रुसनियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणमा एकको मृत्यु, दुई जना घाइते

रुसनियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणमा एकको मृत्यु, दुई जना घाइते


रुसनियन्त्रित क्रिमियाली बन्दरगाह शहर फियोडोसियामा मङ्गलबार भएको युक्रेनी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको सो क्षेत्रका गभर्नरले जानकारी दिएका छन् ।

‘दुर्भाग्यवश, फिओडोसियामा शत्रुको आक्रमणमा परी एक जना व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्’, सर्गेई अक्स्योनोभले टेलिग्राममा उल्लेख गरेका छन् । आक्रमणबाट ६ वटा भवनहरू क्षतिग्रस्त भएको र त्यहाँका बासिन्दाहरूलाई अन्यत्र सारिएको जनाइएको छ ।

युक्रेनको वायुसेनाले मङ्गलबार मस्कोको कीभ विरुद्धको युद्धमा ड्रोन बोकेको आशंकामा फिओडोसिया नजिकै रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ। अक्स्योनोभले जनाएअनुसार ‘बन्दरगाह क्षेत्र घेराबन्दी गरिएको छ ।’

युक्रेनले बारम्बार क्रिमियामा विशेषगरी रुसी सेनालाई लक्षित गरी हमला गरिरहेको छ ।

यसैक्रममा युक्रेनको वायुसेनाले मस्कोको कीभविरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको दाबी गरेको छ। वायुसेनाको रणनीतिक उड्डयनले फिओडोसिया क्षेत्रमा रूसी संघको ब्ल्याक सी फ्लीटको नोभोचेर्कस्क जहाजलाई क्रुज मिसाइलले आक्रमण गरेको युक्रेनको दाबी छ ।

फिओडोसिया रूसी नौसेनाको कब्जा गरिएको क्रिमियन प्रायद्वीपस्थित आधार शिविर हो। एएफपीका अनुसार सो विमान रुसले युक्रेनका विरुद्ध नियमित रूपमा प्रयोग गर्ने इरानी विस्फोटक ड्रोनसँग सम्बद्ध रहेको आशङ्का गरिएको छ ।