खेल डुबाउन प्रशिक्षकहरूकै घिनौनो खेल
नेपाली खेलकुद जुन रूपमा अगाडि बढ्नुपर्ने थियो त्यस्तो अहिलेसम्म हुन सकेको छैन । त्यस्तो हुन नसक्नुका पछाडि धेरै कारण हुन सक्छन् । समग्रमा भन्नुपर्दा कुनै पनि खेल र खेलाडीलाई कस्तो बनाउने भन्ने कुराको निर्धारण गर्ने जिम्मा सम्बन्धित खेलको प्रशिक्षकलाई नै जान्छ । तर, नेपालको सर्न्दर्भमा प्रशिक्षकले राष्ट्रिय खेलकुद परिषद्को जागिर खाने र पाएका अवसरहरूको सदुपयोग गरेर विदेश घुम्नेबाहेक अर्को केही पनि गरेको देखिँदैन । संसारका धेरै देशहरूको उदाहरण हेर्ने हो भने प्रशिक्षक भनेको एक निश्चित समयका लागि र निश्चित उद्देश्य पूर्तिका लागि नियुक्त हुन्छन् । तर, नेपाल विश्वका धेरै कम देशहरूमध्येमा पर्छ जहाँ प्रशिक्षक सरकारी तलब खाएर निवृत्त नहुन्जेलसम्म रंगशालाका चियापसल र चोकहरूमा घुमिरहेका हुन्छन् । महिनैपिच्छे तलब खाने तर जिम्मेवारीका नाममा शून्य रहँदासमेत पनि नेपाली प्रशिक्षकलाई पुगेको छैन । त्यसमाथि खेल सङ्घहरूको पनि जिम्मेवारी बोकेर आफूले खेलकुदका लागि ठूलो सहयोग गरेको छु भनेर भ्रम र्छनसमेत पछि पर्दैनन् नेपाली प्रशिक्षक । यो समस्याले नेपाली खेलकुद वर्षौंदेखि आक्रान्त बनिरहेको छ । यसले पनि नेपाली खेलकुदलाई अगाडि बढ्न नदिएकोतर्फ आजसम्म सरोकारवालाहरूको ध्यान जान सकेको छैन । र्
वर्तमान अवस्थामा नेपाली प्रशिक्षकको योग्यताको कुरा गर्ने हो भने उनीहरू वर्तमान विश्व खेलकुदका लागि अयोग्य सावित भइसकेका छन् । नेपाली प्रशिक्षकहरू प्राय: सबैले आफूले आफूलाई नवीकरण गरेको पाइँदैन । वर्तमान खेल प्रविधि र वैज्ञानिक शैलीलाई अधिकांश नेपाली खेल प्रशिक्षकले अँत्मसात् गरेको पाइँदैन । खेलाडीलाई प्रशिक्षण दिँदासमेत पनि परम्परागत शैली मात्रै आत्मसात् गरेको पाइन्छ । आजको विश्वमा कुनै पनि खेलबारे जानकारी लिनुपर्दा सबैभन्दा त्यो खेलको सम्बन्धित प्रशिक्षक को हो भन्ने विषय सबैभन्दा महत्त्वपूर्ण हुन्छ तर नेपालमा ठ्याक्कै त्यसको उल्टो छ । प्रशिक्षकहरूकै अर्को रमाइलो पक्ष भनेको सरकारी तलब खाएर व्यक्तिगत कामकारबाही भने उनीहरूले थुप्रै गरिरहेका हुन्छन् । जसले उनीहरूलाई राम्रा आम्दानी भइरहेको कतैबाट छिपेको छैन । तर, व्यक्तिगत रूपमा प्रशिक्षकहरू मोटाउँदै गए पनि खेलको स्तर दिनदिनै घट्दो अवस्थामा छ । यस्ता प्रशिक्षकको कुरा गर्दा मार्सल आर्टका खेलमा सबैभन्दा बढी समस्या छ भने अन्य खेल पनि यो समस्याले आक्रान्त नभएका होइनन् । जसको कारणले अहिले गुरु भन्ने सम्मानित शब्दको समेत अपमान भएको छ । जसका दर्जनौँ उदाहरण नेपाली खेल सङ्घहरूमा हामीले प्रत्यक्ष रूपमा देख्न सक्छौँ ।
