‘कतारले भारतका पूर्व नौसेना कर्मचारीहरूको मृत्युदण्ड सजाय घटायो’

‘कतारले भारतका पूर्व नौसेना कर्मचारीहरूको मृत्युदण्ड सजाय घटायो’


कतारले भारतका आठ पूर्व नौसेना कर्मचारीको सजाय घटाएको भारतको विदेश मन्त्रालयले जनाएको छ । उनीहरूलाई कथितरूपमा इजराइलका लागि जासुसी गरेको आरोपमा गिरफ्तार गरिएको थियो र, मृत्युदण्डको सजाय सुनाइएको थियो ।

पूर्व उच्चपदस्थ तथा सम्मानित अधिकारीसमेत रहेका आठ भारतीय नागरिकलाई सन् २०२२ अगस्टमा दोहामा गिरफ्तार गरिएको थियो । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार गिरफ्तार हुनेमा कुनै बेला युद्धपोतको कमान्ड सम्हाल्ने कप्तान पनि रहेका थिए ।

अक्टोबरमा कतारको अदालतले उनीहरूलाई मृत्युदण्डको सजाय सुनाएकोमा आफू ‘स्तब्ध’ भएको भारतको प्रतिक्रिया थियो । भारतको विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा थप विवरण उल्लेख नगरी सजाय घटाइएको जनाएको छ । कतारले उक्त मुद्दाका बारेमा कुनै टिप्पणी गरेको छैन र आरोपहरू सार्वजनिक गरिएको छैन ।

अदालतमा भारतका राजदूत तथा परिवारका सदस्य पुनरावेदनको सुनुवाइमा थिए भन्दै नयाँदिल्लीले भनेको छ, ‘सरकार कतारका अधिकारीहरूसँग मुद्दालाई उठाउन जारी राख्नेछ, मुद्दाको गोपनीय र संवेदनशील प्रकृतिका कारण थप टिप्पणी गर्नु उचित छैन ।’

विदेश मन्त्रालयको वेबसाइटअनुसार आठ पूर्वकर्मचारी खाडीस्थित कम्पनी अल दहराका कर्मचारी थिए । उक्त कम्पनीले एयरोस्पेस, सुरक्षा तथा रक्षा क्षेत्रमा ‘पूर्ण समर्थन समाधान’ प्रदान गर्दछ ।

दैनिक अखबार हिन्दूका अनुसार उनीहरूले ‘तेस्रो मुलुक’का लागि जासुसी गरिरहेका थिए । टाइम्स अफ इन्डियाले भनेको छ, ‘उनीहरूलाई इजराइलका लागि जासुसी गरेको आरोप लगाइएको विभिन्न रिपोर्टमा दाबी गरिएको छ ।’ इजराइल सरकारले उक्त मामिलामा कुनै प्रतिक्रिया दिएको छैन ।

हमासका लागि राजनीतिक ब्युरोको आतिथ्यता गर्ने तथा गाजालाई वित्तीय सहयोग गर्ने कतारलाई प्यालेस्टिनी सशस्त्र समूह हमास र इजराइलबीच बन्दीहरूको आदानप्रदानका लागि मध्यस्थता प्रयासहरूसँग जोडिएको छ ।