नेपाल प्रहरीको ‘मुटु’ : जसको नाम कहिल्यै आउन्न !

नेपाल प्रहरीको ‘मुटु’ : जसको नाम कहिल्यै आउन्न !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपाल प्रहरीमा एउटा अलग्गै ब्युरो छ । जसलाई सामान्य नेपालीले चिनेका पनि छैनन् र, उसले के काम गर्छ– त्यो पनि सार्वजनिक तवरमा थाहा छैन । यो ब्युरो नभएको भए देशमा भएका ठूला र देशकै लागि घातक कामहरू रोक्ने अर्काे कुनै माध्यम हुने थिएन ।

हो, यो अङ्कमा हामी प्रहरीभित्रकै यो ब्युरोको विषयमा केही चर्चा गर्ने जमर्काे गरेका छौँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६० किलो सुन बरामद भयो । केही पक्राउ परे र हिरासतमा पनि छन् । त्यो सुन भन्सारका कर्मचारीले विमानस्थल पार गरेपछि भन्सारका कर्मचारीले नियन्त्रणमा लिए, भनेर प्रचार भयो । तर, त्यसमा शुन्य प्रतिशत पनि सत्यता छैन । किनकि, त्यो काम त प्रहरीभित्र नै रहेको एक ब्युरोले गरेको थियो ।

चितवनमा गैंडा मारिनु र गैंडाको खाग तस्करी गर्ने समूह पटक–पटक पक्राउ पर्छ र जेल चलान हुन्छ । ती र त्यस्ता सयौँ काम त्यही ब्युरोले गर्दै आएको छ । हो, त्यो ब्युरो भनेकै विशेष ब्युरो हो । प्रहरी महानिरीक्षकको सोझो नियन्त्रणमा रहने त्यो ब्युरोले देशमा भएका अपराध र अपराधमा संलग्नहरुलाई नियन्त्रणमा ल्याएर कानूनी कारवाही अघि बढाउन मूख्य भूमिका निर्वाह गर्छ ।

अचम्म त… ब्युरोले गरेको काम कसैको पनि जानकारीमा हुन्न ! राजधानी र आवश्यकता पर्दा राजधानीबाहिर पनि गोप्य रूपमा कोठाहरू भाडामा लिएर आफ्नो ‘मिसन’मा ब्युरो खटिएको हुन्छ । ती अस्थायीरूपमा लिएका कोठामा बसेर प्रहरीका दक्ष अधिृकृतहरुले काम गरिरहन्छन् । र, ती प्रहरीबीच पनि को, कहाँ र कुन प्रयोजनमा खटिएको छ भन्ने जानकारी हुन्न ।

राजधानीमा मात्र यस्ता अपराधिक क्रियाकलाप गर्ने समूहलाई कानूनी दायरामा ल्याउन झण्डै दर्जनको अलग–अलग टिम परिचालित हुन्छ । टिमको नेता प्रहरी नायव महानिरीक्षक (डिआइजी) हुन्छन् भने उनको मातहतमा अनुसन्धानमा दक्ष अधिकृतहरू रहने गरेको ब्युरो श्रोत जनाउँछ ।

श्रोतका अनुसार नक्कली भूटानी शरणार्थी प्रकरणदेखि न्युरोडमा सुन गाल्ने कारखानासमेतको कारवाही गर्ने प्रहरीको अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरो, मानव बेचबिखन ब्युरो, साइबर ब्युरोजस्ताको नाम आउँछ । तर, त्यसमा विश्वास नगरे हुन्छ । त्यसमा मुख्य काम भने विशेष ब्युरोले नै गरेको हुन्छ ।

ब्युरोले आपराधिक समूह र त्यसमा आवद्ध भएका व्यक्तिलाई सप्रमाण नियन्त्रणमा लिएर ‘खुसुक्क’ त्यस्तो अपराधको अनुसन्धान गर्ने निकायमा बुझाउँछ । निजी नम्बर प्लेटको गाडीमा अपराधीहरूलाई राखेर आफ्नै मातहतको शाखा, ब्युरोका प्रायः मुद्धा फाँटका डिएसपीलाई त्यस्ता र ती व्यक्ति बुझाएर ब्युरोका प्रहरी अधिकृत फर्कन्छन् । अनि जिम्मा बुझ्ने कार्यालयले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छन् । त्यसमा विशेष ब्युरोको नाम कहीँ र कतै पनि आउन्न ।

देशमा भएका ठूला घोटलादेखि आपराधिक गतिविधि नियन्त्रण गर्ने विशेष ब्युरोका प्रहरीलाई थप कुनै सुविधा भने दिइएको छैन । त्यसैले उनीहरू त्यहाँ रहन भने चाँहदैनन् । ‘त्यसतर्फ कसैले चासो नै दिएको पाइन्न’, ब्युरोमा खटिएका एक प्रहरी अधिकृतले घटना र विचारसित गुनासो सुनाए ।