गुरु आदर्श बन्न सक्छन् तर गुरु व्यवस्थापक बन्न खोजे त्यसले राम्रा नतिजा निस्कँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेको छ नेपाली खेलकुद र त्यसअन्तर्गत रहेको अधिकांश खेल सङ्घहरू । गएको महिना मात्रै पनि अखिल नेपाल टेबुल टेनिस सङ्घमा यस खेलका प्रशिक्षकहरूले सङ्घमा आफ्नो भूमिका बनाउने प्रयास गरेका थिए । जसले गर्दा त्यस सङ्घको निर्वाचन स्थगन हुन पुग्यो । राष्ट्रिय खेलकुद परिषद्को जागिरेसमेत रहेका मुख्य प्रशिक्षक वृजेन्द्र हमालसहित, शंकर गौतम र अर्का प्रशिक्षक सुशीलले सङ्घमा मुख्य नेतृत्व लिन विशेष राजनीति गरेका थिए । परिषद्को कर्मचारी पनि बन्ने, प्रशिक्षकका रूपमा पद पनि लिने अनि सङ्घको अध्यक्ष वा महासचिव वा सचिवजस्तो जिम्मेवार पद पनि खोज्ने यो प्रवृत्तिले खेलकुदलाई एउटा सीमित समूहले कसरी आफ्नो जालोमा केन्द्रित गराउन खोजेको छ भन्ने पुष्टि भएको छ । विगत लामो समयदेखि खेलकुदमा अड्डा जमाएर, देशविदेश भ्रमण गरेर भत्ताहरूसमेत पचाउँदै आएका प्रशिक्षक र कर्मचारीकै कारण नेपाली खेलकुद दिनदिनै अस्तव्यस्त बन्दै गएको प्रस्ट देखिएको छ । आफूले विदेश भ्रमण जान पाए सबै ठीक जान नपाए सबै बेठीक भन्ने चलन नेपाली खेलकुदमा खेलाडी वा प्रशिक्ष्ँकले उठाउने गरेको नौलो विषय होइन । टेबुलटेनिस सङ्घमा अहिले देखिएको यो समस्या अन्य केही सङ्घमा विगत लामो समयदेखि जारी छ । त्यसमध्येमा सबैभन्दा पहिलो नम्बरमा पर्ने सङ्घ भनेको नेपाल तेक्वान्दो सङ्घ हो । मुख्य प्रशिक्षकसमेत रहेका दीपराज गुरुङ यस सङ्घको सबैभन्दा बढी काम गर्ने महासचिव पनि हुन् । कुनै समयमा दक्षिण एसियामा नेपाल तेक्वान्दो खेलमा राजा नै थियो । तर, आज तेक्वान्दो नै पलायन हुने अवस्थामा आइसकेको छ । दक्षिण एसियाली खेलकुदमै पनि तेक्वान्दोमार्फत पदक जित्नु नेपालका लागि निकै कठिन भइसकेको छ ।
यता भारोत्तोलन सङ्घमा पनि त्यही अवस्था छ । नेपाल भारोत्तोलन सङ्घमा बेलाबेलामा नेतृत्व परिवर्तन भइरहन्छ तर महासचिव भने सधैं पार्थसारथीसेन गुप्ता अर्थात् मिठु गुरु नै रहन्छन् । केही महिना पहिले मात्रै नेपाल भारोत्तोलन सङ्घको निर्वाचन सम्पन्न भयो । जसले रतन टण्डनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्यो तर महासचिव मिठु गुरुले नै हात पारे । मिठु गुरु मुख्य प्रशिक्षक मात्र होइनन् परिषद्का कर्मचारी पनि हुन् । भारोत्तोलनमा खेलाडीहरू खोज्दा पनि नभेटिने अवस्था आइसकेको छ । महिलाहरूको त खडेरी नै परिसकेको छ । अन्तर्राष्ट्रिय पदक जित्ने कुरा त सपनाजस्तै भइसकेको छ । त्यही रोग उसु सङ्घमा पनि छ । महासचिव प्रणिलध्वज कार्कीको खल्तीको सङ्घजस्तै भएको छ । उसु पनि दिनदिनै ओरालो लाग्दै गएको तथ्य सबैलाई जगजाहेर छ ।
