मानवतस्करको अर्को हथकण्डा : रोजगारी दिलाउने बहानामा भारत पुऱ्याइ मृगौला बिक्री

मानवतस्करको अर्को हथकण्डा : रोजगारी दिलाउने बहानामा भारत पुऱ्याइ मृगौला बिक्री


  • सुरेन्द्र सुवेदी, काठमाडौं

मानव तस्करीको जालो युरोप, अमेरिका, रुस र युक्रेनसम्म फैलिएर नेपालीले भयावह अवस्था भोग्नुपरेको परिवेशमा नेपाली नै मतियार भइ गरिव नेपालीलाई भारत लगेर मृगौला बिक्री गर्ने गरेको रहस्य खुलेको छ ।

अनेक हतकण्डा अपनाएर मुख्यतः रोजगारीको बहानामा देशको झापाहुँदै काकडभिट्टा नाकाबाट भारत लगी बाध्य पारेर मृगौला बिक्री गर्नेगरेको रहस्य खुलेको हो ।

प्रहरीको मानव बेचबिखन ब्युरोका एसपी तथा प्रवक्ता कृष्णप्रसाद पंगेनीका अनुसार यस्तो गिरोह थप हुन सक्ने भएकोले खोजी जारी छ ।

मानव अंग नै बेच्ने गिरोहले बबरमहल-२६ (उपनाम) लाई भारत कलकत्तामा मम पसलमा काममा लगाइदिने र मासिक भारतीय ३० हजार रुपैयाँ कमाइ हुने भन्दै लोभमा पारेर एक युवालाई भारत लगे । झापाको काकडभिट्टा नाकाहुँदै कलकत्ता पु¥याएर बेहोस बनाइ मृगौला झिकेर अपरिचित व्यक्तिलाई प्रत्यारोपण गरेको खुल्न आएको छ ।

यस्तो अमानवीय काम गर्ने र मानव बेचबिखन मुद्दामा फरार रहेका हरि नेपाली भन्ने हरि दर्जीलाई ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको छ । उनलाई ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता पंगेनीले घटना र विचारलाई बताए ।

गाउँघरमा बिहे, ब्रतबन्धमा बाजा बजाउने काम गर्ने गरेका पीडितलाई गत २०७८ सालको बैशाखमा दलालहरूले बाजा बजाउने बहानामा आफ्नो गाउँ बोलाएका थिए । उनीहरुबीच भेटघाटको क्रममा दलाल मुरली दमाइसमेतले एक जना मानिसलाई मृगौला चाहिएको छ, राम्रो पैसा दिन्छ, मैले पनि एउटा मृगौला बेचेको छु भन्दै आफ्नो पुरानो खत देखाएर लोभमा पार्न खोजेपछि पीडितले मृगौला बेच्न अस्विकार गरे । पीडितले मृगौला बेच्न नमानेपछि मम पसलमा महिनाको ३० हजार रुपैयाँ कमाउन सकिन्छ भन्दै झापाको काकरभिट्टा नाकाबाट भारत लगेको खुलेको छ ।

त्यहाँबाट भारतको कलकत्ता लगेर मृगौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिलाई नेपाली भन्ने हरि दर्जीले ‘होटलको साहु हो’ भन्दै चिनजान गराएर उनीसमेतले पीडितलाई झुक्याउँदै अस्पताल पुऱ्याएर बेहोस बनाइ अर्कै व्यक्तिमा मृगौला प्रत्यारोपण गराएका थिए । यो प्रकरणमा संलग्न बाँदरे भन्ने मुरली दमाइ, राजु नेपाली, राजेश परियार, सानु भन्ने सुवास नेपालीसमेतका विरुद्ध मानव बेचबिखन अनुसन्धान व्युरोमा उजुरी परेको छ ।

अहिले पक्राउ परेका हरि नेपाली भन्ने हरि दर्जी २०६५ सालमा पनि मानव बेचबिखन मुद्दामा १० वर्ष सजाय भुक्तान गरि छुटेका अपराधी हुन् ।