‘मेलम्चीको पानी माघ पहिलो साता काठमाडौं पुऱ्याउने दाबी

‘मेलम्चीको पानी माघ पहिलो साता काठमाडौं पुऱ्याउने दाबी


मेलम्चीको पानी आगामी माघको पहिलो साता काठमाडौं पुऱ्याइने खानेपानीमन्त्री महेन्द्रराय यादवले दाबी गरेका छन् ।

आयोजनाको मुहानस्थल सिन्धुपाल्चोकस्थित अम्बाथानको शुक्रबार अवलोकन गर्दै मन्त्री यादवले द्रुतगतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौं पुग्नेमा ढुक्क हुन उपत्यकावासीलाई आग्रह गरे । उनले आयोजनाका स्थानीय भण्डार, सप्लायर्सलगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले तीव्रगतिमा काम भइरहेकाले तोकिएकै मितिमा पानी उपत्यकामा पुग्ने जिकिर गरे ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सरकारको लक्ष्यअनुसार पानी पठाउने गरी काम भइरहेको जानकारी दिए । उनले अम्बाथानमा काम भइरहेको बताए । ‘दैनिक १६/१७ घण्टा काम भइरहेको छ’, उनले भनेका छन् ।

बताइएअनुसार दैनिक १७ करोड लिटरका दरले काठमाडौं उपत्यकामा पानी वितरण गर्ने सरकारको तयारी छ । क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिनेबित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने आयोजनाले जनाएको छ ।

मन्त्री यादवसँगै प्रदेशसभा सदस्य कौशल किशोर राय, खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, मेलम्ची खानेपानी विकास समितिका सदस्य विष्णुमणि आचार्यलगायतले आयोजनाको मुहानस्थलबारे जानकारी लिएका थिए ।

photo: rss