पाकिस्तानसँग आतङ्कवादका विषयमा सम्झौता गर्न भारत अनिच्छुक रहेको विदेशमन्त्रीको प्रष्टोक्ति

पाकिस्तानसँग आतङ्कवादका विषयमा सम्झौता गर्न भारत अनिच्छुक रहेको विदेशमन्त्रीको प्रष्टोक्ति


पाकिस्तानको सीमापार नीतिलाई भारतले अप्रासङ्गिक बताएको छ । भारतीय विदेशमन्त्री जयशंकरले आतङ्कवादको अभ्यासलाई वैध मानिएका शर्तहरूमा भारतले सम्झौता नगर्ने जनाएका छन् ।

एएनआईसँगको अन्तर्वार्तामा विदेशमन्त्री जयशंकरले भारत पाकिस्तानसँग सम्झौता गर्न इच्छुक नरहेको बताउँदै आतङ्क र शत्रुतामुक्त वातावरण बनाउनुपर्ने उल्लेख गरेका छन् ।

पाकिस्तानप्रतिको मोदी सरकारको दृष्टिकोणलाई उल्लेख गर्दै उनले सीमापार आतङ्कवादलाई नसहने जनाएका छन् ।

पाकिस्तानले दशकौँअघिदेखि भारतलाई टेबुलमा ल्याउन सीमापार आतङ्कवादको प्रयोग गरेको बताउँदै आफूहरुले त्यस्ता विषय अप्रासङ्गिक बनाएको उनले बताए । पाकिस्तान आफ्नो नजिकको छेमेकी भएको स्वीकार गर्दै उनले पाकिस्तानले तयार पारेका शर्तहरूको आधारमा व्यवहार नगर्ने बताए ।

भारतले गत वर्ष अगस्टमा पाकिस्तानसँगको सम्बन्धलाई सामान्यीकरण बनाउनका लागि आतङ्कवाद र शत्रुतामुक्त वातावरण आवश्यक रहेको बताएको थियो ।

मन्त्री जयशंकरले एएनआईसँगको अन्तर्वार्तामा पाकिस्तानको भविष्य पाकिस्तानको आफ्नै कार्य र छनौटबाट निर्धारण हुने भन्दै छिमेकीको हैसियतले आर्थिक समस्याबाट बाहिर निस्कन आवश्यक रहेको उल्लेख गरे ।

पछिल्लो समयमा घट्दो, विदेशी मुद्रा सञ्चिति, उच्च मुद्रास्फीति तथा मुद्राको तीव्र अवमूल्यन लगायतका आर्थिक कठिनाइसँग पाकिस्तान जुधिरहेको छ ।

कैदीहरूको सूची साटासाट

भारतले सोमबार पाकिस्तानसँग आफ्ना आणविक प्रतिष्ठानहरूको सूची साटासाट गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारत र पाकिस्तानले नयाँदिल्ली र इस्लामाबादमा एकैसाथ कूटनीतिक च्यानलमार्फत आणविक प्रतिष्ठान तथा सुविधाहरूको सूची आदानप्रदान गरको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

्द्विदेशीय सम्झौता अनुसार प्रत्येक वर्षको जनवरीको पहिलो दिन सूची आदानप्रदान गर्ने गरिन्छ । भारत र पाकिस्तान बीच यस्तो सूची आदानप्रदान भएको यो लगातार ३३औं शृङ्खला हो ।

यसै सन्दर्भमा दुवै देशले आ-आफ्नो क्षेत्रका कारागारमा रहेका कैदी तथा माछा मार्ने व्यक्तिहरूको सूची पनि आदानप्रदान गरेको मन्त्रालयको उल्लेख गरेको छ ।