गाजा युद्दमा ६३ पत्रकार मारिएको ‘सिपिजे’को दाबी

गाजा युद्दमा ६३ पत्रकार मारिएको ‘सिपिजे’को दाबी


गाजामा जारी हमास-इजरायलको हालसम्म युद्धमा ६३ जना सञ्चारकर्मी मारिएका छन् ।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे)ले संकलन गरेको तथ्याङ्कअनुसार अक्टोबर ७ यता कम्तिमा ५६ प्यालेस्टिनी, चार इजरायली र तीन लेबनानी पत्रकार तथा सञ्चारकर्मी मारिएका छन् ।

जुन युद्धमा ११ जना पत्रकार घाइते भएको, तीन बेपत्ता र १९ जना पक्राउ परेको पनि सो संस्थाले जनाएको छ ।

साथै, पत्रकारहरूमाथि धेरै आक्रमण भएको, धम्की दिइएको, साइबर आक्रमण गरेको, सेन्सरशिप र उनीहरूको परिवारका सदस्यहरूको हत्या भएको तथ्यांक सार्वजनिक भएको छ । इजरायली आक्रमणमा अल जजिरामा कार्यरत मात्रै कम्तीमा चार पत्रकारले आफन्त गुमाएका छन् ।

सिपिजेको मध्यपूर्व र उत्तर अफ्रिका कार्यक्रम संयोजक शेरिफ मन्सुरले भनेका छन्, ‘सीपीजेले पत्रकारहरू संकटको समयमा महत्त्वपूर्ण काम गर्ने नागरिकहरू हुन् र युद्धरत पक्षहरूद्वारा लक्षित हुनु हुँदैन भन्ने कुरामा जोड दिन्छ।’

‘यस हृदयविदारक द्वन्द्वलाई कभर गर्नका लागि संसारभरका पत्रकारहरूले ठूलो त्याग गरिरहेका छन् । गाजामा भएकाहरूले विशेषगरी धेरै मेहनत गरेका छन् र, उनीहरूले सत्य तथ्य बाहिर ल्याउनका लागि अझै पनि मेहनत जारी राखेका छन्,’ उनले अगाडी भनेका छन्, ‘एक अभूतपूर्व असुरक्षाका बीचमा घातीय धम्कीहरू सामना गरिरहेका छन्, धेरैले सहकर्मी, परिवार र मिडियासुविधाहरू गुमाएका छन् अनि कुनै सुरक्षित आश्रय वा बाहिर निस्किँदा सुरक्षा खोज्दै भागेका छन् ।’