा एकजना आम्चीले वर्षमा सालाखाला एकहजार रोगीको उपचार गर्ने गरेको बताइन्छ । देश विदेशका विभिन्न क्षेत्रमा रहेका आम्चीहरूले उही रोगका निम्ति प्रयोग गर्ने औषधीहरू एउटै किसिमका नहुन पनि सक्छन् । जडिबुटीको उपलब्धता र आम्चीहरूको स्वअनुसन्धानको कारणले गर्दा पनि औषधीमा फरकपन देखिएको हो । धेरैजसो आम्चीहरूले आफैं औषधी बनाउँछन् । केही औषधीहरू सबै आम्चीहरूले प्रयोगमा ल्याउने गर्दछन् भने केहीले भने अन्य आम्चीले बनाएको औषधी प्रयोग गर्ने गरेको पाइन्छ । शहरी क्षेत्रमा औषध बनाउन आधुनिक उपकरणको प्रयोग हुने गरेको पाइन्छ भेन हिमाली, ग्रामीण भेगमा भने घरेलु प्रविधि नै प्रयोग भएको पाइन्छ । भारत, चीन तथा तेस्रो मुलुकमा पनि औषधी निर्माण हुने भएकाले त्यताबाट पनि तयारी औषधी झिकाउने गरिएको आम्चीहरू बताउँछन् ।

सोवा रिग्पामा चार तन्त्र (घ्यूसी)को ज्ञानमा आधारित यस उपचार विधिमा प्रयोग गरिने औषधी, जडीबुटी र अन्य प्राकृतिक स्रोतहरू जस्तै खनिज, महँगा पत्थर र जनावरमा निर्भर छ । सोवा रिग्पाको स्येदपीघ्यूद (explanatory) अनुसार निम्नलिति आठ किसिमका औषधी मध्येबाट विरामीको उपचार गरिन्छ । जो निम्नअनुसार छ-

(क) रिन्छेन-मेन (रिम्पोछे-मेन) : सुन, चाँदी, हिरा, मोती, मुगा आदिबाट बनाइने यो विधि अत्यन्तै महँगो हुने भएकाले व्यक्तिगत रुपमा तयार गर्न सहज छैन । भुटान, चीनलगायतका केही औषधी निर्माताहरूले ठूलो परिमाणमा यस्ता बहुमूल्य धातु र पत्थरहरू प्रयोग गरी औषधी निर्माण गरेका छन् । काठमाडौंको बौद्धमा रहेका लगभग ८० वर्षीय आम्ची वाङचुक गुरुङले मात्र, यस किसिमको औषधी बनाउन सक्दछन् । उनी पछि यस प्रकारको औषधी बनाउने विधि नै लोप हुने खतरा छ आम्ची तेन्जिङ धार्के चिन्ता व्यक्त गर्दछन् ।

(ख) दो-मेन : ढुंगा, दर्शन ढुंगा, पत्थर, हिरा, रुवी, सिलाजित आदिबाट बन्ने औषधी यसमा पर्दछन् ।

(ग) सा-मेन : भिन्न भिन्न खालको माटोलाई औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ ।

(घ) सिङ मेन : साल, धुपीलगायत विभिन्न रुख विरुवाका पात, हाँगा र बोक्राबाट बनाइने औषधी ।

(ङ) चि-मेन : भालुको पित्त कस्तुरी एवं बहुमुख्य जडिबुटीबाट बनाइने औषधी ।

(च) ङो-मेन : विभिन किसिमका वनस्पति, रुख, विरुवाका जरा, हाँगा, पात, फलआदिको मिश्रणबाट तयार गरिने औषधी ।

(छ) स्रो-छाग-मेन : चराचुरुङ्गी, वन्यजन्तुका विभिन्न अङ्गहरू जस्तै सिङ, मासु, रगत, बोसो, गिदी, रौं (प्वाँख), हाड आदिको प्रयोग गरी बनाइने औषधी र यिनको उपलब्धता कम भएको हुँदा यिनको सट्टामा आम्चीहरूले अनुसन्धान गरी सकेसम्म वनस्पतिजन्य जडिबुटीको प्रयोग गर्दै आएका छन् ।

यी आठ किसिमका औषधीय विधिहरूलाई तीन वर्गमा राखेर बुझ्न सकिन्छ । करीव पाँच सय किसिमका वनस्पति, ३८ किसिमका जिवजन्तुका अङ्गहरू र ५४ किसिमका खनिजहरू सोवा रिग्पा उपचार पद्धतिमा औषधीको रुपमा प्रयोगमा ल्याउने गरेको पाइन्छ । केही माथि उल्लेख गरिए अनुसारका विधिगत केही निम्नलिखित प्रणालीहरूबारे जानकारी हुनु जरुरी छ ।