जुन सङ्घमा परिषद्का कर्मचारीको प्रवेश छैन र प्रशिक्षक मुख्य भूमिकामा छैनन् ती सङ्घमा पनि प्रशिक्षकले प्रवेश गर्न राजनीति गरिरहेका छन् । गत महिना मात्रै सम्पन्न बक्सिङ सङ्घको निर्वाचनमा पनि मुख्य प्रशिक्षक प्रचण्ड शर्मा महासचिव बन्ने तयारीमा थिए । तर, विवादका बीच निर्वाचन सम्पन्न भएका कारण शर्माले महासचिवबाट हात झिके । अझ सबैभन्दा ठूलो समस्या त आगामी दिनमा एथलेटिक्स सङ्घले भोग्नुपर्ने पक्कापक्की छ । यो सङ्घमा प्राविधिकबाहेक अर्को कसैको प्रवेश नै छैन । राष्ट्रिय खेलकुद परिषद्ले टीका लगाइदिएको यो सङ्घमा अधिकांश पदाधिकारी प्रशिक्षक र पूर्वखेलाडी मात्रै छन् । जसका कारण यो सङ्घको व्यवस्थापन पक्ष पनि अहिलेसम्म बलियो हुन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको नेपाल सितेरियो कराते डो सङ्घ र नेपाल कराते महासङ्घमा पनि त्यही हालत छ । प्रशिक्षकहरूले नै मुख्य जिम्मेवारी लिइरहेका छन् । अन्य मार्सल आर्टहरूमा त प्रशिक्षक पनि त्यही, अध्यक्ष पनि त्यही भएका सङ्घ दर्जनौँ छन् ।
खेलकुदमा व्यवस्थापक र प्रशिक्षक दुइ फरक पाटाहरू हुन् । प्रशिक्षकले गर्ने काम व्यवस्थापकले गर्न सक्दैन र व्यवस्थापकले गर्ने काम गुरुले गर्न सक्दैन । तर, नेपाली खेलकुद विगत लामो समयदेखि आफंै बोक्सी र आफैं झाँक्रीको रूपमा सञ्चालन भइरहेको छ । नेपाली खेलकुद अगाडि नबढ्नुको एउटा मुख्य कारण यो पनि हो । खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले खेल सङ्घहरूमा एउटा परिवर्तन ल्याउने हो भने र खेललाई सही ढङ्गबाट अगाडि बढाउने हो भने प्रशिक्षकहरूको दोहोरो भूमिकालाई अन्त्य गर्नु नै पर्ने हुन्छ । यसले पनि नेपाली खेलकुदमा हावी हुँदै गएको सीमित झुन्डको पकडबाट खेलकुदलाई मुक्त गराउन सक्नेछ । प्रशिक्ष्ँकहरूले पनि यिनै कारणहरूले गर्दा खेलकुद क्षेत्रबाट आफ्नो सम्मान गुमाउँदै गएका छन् । खेलाडीहरूले पनि गुरुहरूलाई सम्मान गर्ने अवस्थामा कमी हुँदै आएको छ । नयाँ नीति र नियम बनाउने शंखनाद गरिरहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले यो विषयमा साँच्चिनै गम्भीरता देखाउनु जरुरी छ । यदि लामाले त्यो साहस देखाउन सके भने खेलकुदमा जकडिएको एउटा जालो हट्न सक्नेछ ।
बुद्धिचालमा बुद्धिहीनहरूको बिगबिगी
विगतमा सुशुप्त अवस्थामा रहेको नेपाल बुद्धिचाल सङ्घले राजेशहरि जोशीको प्रवेशसँगै गति लिएको तथ्य जगजाहेर छ । तर, बुद्धिचाल सङ्घको साधारणसभाको तिथि नजिकिँदै जाँदा बुद्धिचालमा लागेर विगतमा राम्रा फाइदा लिएका व्यक्तिहरू अहिले बुद्धिहीन बन्न पुगेका छन् । जसका कारण उनीहरू राजेशहरि जोशीजस्तो सक्रिय र इमानदार व्यक्तिको विरुद्धमा उत्रेका छन् । बुद्धिचाल खेलको सक्रियता र नेपालमा भइरहेको गतिविधिका कारण नै जोशी बुद्धिचाल खेलको सर्वोच्च संस्था फिडेको कार्यकारी सदस्यमा समेत निर्वाचित भएका थिए । जोशीको सक्रियता र कामकारबाहीलाई अन्तर्राष्ट्रिय समुदायले पनि नजिकबाट नियालिरहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समेत राम्रा प्रशंसा बटुलिरहेका जोशीविरुद्ध बुद्धिचाल खेल राम्रासँग बुझेका पदाधिकारी नै विरोधमा उत्रेका छन् । जसले गर्दा बुद्धिचाल खेल गम्भीर सङ्कटमा पर्न सक्ने अवस्था सिर्जना भएको छ ।
