‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना हुने

‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना हुने


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

नेपाल पत्रकार महासंघको पहिलो पटक ‘ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुने भएको छ ।

पत्रकार महासंघ जापान शाखाको आयोजनामा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना हुने भएको हो ।

विश्वका विभिन्न मुलुकमा क्रियाशील नेपाली पत्रकारहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आगामी जुलाई २५ तारिख टोकियोमा एकदिने ग्लोबल सम्मेलन आयोजना गर्न लागिएको हो ।

सम्मेलनमा विश्वभर छरिएर रहेका नेपाली सञ्चारकर्मी, सञ्चारविज्ञ, डिजिटल मिडिया प्रतिनिधि तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।

उक्त सम्मेलनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिका ३३ जना प्रतिनिधिहरूको जापान प्रवेश भिसा स्वीकृत भएको र अन्यको प्रक्रियामा रहेको नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

देश(विदेशमा रहेका नेपाली सञ्चारकर्मीहरूबीच आपसी सहकार्य, अनुभव आदानप्रदान तथा अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा डिजिटल पत्रकारिता, एआई, सामाजिक सञ्जालको प्रभाव, प्रेस स्वतन्त्रता, प्रवासी पत्रकारिताका चुनौती र अवसर, प्रवासीमा क्रियाशील नेपाली पत्रकारहरूलाई पत्रकार महासंघको मताधिकार लगाएको एजेण्डा राखेर एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्समा छलफल हुने जनाइएको छ ।

उक्त सम्मेलनमा विभिन्न विषयमा प्यानल छलफल र टोकियो घोषणा पत्र घोषणा गर्ने तयारी रहेको पत्रकार महासंघ जापानले जनाएको छ ।