इजराइल द्वन्द्व ‘सदाका लागि’ समाधान गर्न मस्कोद्वारा राष्ट्रसङ्घीय सम्मेलनको आह्वान

इजराइल द्वन्द्व ‘सदाका लागि’ समाधान गर्न मस्कोद्वारा राष्ट्रसङ्घीय सम्मेलनको आह्वान


रुसी विदेशमन्त्री सर्गेई लाभारोभले इजराइल र प्यालेस्टिनीहरूबीचको युद्धको दिगो समाधान खोज्न अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग आह्वान गरेका छन् ।

मस्कोले बारम्बार प्यालेस्टिनी राज्य निर्माणको आह्वान गरेको छ र उसको हमास तथा इजराइल दुवैसँग कामकाजी सम्बन्ध छ । मस्कोले हमासलाई आतङ्कवादी सङ्गठनको मान्यता दिएको छैन ।

रुसी विदेशमन्त्री लाभारोभले रुसी सिनेटरहरूसँग भनेका छन्, ‘यो समस्याको सदाका लागि समाधान गर्ने र न्यायसङ्गत तरिकाले समाधान गर्ने एक मात्र तरिका भनेको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सबै पाँच स्थायी सदस्यसँग एउटा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्नु हो ।’

उनले सम्मेलनमा अरब लिग, इस्लामिक सहयोग सङ्गठन र खाडी सहयोग परिषद्का मुलुकहरूको प्रतिनिधि सहभागी हुनुपर्ने उल्लेख गर्दै भने, ‘राष्ट्रसङ्घले यस्तो प्रकारको सम्मेलन आयोजना गर्नका लागि अग्रणी भूमिका निर्वाह गर्नुपर्छ’, मन्त्री लाभारोभले भन्नुभयो, ‘राष्ट्रसङ्घका महासचिव यस्तो प्रकारको पहलका लागि अत्यन्त सक्षम हुनुुहुन्छ भन्ने मलाई विश्वास छ ।’

राष्ट्रसङ्घीय सुरक्षा परिषद्का स्थायी सदस्यमा चीन, फ्रान्स, बेलायत, अमेरिका र रुस रहेका छन् । “प्यालेस्टाइन राज्य निर्माणको वाचा दिइएका प्यालेस्टिनी जनताविरुद्ध जारी अन्यायले धेरै गम्भीर आतङ्कवादी र चरमपन्थी भावनालाई प्रवर्द्धन गर्दछ”, उनको भनाइ छ ।

मन्त्री लाभारोभले अक्टोबरमा इजराइलमा अभूतपूर्व आक्रमण गर्दा हमासले बन्धक बनाएका बन्धकहरूको रिहाइका लागि मस्कोले आफ्नो शक्तिका साथ सबै गरिरहेको पनि स्पष्ट गर्नुभयो । हमासले हालैका सातामा तीन रुसी नागरिकलाई रिहा गरेको छ । उक्त रिहाइ इजराइलसँग हमासले गरेको सम्झौताअनुसार रिहाइ गर्नुपर्ने बन्धकहरूको सूचीबाट बाहिर थियो ।

गाजामा इजराइलको सैन्य कारबाहीका क्रममा रुसले उसको आलोचना गरिरहेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विनाशकारी’ मानवीय स्थितिको निन्दा गरेका छन् ।

इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासका बन्दुकधारीहरूले इजराइलमाथि आक्रमण गरेपछि अहिलेसम्मको सबैभन्दा रक्तपातपूर्ण युद्ध सुरु भएको छ । हमासको आक्रमणमा अधिकांश सर्वासाधारणसहित करिब एक हजार दुई सयको ज्यान गएको छ भने हमासले करिब दुई सय ४० मानिसलाई बन्धक बनाएको छ ।

हमासलाई समाप्त पार्न र बन्धकहरूलाई घर फर्काउनका लागि दृढ सङ्कल्पित इजराइलले गाजामाथि विनाशकारी हवाई तथा स्थल आक्रमण गरेको छ । इजराइलको आक्रमणमा अधिकांश महिला र बालबालिकासहित १८ हजार चार सयभन्दा धेरै मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।