जोशीकै सक्रियताका कारण नेपालमा पहिलोपटक ग्रान्ड मास्टर्स चेस प्रतियोगिता पनि सञ्चालन भएको थियो । यही अवधिमा थप दुईजना फिडे मास्टर पनि नेपालमा बनेका थिए । तीनजना अन्तर्राष्ट्रिय आरि्वटर पनि नेपालमा बनेका छन् । यसमा पनि जोशीको सक्रियता महत्त्वपूर्ण रहेको थियो । विदेशमा नेपाली खेलाडी सहभागी हुने क्रम पनि जोशीकै समयमा बढेको तथ्य घामजस्तै र्छलङ्ग छ । यस्तो व्यक्तिलाई सङ्घबाट हटाउनका लागि भनेर आफूलाई काङ्ग्रेसनिकट भन्ने वर्तमान सङ्घका सचिव विदुर गौतम र सदस्य माधव प्रधानजस्ता व्यक्तिहरूसमेत माओवादीहरूको पाउ परेर सङ्घ विघटनको आग्रह गर्न पुगेका छन् । यो टोली युवा तथा खेलकुदमन्त्री र वर्तमान राखेपका निमित्त सदस्यसचिव इन्द्रबहादुर थिडको पनि खुट्टा समाउन पुगेको थियो । तर, माओवादीकै एक पक्षले भने जोशीजस्ता व्यक्तिलाई सङ्घबाट हटाउन नहुने भनेर तर्क गरिरहेका छन् । त्यसैकारण माओवादीहरूले सङ्घ विघटनको दुर्घटनालाई आत्मसात् गर्न सकेनन् ।
अर्को सबैभन्दा महत्त्वपूर्ण विषय भनेको नेपाल बुद्धिचाल सङ्घकै साधारणसभाको अवसर पारेर एसियाली चेस फेडेरेसनका अध्यक्ष शेख सुल्तानसहित भारतीय चेस सङ्घका महासचिव पनि नेपाल आउने भएका छन् । यी व्यक्तित्वहरूको नेपाल प्रवेशले बुद्धिचाल खेलमा आमूल परिवर्तन हुने विश्वास गरिएको छ । त्यसैले पनि अहिलेको अवस्थामा निर्वाध रूपमा सङ्घको साधारणसभा सम्पन्न हुन नदिने हो भने बुद्धिचाल सङ्घको अस्तित्व नै सङ्कटमा पर्न सक्छ । यसरी बुद्धिचाल खेलमा लाग्ने व्यक्तिहरूले बुद्धिहीन हुँदै माओवादीको विभिन्न गुटको पाउ समात्दा यसले गलत नजिर बस्न सक्छ । जसले समग्रमा घाटा बुद्धिचाल खेल र खेलाडीलाई नै पर्नेछ । बेलैमा चेतना भया ।
श्ार्मिला र वीरमानलाई स्वर्ण
काठमाडौंकी शर्मिला श्रेष्ठ र काठमाडौंकै वीरमान तामाङले राष्ट्रव्यापी क्योकुसिन फुलकन्ट्याक्ट कराते प्रतियोगिताको खुला तौल समूहको स्वर्ण पदक हात पारेका छन् । शर्मिलाले महिला खुलातर्फ काठमाडौंकै ज्योति लामालाई पराजित गरिन् भने वीरमानले पनि काठमाडौंकै राजकुमार गुरुङलाई उपाधि भिडन्तमा पाखा लगाएका थिए । महिला खुलामा ललितपुरकी प्रतिभा माझीको पोल्टामा कास्य पर्यो भने पुरुष खुल्ला तौल समूहमा कास्कीका अजित गिरीले कास्यमा नै चित्त बुझउनुपरेको थियो । कास्की जिल्ला क्योकुसिन कराते सङ्घको आयोजना भएको तीनदिने प्रतियोगिताको ६५ केजीतर्फ काठमाडौंका सन्तोष चौधरीले स्वर्ण हात पारे भने कास्कीका नारायण आचार्यको पोल्टामा रजत पदक पर्यो । कास्य पदकमा चित्त बुझाउने खेलाडी भने काठमाडौंका सुमन शाही ठकुरी थिए । त्यस्तै ५५ केजी तौल समूहको प्रतिस्पर्धामा नवलपरासीका पदम गुरुङ स्वर्ण प्राप्त गर्न सफल भएका थिए भने नवलपरासीकै दलबहादुर रानाले रजत र धादिङका अमर भुजेलले कास्य पाएका थिए ।
