यो वर्ष खाद्यसङ्कट नहुने दाबी

यो वर्ष खाद्यसङ्कट नहुने दाबी


४२ हजार मेट्रिक टन धान किन्यो ‘खाद्य’ले

  • सुरेन्द्र सुवेदी, काठमाडौं

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन जातका धान खरिद गरिरहेको छ । कृषकबाट तोकिएको न्यूनतम खरिद मूल्यमा कात्तिक दोश्रो सातादेखि धमाधम धान खरिद गरिरहेको कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले बताइन् । उनका अनुसार यो वर्ष ५० हजार २ सय मेट्रिकटन धान खरिद गर्ने लक्ष्यअनुसार साढे ४१ हजार मेट्रिक टन धान खरिद भइसकेको छ ।

विगत वर्षहरूमा समयमा नै धान नकिन्दा खाद्यले लक्ष्यअनुसार धान खरिद गर्न पाएको थिएन । यो वर्ष भने समयमै धानको न्यूनतम मूल्य निर्धारण गरिएको र धान खरिद गर्न व्यवस्थापनले चासो देखाएपछि लक्ष्यअनुसार धान खरिद हुने देखिन्छ ।

कम्पनीकी प्रवक्ता सुवेदीका अनुसार कम्पनीका क्षेत्रिय र शाखा कार्यालयहरूले धमाधम धान खरिद गरिरहेका छन् । आजसम्म महेन्द्रनगरबाट मोटा धान २ हजार ६ सय ९ क्वीण्टल, धनगढीबाट १८ हजार ५ सय ८ क्वीण्टल, राजापुरबाट मोटा १४ हजार ७ सय ४, सोना मनसुली ७४ र मकवानपुर मनसुली ९ सय ३० क्वीण्टल खरिद गरिएको छ । नेपालगञ्जबाट मोटा ७ सय ८० क्वीण्टल र सोना मनसुली ३ हजार ८ सय ७६ क्वीण्टल खरिद गरिएको प्रवक्ता सुवेदीले जानकारी दिइन् ।

गत वर्ष ४१ करोड १९ लाख रुपैयाँको १३ हजार ४ सय मेट्रिक टन धान खरिद गरेको कम्पनीले यो वर्ष १ अर्ब ७४ करोड रुपैयाँको खरिद गर्ने लक्ष्य लिएको छ । कम्पनीले खरिद गरेको धान कुटानी गरेर खाद्यसंकट हुने क्षेत्रमा पठाउने गर्छ ।

माघ/फागुनदेखि उत्पादन कम हुने हिमाली र पहाडी जिल्ला अर्थात् खाद्यसंकट हुने प्रायः पश्चिम र उच्च हिमाली क्षेत्रमा खाद्यले नै सहुलियत मूल्यमा चामल बिक्री गर्दै आएको छ । सरकारले ढुवानीमा दिएको अनुदानका कारण पश्चिमका विकट स्थानमा सस्तो मूल्यमा चामल बिक्री गरिँदै आएको छ । खच्चड, गधालाई बोकाएर चामल ढुवानी गर्नुपर्दा ढुवानी भाडा बढी हुन्छ । जसकारण सरकारले ढुवानीमा अनुदान दिने गरेको छ ।

खाद्यले आपत/विपद्को समयमा खाद्यान्न सहज र सुलभ रूपमा नियमित आपूर्ति गर्न चामलको मौज्दात राख्ने गरेको छ । मोटा र मध्यम धान (सोना मनसुली) को समर्थन मूल्य सरकारले तोक्ने गर्छ । अन्य जातको धानको मूल्य जिल्लास्थित प्राथमिक खरिद समितिले तोक्छ ।

अहिले मोटा धान प्रतिक्वीण्टल ३ हजार १ सय ९८, सोना मनसुली ३ हजार ३ सय ६२ र मकवानपुर मनसुली प्रतिक्वीण्टल ३ हजार ५ सय रुपैयाँमा खरिद भइरहेको छ । समयमै र लक्ष्यअनुसार धान खरिद गरिएकोले यो वर्ष देशमा खाद्य सङ्कट नहुने कम्पनीले जनाएको छ ।