(क) वनस्पतिमा आधारित औषधीय प्रणाली : जडीबुटीजन्य औषधी निर्माणमा वनस्पतिहरूका ठूलो महत्व छ । धेरै भन्दा धेरै प्रजातिका वनस्पतिबाट औषधी निर्माण हुने भएको हुँदा वनस्पतिको महत्व बढेको हो । यद्यपि सोवा रिग्पामा केही जडिबुटीलाई अनिवार्य मानिन्छ । केही प्रजातिका जडिबुटीको उपयोगिता एउटै खालको हुनेहुन्छ । खासगरी दुई सय तीन प्रजातिका जडिबुटीलाई औषधीको रुपमा लिने गरिएको छ । यी अधिकांश जडिबुटीहरू समुद्री सतहभन्दा तीन हजार मिटरभन्दा माथिको उचाइमा मात्र पाइन्छ । ती मध्ये पनि १५ किसिमका जडिबुटी मात्र पहाडी क्षेत्रमा पाइन्छन् । आम्चीहरूले ती जडिबुटीहरू देशकै पहाडी भेगबाट र केही भारत र तिब्बतबाट झिकाएर औक्षधी निर्माण गर्दछन् ।

(ख) खनिज तत्वमा आधारित औषधी प्रणाली : विभिन्न ५४ प्रकारका खनिज तत्वहरूलाई सोवा रिग्पामा प्रयोगमा ल्याउने गरिएको छ । यसमा रत्न, माटो, ढुंगा, क्षार आदि गरिएका खनिज पदार्थबाट विभिन्न औषधीहरू तयार गरिन्छ । ४५ मध्ये, २३ प्रकारका ढुंगा, १४ प्रकारका रत्न, ६ प्रकारको माटो, दुई प्रकारको क्षार र ९ प्रकारका खनिजहरू जस्तै नुन, मर्करी, धुँवा, तामा, कार्वन, निलो मुगा, फलाम, रातो मुगा, मोती, सुनर चाँदी औषधी निर्माण गर्दा प्रयोग गर्ने गरिएको छ । अर्को बढी प्रयोगमा आउने वस्तु सिलाजित हो । मर्करी (पारो) का बारेमा भने विभिन्न अनुसन्धान भइरहेका छन् ।

जीवजन्तुमा आधारित औषधीय प्रणाली : सोवा रिग्पा प्रणालीमा ३८ प्रकारका जनावरका विभिन्न अङ्गहरूलाई औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । तीमध्ये छ प्रकारका घरपालुवा र अन्यजंगली जनावर पर्दछन् । धेरैजसो जङ्गली जनावरहरू स्तनधारी छन् । यिनीहरूका १७ किसिमका अङ्गहरूबाट सोवा रिग्पामा प्रयोग हुने औषधी निर्माण गर्ने गरिन्छ । जस्तै सिङ, मासु, हाड र पित्त हुन् । भालुको पित्त, जरायोको सिङ, हात्तिको पित्त, कस्तुरी, जङ्गली याकको रगत आदी निकै बढी प्रयोग हुन्छन् । हात्तिको पित्त र जङ्गली याकको रगत पाउन असहज भएका कारणले विकल्पमा घरपालुवा चौंरीको रगत वा अन्य जडिबुटीबाट आम्चीहरूले औषधी तयार गर्दछन् । नेपालमै यस्ता जनावरका अङ्गहरू पाउन कठिन भएकाले आम्चीहरूले तिब्बत र चीनका विभिन्न ठाउँबाट झिकाएर भए पनि औक्षधी बनाउने गरिएको कुरा डा. तेन्जिङ धार्के गुरु बताउनुहुन्छ ।

सोवा रिग्पा उपचार पद्धतिमा उपचारमा प्रयोगमा आउने ४३ प्रकारका जडिबुटीजन्य वनस्पति, १९ प्रकारका जनावरहरू विश्वव्यापी रुपमा नै लोपोन्मुख अवस्थामा रहेका छन् । ती जनावहरू र जडिबुटीहरू आइयुसिएनको रातो सूचीमा, साइटिसको अनुसुचीमा र सरकारको संरक्षित सूचीमा परेका छन् । त्यसैले आम्चीहरूले दुर्लभ एवं जोखिममा रहेका ५९ प्रकारका जडिबुटी एवं जीवजन्तुहरूका अङ्गहरू र खनिज पदार्थको विकल्पमा स्थानीय स्तरमा सहज रुपमा उपलब्ध हुनसक्ने. वस्तुहरूबाट अनुसन्धान गरी औषधीको निर्माण गर्न थालेका छन् । यसका लागि एउटा जनावरको सट्टामा अर्को उस्तै जनावर वा अन्य, जडिबुटीको सट्टा अर्को जडिबुटी, जडिबुटी वा जनावरको सट्टामा खनिज तथा खनिजको सट्टामा जनावर वा जडिबुटी प्रयोग गर्न सकिने आम्ची गुरुङ बताउँछन् ।

आम्चीहरूले विरामीलाई भेटेपछि निम्न अनुसारका तरिकाबाट उपचारको थालनी गर्दछन् :

१. सोधखोज : रोग निदानबारे तिब्बति विधिमा विरामीको स्वास्थ्यका बारेमा सम्पूर्ण रुपमा थाहा पाउन उसके लाइफ हिस्ट्री जान्नु आम्चीका निमित्त निकै महत्वपूर्ण मानिन्छ । त्यसकारण गहन सोधखोज गरेर मात्र उपचार सुरु गरिन्छ ।