केसा ग्रुप जेटीआई टेनिस हुने
अखिल नेपाल लनटेनिस सङ्घको आयोजनामा चौथो केसा ग्रुप जेटीआई ?जुनियर टेनिस इनिसिएटिभ) जुनियर खुला टेनिस प्रतियोगिता यही चैत २० गतेदेखि २५ गतेसम्म हुने भएको छ । सातदोबाटो लनटेनिस कम्प्लेक्समा हुने प्रतियोगितामा कुल १२ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत यू-९, यू-१०, यू-१२, यू-१४, यू-१६ को ब्वाइज एन्ड गल्र्स सिंगल इभेन्ट्स सामेल छन् । यू-१६ तर्फ भने ब्वाइज एन्ड गल्र्सको डबल्स पनि हुनेछ । आयोजकले जनाएअनुसार प्रतियोगितामा दुई सय ५० भन्दा बढी खेलाडीले सहभागिता जनाउनेछन् । हरेक वर्षझैं प्रतियोगिताको मुख्य प्रायोजन केसा ग्रुपले गर्दै छ भने सहप्रायोजकमा मिस्टर एन्ड मिसेज डा. वसन्त माथेमा रहेका छन् । प्रतियोगितामा क्वाटरफाइनलसम्म पुग्ने खेलाडीको अङ्क एटीपी बरियतामा जोडिने पनि सङ्घले जनाएको छ ।
नेपाल उपाध्यक्ष र महासचिवमा निरि्वरोध
गतसाता नेपालगञ्जमा बसेको दक्षिण एसियाली भारोत्तोलन सङ्घहरूको चुनावी महासभाले नेपाल भारोत्तोलन सङ्घका केन्द्रीय अध्यक्ष एवम् नेपाली खेलकुदमा लामो समयदेखि भौतिक एवम् आर्थिक सहयोग प्रदान गर्दै आउनुभएका नेपालगञ्जनिवासी रतनकुमार टण्डनलाई उपाध्यक्षमा र नेपाल भारोत्तोलन सङ्घका महासचिव एवम् एसियाली भारोत्तोलन सङ्घका सचिव पार्थसारथी सेन गुप्ता ‘मिठु’लाई महासङ्घको महासचिवमा निरि्वरोध निर्वाचित गरेका छ । युवा तथा खेलकुदमन्त्री कमला रोकाले उद्घाटन गरेको सो चुनावी महासभाले भारतको माथिल्लो सदनका माननीय सदस्य वीरेन्द्रप्रसाद वैश्यलाई अध्यक्षतामा हाललाई नौ सदस्यीय कार्यकारी समिति निरि्वरोध निर्वाचित गरेको छ । अन्य निरि्वरोध निर्वाचितमा उपाध्यक्षहरूमा पाकिस्तानका हफिज इमरान, बंगलादेशका मैयुद्धिन अहमद, श्रीलंकाका पीएन केड्डला र भारतका सहदेव यादव रहेका छन् । सदस्यद्वयमा अफगानिस्तानका मोहम्मद अजाम कोही र भुटान निर्वाचित भएका छन् ।
रमपम विराट गोल्डकप विराटनगरमा
लामो समयपछि विराटनगरमा रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । यस्तो प्रतियोगिता बृहत् फुटबल प्रतियोगिता विराटनगरमा दश वर्षपछि आयोजना हुन लागेको हो । ०५८ सालमा महेन्द्र गोल्डकप सम्पन्न भएदेखि विराटनगरमा अहिलेसम्म यस्तो प्रतियोगिताको आयोजना भएको छैन ।
विराट गोल्डकप फुटबल ट्रष्टले यही चैत १८ गतेदेखि रमपम विराट गोल्डकपको आयोजना गर्न लागेको हो । रमपम विराट गोल्डकप यही चैत १८ गतेदेखि विराटनगरको सहिद रंगशालामा ‘रमपम विराट गोल्डकप टुर्नामेन्ट २०६८’ आयोजना गर्न लागेको हो ।
