‘इण्डोमेट्रिओमा’ भएकी युवतीको सफल शल्यक्रिया

‘इण्डोमेट्रिओमा’ भएकी युवतीको सफल शल्यक्रिया


नेशनल मेडिकल कलेज वीरगञ्जमा एक १९ वर्षीय युवतीको डिम्बासयमा पलाएको सिस्ट दुरबिन प्रविधिबाट शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ । महिनाबारी गडबड भएर जम्मा भएर बनेको रगत र पानी जमेको सिस्ट (इण्डोमेट्रिओमा) लाई दुरबिन प्रविधि (ल्याप्रोस्कोपी) बाट निकालिएको हो ।

कलेजका चिकित्सक डा. प्रविण शाह, डा. रुवी श्रेष्ठ, रेजिडेन्ट डा. सरोज यादव, डा.स्नेहा श्रेष्ठको टीमले लामो समयदेखि इण्डोमेट्रिओमाबाट पिडित युवतीको उपचार गरेको हो । कलैया घर भएकी ती युवती लामो समयदेखि अनियमित महिनाबारी हुने तथा महिनाबारीका समयमा अत्याधिक पेट दुख्ने समस्याबाट पिडित थिइन् । उनी ५ महिनाअगाडि नै नेशनल मेडिकल कलेजमा उपचारका लागि आएपनि काठमाडौंमा समेत गएर स्वास्थ्य जाँच गराउँदा अप्रेसन गर्न सल्लाह दिइएको थियो । त्यसपछि उनी नेशनल मेडिकल कलेजमै गएर सोको उपचार गरेकी हुन् ।

‘हामीले तीन वटा प्वाल पारेर ८ दशमलव ८ सेमीको सिस्ट निकाल्यौँ ।’ शल्यक्रियामा संलग्न डा. प्रविण साहले बताए । अप्रेसनमा कलेजका एनेस्थेसियाका डा.असिम गौडेल, रेजिडेन्ट डा.मेलिना असप्रित तथा ओटी स्टाफ इब्राहिम अन्सारीले सहयोग गरेका थिए ।

कुनैपनि महिलाहरुमा अनियमित महिनाबारी छ, महिनाबारी हुँदा अत्याधिक पेट दुख्न भने डिम्बासयमा इण्डोमेट्रिओमाको जोखिम हुन्छ । ‘महिनाबारी हुँदा अत्याधिक पेट दुखिरहन्छ, महिनाबारी गडबड छ भने दुखाई कम गर्ने औषधीमात्र खाएर बस्नु हुँदैन । विशेषज्ञ डाक्टरलाई देखाउनु पर्छ ।’ अनियमित महिनाबारी हुने सय जना महिनाहरुमा १० प्रतिशतलाई इण्डोमेट्रोमाको जोखिम हुने डा. साहले बताए ।