विदेश पठाइदिने बहानामा दश करोड ठगी गर्ने लामा पक्राउ

विदेश पठाइदिने बहानामा दश करोड ठगी गर्ने लामा पक्राउ


वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु १० करोडभन्दा बढी रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुल्दै आएका ललितपुरको कोन्ज्योसोम गाउँपालिका-१ का ४७ वर्षीय लालबहादुर लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

सो कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौंको महाराजगञ्जमा सी स्टार ट्रेनिङ सेन्टर सञ्चालन गरेका लामाले लिथोनिया, क्यानडा, सिङ्गापुरलगायत देशमा आकर्षक पारिश्रमिक पाइने प्रलोभन दिँदै विभिन्न व्यक्तिसँग सो रकम असुलेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

लामालाई प्रहरीले काठमाडौं महानगरपालिका-३१ शङ्खमूलबाट पक्राउ गरेको हो । उनले पीडित व्यक्तिबाट रु पाँच लाखदेखि रु १५ लाखसम्म असुल्दै वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्तिलाई सिङ्गापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको अनुसन्धानको क्रममा खुलेको थियो ।

प्रहरीले उक्त ट्रेनिङ सेन्टरबाट नौ सय ९७ थान राहदानी समेत बरामद गरेको छ । पक्राउ परेका लामालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, रोजगारीका लागि कुवेत पठाइदिन्छु भन्दै रस्मिता भुलोनबाट दुई लाख एडभान्स लिइ सम्पर्कविहीन भएकी एक महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । तेह्रथुम म्याङलुङ नगरपालिका २ घर भइ हाल कामनापा ८ गौशाला बस्ने सुवर्ण सिंह तुम्बाहाङफेकी श्रीमती ४३ वर्षीया जुनु तुम्बाहाङफेलाई प्रहरीले आवश्यक कारवाहीको लागि पक्राउ गरेको हो ।