ट्रसले हालै विराटनगरमा गरेको प्रेस सम्मेलनमा रमपम गोल्डकप फुटबल प्रतियोगितामा स्वदेशी ६ र विदेशी दुई टिमको सहभागिता रहने जनाएको छ ।
उक्त प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका ६ क्लबहरू थ्री स्टार, आरसीटी, नेपाल प्रहरी, हिमालयन शेर्पा, मनाङ मर्स्याङ्दी क्लब काठमाडौं, पूर्वाञ्चल मोरङ ११, हङकङ फुटबल क्लब हङकङ र अफि्रकन युनाइटेड नाइजेरिया क्लब चीनको एकएक गरी जम्मा आठ टिमको सहभागिता रहनेछ ।
रमपम गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रायोजक एसियन थाइफुड्स प्रालि रमपम चाउचाउ रहेको छ भने सहप्रायोजकमा नेपाल टेलिकम र म्याजिक चप्पल रहेको छ । उक्त प्रेस सम्मेलनमा महेन्द्र गोल्डकप र विराट गोल्डकपको सिल्डसमेत सार्वजनिक गरिएको थियो । प्रतियोगिताका विजेता र उपविजेतालाई प्रदान गर्न विराटनगर उपमहानगरपालिकाको लगानीमा दुई लाख ७३ हजार रुपैयाँमा दुई तोला सुनसमेत जडान गरी गोल्डकप र सिल्ड निर्माण गरिएको छ । उक्त गोल्ड र सिल्ड पुरानो महेन्द्र गोल्डकपको हुबहु नक्कल गरी काठमाडौंको माइक्रो इन्टरनेसनल कम्पनीले निर्माण गरेको कार्यक्रममा आयोजकले जानकारी गराएका थिए । प्रतियोगितामा विजयी हुने टिमले नगद दुई लाख र गोल्डकप प्राप्त गर्नेछ भने उपविजेताले एक लाख र सिल्ड प्राप्त गर्नेछ । त्यस्तै प्रत्येक खेलको म्यान अफ म्याच खेलाडीले २५ हजार, सर्वाधिक गोल गर्ने खेलाडीले २१ हजार र म्यान अफ दि टुर्नामेन्ट हुने खेलाडीले २१ हजार प्राप्त गर्ने आयोजक ट्रष्टका अध्यक्ष भीम कुँवरले जानकारी गराएका थिए ।
प्रतियोगिता सञ्चालन गर्न लगभग २७ लाख खर्च हुने आयोजकले बताएको छ । सो खर्च मुख्य प्रायोजक, उपप्रायोजक र टिकट बिक्रीबाट उठाउने जानकारी गराइएको छ । चैत १८ देखि २५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता करिब ९० हजार दर्शकले हेर्ने अनुमान गरिएको छ । प्रतियोगितालाई भव्यताकासाथ सम्पन्न गर्न पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा ट्रष्टका अध्यक्ष भीम कुँवरको अध्यक्षतामा ६१ सदस्यीय मूल आयोजक समिति र १५ उपसमिति गठन गरिएको छ ।
त्यस्तै मुख्य प्रायोजकको रूपमा रहेको एसियन थाइफुड्स प्रालिले यस्तो बृहत् प्रतियोगिताको मुख्य प्रायोजक बन्न पाउँदा खुसी प्रकट गरेको छ ।
एसियन थाइफुड्सले फुटबलजस्तो लोकप्रिय खेलको विकास र विस्तारका लागि आगामी दिनमा पनि यस्तै रचनात्मक भूमिका निभाउँदै जाने प्रतिबद्धता जाहेर गरेको छ । समग्र नेपाली खेलकुदको विकासका लागि वषौर्ंदेखि लगानी गर्दै आएको एसियन थाइफुड्सले यो अवसरलाई सकारात्मक र अवसरको रूपमा लिएको बताएको छ ।
प्रतिक्रिया