रूसी आक्रमणबाट कम्तीमा ३० युक्रेनीको मृत्यु

रूसी आक्रमणबाट कम्तीमा ३० युक्रेनीको मृत्यु


रूसले युक्रेनमाथि शुक्रबार गरेको भीषण हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार ब्यारेज, विद्यालय, प्रसूति गृह, व्यापारिक केन्द्र र आवासीय भवनमा क्षति पुगेको छ ।

सन् २०२२ को फेब्रुअरीको अन्त्यदेखि रूसी सेनामाथि आक्रमण गरिरहेको युक्रेनलाई रूसी क्षेप्यास्त्रले पोल्याण्डको हवाई क्षेत्र पार गरेको थियो र त्यसको अन्तर्राष्ट्रिय निन्दा भएको थियो भने त्यसपछि युक्रेनको सुरक्षाका लागि सैन्य सहयोगको नयाँ प्रतिबद्धता व्यक्त गरिएको थियो ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, ‘आज रूसले हामीसँग आफ्नो शस्त्रागारमा भएका लगभग सबै कुराबाट प्रहार गरेको छ ।’

रूसले युक्रेनमा १५८ वटा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको र तीमध्ये ११४ वटा ध्वस्त भएको युक्रेनको सेनाले अनुमान गरेको छ । वायु सेनाका प्रवक्ता युरी इग्नाटलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार यो क्षेप्यास्त्र प्रयोगको दृष्टिकोणबाट ‘अहिलेसम्म कै उच्च सङ्ख्या’ हो भने एकै पटक धेरैतिर गरिएका ‘सबैभन्दा ठूलोमध्येको क्षेप्यास्त्र आक्रमण’ हो ।

रूसले युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई अधिकांश प्रमुख शहरहरूमा ध्वस्त पार्ने प्रयास गरेको छ पछिल्लो आक्रमणमा शाहेद ड्रोनहरूलाई श्रृङ्खलावद्ध तरिकाले प्रयोग गरिएको छ । युद्धक विमानहरू र रूसीनियन्त्रित क्षेत्रबाट विभिन्न प्रकारका मिसाइलहरू प्रहार गरिएको छ ।

युक्रेनको खार्किभ शहरबाट ८० किलोमिटर उत्तरमा रहेको बेल्गोरोडमा रहेको एक आवासीय भवनमा भएको आक्रमणमा परी एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको रूसी अधिकारीहरूले बताएका छन् ।

रूसको रक्षा मन्त्रालयका अनुसार बेल्गोरोड क्षेत्रमा १३ वटा क्षेप्यास्त्र प्रहार गरिएको छ भने सीमाको उत्तरमा रहेको ब्रायन्स्क, कुस्र्क र ओरिओल क्षेत्रमा र मस्को क्षेत्रमा ३२ वटा ड्रोन खसालेका छन् ।

रूसी सेनाले गत साता युक्रेनको सैन्य शिविरमा ५० वटा सामूहिक आक्रमण र एउटा ठूलो आक्रमण गरेको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले आक्रमणको निन्दा गर्दै तत्काल बन्द गर्नुपर्ने बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव मोहम्मद खियारीले भनेका छन्, “दुःखको कुरा, आजको डरलाग्दो आक्रमण रूसी महासङ्घको बढ्दो आक्रमणको शृङ्खलाको पछिल्लो घटना मात्र हो ।”

पोल्याण्डका अनुसार रूसी क्षेप्यास्त्र आफ्नो हवाई क्षेत्र भएर गएको छ ।

“सबै कुराले रूसी क्षेप्यास्त्र पोल्याण्डको आकाशमा प्रवेश गरेको सङ्केत गर्छ । यो पनि छोडियो,” पोल्याण्डको सशस्त्र बलका जनरल स्टाफका प्रमुख जनरल विस्लाव कुकुलाले भन्नुभयो ।

पोल्याण्डका राष्ट्रपति आन्द्रेज डुडासँग कुरा गरेपछि नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले यो गठबन्धन पोल्याण्डसँग ऐक्यवद्धताका साथ उभिएको बताएका छन् ।

निरन्तर रूसी आक्रमणको सामना गर्दै युक्रेनले पश्चिमी मित्रराष्ट्रहरूलाई सैन्य समर्थन कायम राख्न आग्रह गरिरहेको छ ।

युक्रेनका राष्ट्रपतिका सहयोगी एन्ड्री येर्माकले कीभलाई ‘यो आतङ्क रोक्न थप सहयोग र शक्तिको खाँचो रहेको’ बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि नयाँ सहायता स्वीकृत गर्न आफ्नो विभाजनलाई पार गर्न संसद्सँग आह्वान गरेका छन् । वासिङ्टनले विद्यमान सम्झौताअन्तर्गत हतियारको अन्तिम प्याकेज जारी गरेपछि अमेरिकी संसद् (कङ्ग्रेस)ले नवीकरण गर्न बाँकी छ ।

बाइडेनले भनेका छन्, “जबसम्म कङ्ग्रसेले नयाँ वर्षमा तत्काल कदम चाल्दैन, तबसम्म हामी युक्रेनलाई उसको सुरक्षाका लागि आवश्यक पर्ने हतियार र महत्वपूर्ण हवाई प्रतिरक्षा प्रणाली पठाउन जारी राख्न सक्दैनौं । कङ्ग्रेसले कुनै ढिलासुस्ती नगरी कदम चाल्नुपर्छ ।”

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले ‘हामी युक्रेनको साथमा रहिरहनुपर्छ’ भनको केही दिनपछि बेलायतले कीएभमा थप सयौं हवाई प्रतिरक्षा क्षेप्यास्त्र पठाउने घोषणा गरेको थियो ।

युक्रेनको उत्तरपूर्वी क्षेत्रमा खार्किभ, पश्चिममा एलभिभ, पूर्वमा निप्रो र दक्षिणमा ओडेसा गरी कम्तीमा छ वटा युक्रेनी क्षेत्रलाई लक्षित गरी आक्रमण गरिएको थियो ।

मेयर भिटाली क्लिट्स्कोले बताएअनुसार आर्टिओम हतियार कारखाना नजिकै लुक्यानिभ्स्का मेट्रो स्टेशनमा क्षति पुगेको र राजधानी कीएभमा सात जनाको मृत्यु भएको छ ।

उद्धारकर्ताहरूले शेभचेन्को जिल्लाको एक गोदामको भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्न दिउँसोसम्म काम गरेको नगर प्रशासनले जनाएको छ । डेनिप्रोको एक प्रसूति गृहमा गम्भीर क्षति पुगेको छ तर कर्मचारी र बिरामीले समयमै आश्रय लिन सफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । डेनिप्रोपेट्रोभ्स्क क्षेत्रका गभर्नर सर्गी लिसाकका अनुसार अस्पतालमा आक्रमण हुँदा १२ सुत्केरी महिला र चार नवजात शिशु रहेका थिए ।

सपिङ मल, निजी घर र प्रशासनिक भवनमा भएको आक्रमणमा परी ६ जनाको मृत्यु हुनुका साथै २८ जना घाइते भएका छन् ।

खार्किभका गभर्नर ओलेग सिनेगुबोभका अनुसार खार्किभले करिब २० वटा हवाई आक्रमणको सामना गर्नुपरेको छ जसमा एक गैर–सैनिक उद्यममा कार्यरत तीन कर्मचारीको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । निप्रो नदीको किनारमा रहेको जापोरिजियामा गभर्नर युरी मालाश्कोले सात जनाको मृत्यु भएको र १३ जना घाइते भएको जानकारी दिएका छन् ।