२. बाह्य परीक्षण : सोधखोज पछि आम्चीले विरामीका शारीरका विभिन्न अङ्गको जस्तै अहाँखाम, जिब्रो, पिसाव, आदिको परीक्षण गर्दछन् र त्यसको रिपोर्टका आधारमा रोग पत्ता लाग्दछ ।

३. अन्य परीक्षण : यसमा विरामीको शरीरको तापक्रमको घटबढ र विभिन्न अङ्गहरूको तत्कालीन अवस्था हेरिन्छ जसमा सुन्निएको, इन्फेक्सन भएको वा अन्य पर्दछ । नाडीको गति पनि हेरिन्छ र धेरै कुराको जानकारी पाउँछन् । आम्चीले विरामीसँगको अन्तरक्रिया र परीक्षणबाट रोग निक्र्यौल (पहिचान) भएपछि आम्चीहरूले विरामीलाई निम्न अनुसारका औषघोपचार एवम् थेरामी गराउन सल्लाह दिने गर्दछन् ।

(क) उपयुक्त आहार : उपयुक्त खानपिन आहार-विहार नै रोगको पहिलो उपचार भएको हुनाले विरामीलाई उपयुक्त, पथ्य सानपिनमा ध्यान दिन जोड दिइन्छ । जस्तै- पित्त थैलीको रोग लागेकोमा विरामीलाई मध्यपान बर्जित गरिन्छ । चिसो पानीको सट्टामा उमालेर सेलाएको पानी पिउन सुझाव दिइन्छ ।

(ख) व्यवहारमा परिवर्तन : रोगको प्रकृति अनुसार रोगीलाई आफ्नो आनीबानीमा परिवक्व गर्ने सल्लाह दिइन्छ । यदि रक्तचापको समस्या भए रोगीलाई चिल्लो, नुन चर्को, पिरो खान बर्जित गरिन्छ । अन्य रोग भए सोही अनुसारको उचित सल्लाह दिइन्छ । कडा खाले परिश्रम गर्नु नहुने भए आराम गर्न लगाइन्छ । दिउँसो सुत्ने बानी भएमा निजलाई दिउँसो सुत्न बर्जित गरिन्छ ।

(ग) औषघोपचार : विरामीको रोग पत्ता लागिसकेपछि सोही अनुसारको औषधी सेवन गराइन्छ । विरामीलाई प्राकृतिक खनिज एवं माथि विवेचना गरिएअनुसारका जडिबुटीजन्य औषधीहरू सेवन गराइन्छ । माथि उल्लेख भए अनुसारका चार तन्त्र (घ्युसी) ज्ञानका आधारमा औषधीलाई आठ प्रकारमा विभक्त गरिए अनुरुपकै औषधोपचार गरिन्छ ।

(घ) शारीरिक व्यायाम (थेरापी) : यसमा आम्चीहरूले औषधीबाहेक नै पनि विभिन्न प्रकारका प्राकृतिक थेरापी (व्यायाम) अवलम्बन गराएर उपचार गर्दछन् । यसमा मसाज गर्ने, तातोले सेक्ने, चिसोले सेक्ने वा हलुका गरी डाम्ने, तातोपानीको कुण्डमा डुबाउने, हात गोडा तलमाथि उचाल्ने र अगाडि पछाडि लैजाने बटार्ने आहदि विधिहरू यस अन्तर्गत गर्दछन् ।

उपचार हुने रोगहरू : सोवा रिग्पा उपचार पद्धतिमा प्रायः सबै प्रकारका रोगहरूको उपचार हुने हुन्छ । यस विधिमा खासगरी केही रोगहरूको उपचार अत्यन्तै प्रभावशाली मानिन्छ । पुरानो बाथ, कमलपत्ति (जण्डिस), यौनरोग पैताला पोल्ने, शरीर झम्झाउने, अनावश्यक डर लाग्ने, मुटु हल्लिने, हेपाटाइटिस, निद्रामा बोल्ने वा बर्बराउने, पुरानो दम, खोकी, उच्च रक्तचाप न्यून रक्तचाप, चिनी रोग, छारे रोग, कलेजोको रोग, ग्याष्ट्रिक, महिनावारीमा गडबढी, पिनास, नसा सम्बन्धी रोग, प्यारालाइसिस, युरिक एसिड, अनिद्रा, माइग्रेन, हेडेक (टाउको दुख्ने) टन्सिलाइटीस, थाइराइड, किड्नीको पत्थरी , पित्त थैलीको पत्थरी, पिसाव थैलीको पत्थरी, हर्नियाँ, कोलेस्ट्रोल, भित्री ज्वरो, मांशपेसी फुर्ने वा फुर्फराउने, हातगोडा मर्केको स्तनको अल्सर, स्तनको क्यान्सरलगायत अन्य क्यान्सर आदि रोगको प्रभावकारी रुपमा उपचार हुने गर्दछ ।

प्रस्तुति : टंकमणि निरौला

(स्रोत : सोवा रिग्पा उपचार पद्धति)