संगठित रूप लिँदै साइबर अपराध

संगठित रूप लिँदै साइबर अपराध


  • सुरेन्द्र सुवेदी

नेपालमा ‘साइबर क्राइम’ले भयावह रूप लिन थालेको छ । सामाजिक सञ्जालमार्फत संगठित रूपमै ह्याकदेखि लिएर आर्थिक ठगीले चरम रूप लिन थालेको महसूस धेरैले गर्न थालेका छन् ।

सूचना र प्रविधिमा स्नातक गरिरहेका सुजन सुवेदीका अनुसार सामाजिक सञ्जाल ह्याक गर्ने चलन इन्टरनेट सुरुसँगै भएको पाइन्छ । पिसिङ, डि डस एट्याक्ट, पासपोर्ट एट्याक्ट, ब्रुड फोर्स एट्याक्टसमेत दर्जनौँबाट ह्याकिङ हुने गरेको सुवेदीले घटना र विचारलाई बताए ।

चितवन–१० का चतुरमान महतोले एक महिलालाई ब्याकमेल गरे । वैवाहिक जीवन बिताइरहेकी ती महिला प्रहरीको साइबर क्राइम ब्युरो पुगिन् । महतोले ती महिलाका श्रीमान्लाई फोटोसपमा गएर अश्लील तस्बिरहरू पठाउन थाले । अन्ततः ब्युरोले महतोलाई पक्राउ गरेको छ ।

यो एक उदाहरणमात्र हो । अहिले देशमा भएका साइबर अपराधका झण्डै २ सय उजुरी प्रहरीसम्म पुग्छन् । साइबर ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवीन्द्र अर्यालका अनुसार टिकटक बन्दपछि फेसबुकबाट बढी अपराध हुन थालेका छन् । उनले भने, ‘फेसबुक, युट्युव, म्यासेन्जर, ह्वाट्स एपजस्ता सामाजिक सञ्जालबाट सङ्गठित रूपमै अपराध भइरहेको पाइन्छ ।

संसारमै साइबर क्राइम गर्न उत्तम भूमि नेपाललाई मानिन्छ । अमेरिकनदेखि भारतीय, चाइनिजहरू सूचना र प्रविधिमा दक्ष भएका कारण नेपालमा बसेर साइबर अपराध गर्दै आएका र उनीहरूसँग भएको प्रविधिको नेपालजस्तो देशमा आर्थिकदेखि सूचना र प्रविधि चोर्ने गरेको ‘आइटी’का विद्यार्थी सुवेदीले बताए ।

विगतमा चिनजान भएका व्यक्तिहरूका साइट ह्याक गर्ने चलन थियो । र, बैंकका साइटहरू पनि ह्याक हुने गरेका थिए । अहिले भने संगठित रूपमै अमेरिकादेखि भारत, नेपाल र चाइनिजहरूले ह्याक गर्दै ठूलो रकम हात पार्ने गरिरहेको पाइन्छ ।

विदेशी सूचना र प्रविधिमा विज्ञहरूले नेपालका ठूला कम्पनी, बैंकहरूका खाता ह्याक गर्ने र कम्प्युटर नै जाम बनाएर ब्ल्याकमेल गर्नेसम्मका काम भइरहेका छन् । यस्ता ह्याक रोक्न देशमा सूचना र प्रविधिको ठूलो विकास गर्नु र दक्ष जनशक्ति उत्पादन नै पहिलो प्राथमिकता भएको साइबर क्राइमका जानकार भक्तपुरका सौजन न्यौपाने बताउँछन् ।

पछिल्लो समय ‘तपाईंलाई चिठ्ठा परेको छ’ भन्दै एयरपोर्टमा सामान छुटाउन भन्सार तिर्नु पर्छजस्ता बहाना बनाएर पनि ठगी भइरहेको साइबर ब्युरोका एसपी तथा प्रवक्ता पशुपति राय बताउँछन् । उनका अनुसार दैनिक २ सय मुद्धा आउने र त्यसरी आएका मुद्धामध्ये करिव आधाजति समाधान भइसकेका छन् । साइबर ब्युरोले ३८ वटा त मुद्धा अदालतमै दर्ता गरिसकेको छ । फेसबुक, ट्वीटरमा नक्कली आइडी बनाएर ठगी गर्ने बढी पाइएको छ । फेसबुकको नेपालमा कार्यालय नभएका कारण नक्कली आइडीहरू बन्द गराउनदेखि फेसबुुकसँग सहकार्य गर्न पनि समस्या भइरहको प्रवक्ता रायले घटना र विचारलाई बताए ।

विवाह गर्नेदेखि सस्तोमा सामान दिनेजस्ता प्रलोभन देखाएर पनि ठगी हुने गरेका छन् । यस्ता ठगी रोक्न दक्ष जनशक्ति उत्पादन गर्नुको विकल्प नभएको साइबर अपराधका जानकारहरूको भनाइ छ ।