नेपालका एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको विषयमा अध्ययन हुने

नेपालका एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको विषयमा अध्ययन हुने


  • सन्जिव दुलाल, भक्तपुर

एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ ।

चाँगुनारायण नगरपालिका-३ झौखेलस्थित ‘सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्र’ले नेपालका विभिन्न २२ जिल्लाका एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिला तथा युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको विषयमा अनुसन्धान गर्न लागेको हो ।

सुरुवातले नेपालका ७ वटै प्रदेश समेट्ने गरी २२ जिल्लाका १६ देखि ४५ वर्ष उमेरका आदिवासी जनजाति महिलाबारे अनुसन्धान गर्ने भएको छ ।

नेपालमा एचआइभी एड्सको क्षेत्रमा धेरै अध्ययन अनुसन्धान भए पनि आदिवासी जनजातिको क्षेत्रमा अहिलेसम्म कुनै अध्ययन नभएको सुरुवातका कार्यकारी प्रमुख राजेश दिदियाले जानकारी दिए । उनका अनुसार एक त आदिवासी जनजाति भनेपछि त्यसै पनि पिछडिएका वर्गमा पर्छन्, त्यसमाथि एचआइभी एड्स सङ्क्रमित भएका महिलाहरूको अवस्था कस्तो होला, यो हाम्रो कल्पनाभन्दा पनि बाहिरको कुरा हो ।

नेपाली परिवेशमा उच्च घरानाकाहरुलाई नै पनि एचआइभी एड्स सङ्क्रमित भएको भन्ने थाहा भएमा समाजदेखि स्वास्थ्य संस्थासम्मलाई गरिने व्यवहार राम्रो छैन भने आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषय कस्तो होला, आनुमान गर्न कठिन छ ।

‘हामीले विगत दुई वर्ष देखि नै यो विषयमा अध्ययन गर्दै आएका छौँ । हामीले अध्ययनको पहिलो फेजका रूपमा सरकारी तवरका डाटा तथा विभिन्न जर्नलहरूको अध्ययन गर्ने काम गर्‍यो तर आदिवासी जनजाति महिलाहरूको विषयमा कुनै जानकारी पाउन सकेको अवस्था भने छैन ।’

अब सुरुवातले सात प्रदेशमा प्रत्येक प्रदेशका हिमाल पहाड तराई गरी तीन तीन जिल्ला गरी २१ जिल्ला र काठमाडौं सबैको केन्द्र भएका कारण यो समेत थप गरी २२ जिल्लाका आदिवासी जनजाति महिलाको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन गर्न लागेको दिदियाले जानकारी दिइन् । यस्तै अनुसन्धानपछि सङ्क्रमित महिला तथा युवतीको लागि उपचार तथा पुनः स्थापनाका कार्यक्रम अघि बढाउने उनको भनाइ छ । एचआइभी एड्स सङ्क्रमण भएर एन्टी रेट्रोभाइरल थेरापी (एआरटी)मा सूचीकृत महिला तथा युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अन्य अधिकारको अवस्था पहिचान गर्ने उद्देश्यले उक्त अनुसन्धान गर्न लागेको दिदियाले बताइन् ।

उनका अनुसार उक्त अनुसन्धान प्रतिवेदनको आधारमा एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिला तथा युवतीलक्षित कार्यक्रमसमेत अघि बढाइने र सो कार्य क्यानडास्थित कम्युनिटिज एलाइन्स एन्ड नेटवर्क (क्यान)को सहयोगमा हुनेछ ।

एचआइभी सङ्क्रमित भइसकेपछि यौन तथा प्रजनन स्वास्थ्यको सवालमा अध्ययन नेपालमा भएको छैन जसका कारण उनीहरूलाई के आवश्यक छ भन्ने विषयमा पनि कसैलाई केही थाहा छैन, सोही कुरा उजागर गर्न आदिवासी जनजाति महिलाहरूको सवालमा अध्ययन गर्न लागेको सुरुवातका कार्यक्रम अधिकृत अनुप अधिकारीले जानकारी दिए । उनका अनुसार अध्ययनको मुख्य उद्देश्य भनेको नै मानिस यौनिक प्राणी हो एचआइभी एड्स सङ्क्रमित भए पनि उनीहरूको यौनिक इच्छा तथा अवस्था के छ भन्ने विषयमा क्वालिटेटिभ स्टडी गर्ने हो । उनले अनुसन्धानले समग्र एचआइभी सङ्क्रमित महिला, युवती र बालिकालाई समेट्ने बताए ।

अध्ययन एचआइभी संक्रमति आदिवासी तथा जनजाति महिला र युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्यको अवस्था उजागर गर्ने उद्देश्यका साथ हुन लागेको छ । यस्तो अनुसन्धान नेपालसँगै भारत, क्यानडा, पेरु, ग्वाटेमाला, नाइजेरिया र न्युजिल्याण्डमा एकै पटक सुरु हुन लागेको हो ।