सुरक्षा निकायलाई समेत जानकारी नदिइ राजपरिवार एक्कासी बुटवलमा

सुरक्षा निकायलाई समेत जानकारी नदिइ राजपरिवार एक्कासी बुटवलमा


  • विशेष प्रतिनिधि, वुटवल

एक साता लामो भ्रमण कार्यतालिका लिएर रुपन्देही आउनुभएका पूर्व श्री ५ ज्ञानेन्द्र शाहले मंगलबार २ घण्टा लामो समय बुटवलको ड्रिम इन्टरनेशनल होटलमा बिताउनुभएको छ । लुम्बिनी प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण तालिकासहित सोमबार रुपन्देही आइपुग्नुभएका शाहले परिवारसहित बुटवल आएर समय बिताउनुभएको हो ।

यहाँका सुरक्षा निकायलाई समेत जानकारी नदिइ दिउँसो १२ बजे बुटवल आइपुग्नुभएका शाह परिवार २ बजेपछि मात्रै भैरहवा फर्केको थियो । भिडभाड र सुरक्षा झमेलाभन्दा टाढा रहेर शान्त वातावरणमा व्यतीत गर्ने चाहनाअनुसार यहाँका सुरक्षा निकायहरुलाई समेत जानकारी नदिइ उहाँहरु बुटवल आउनुभएको राजाको सचिवालयले जानकारी दियो । तथापि, राजा आएको आधा घण्टापछि यहाँका सुरक्षा निकाय खटिएको थियो ।

राजपरिवार दिउँसोको खाना खाएर पुनः भैरहवा प्रस्थान गरेको थियो । पूर्व श्री ५ ज्ञानेन्द्रले भैरहवालाई मुकाम बनाएर लुम्बिनी प्रदेशका रुपन्देहीका साथै कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाका धार्मिकस्थलको अवलोकन गर्ने बताइएको छ । उहाँको भ्रमण तालिका भने सार्वजनिक गरिएको छैन । उहाँहरु १९ गतेसम्म रहने जनाइएको छ ।