पूर्व श्री ५ बाट बर्दघाटे कालिका मन्दिरमा पुजा

पूर्व श्री ५ बाट बर्दघाटे कालिका मन्दिरमा पुजा


  • आरपी उपाध्याय, नवलपरासी

पूर्व श्री ५ ज्ञानेन्द्र शाहले पश्चिम नवलपरासीको बर्दघाटस्थित शक्तिपिठको दर्शन र पुजापाठ गर्नुभएको छ । सरावल गाउँपालिका वडा नं. ७ स्थित बर्दघाटे दुर्गा भगवती र शिव मन्दिरमा राजाले पुजापाठ गर्नुभएको मुल समारोह समितिका संयोजक सुधिर कुमार पाण्डेले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशको विभिन्न शक्ति पिठहरुमा पुजाआजा गर्ने क्रममा पश्चिम नवलपरासी आइपुग्नुभएका राजाको आगमनका क्रममा राजसंस्थाका पक्षधरहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो भन्दै नाराबाजी गरेका थिए भने पूर्व श्री ५ ले पुजाआजापछि मञ्चमा पुगेर सम्मान ग्रहण गर्नुभएको थियो । उहाँलाई राप्रपाका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य धुव्रबहादुर प्रधानले मायाको चिनो प्रदान गर्नुभयो ।

मंगलबार दिउँसो भारतीय सिमानजिकै रहेको मन्दिरमा आइ राजा ज्ञानेन्द्रले विधिपुर्वक पुजाआजा गर्नुभएको हो । राजा ज्ञानेन्द्र बर्दघाटे कालिका मन्दिर आइपुग्नुहुँदा मन्दिरवरिपरि ठूलो सङ्ख्यामा उपस्थित नेपालीजनले फुलगुच्छा दिइ स्वागत गरेका थिए ।

सो क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता तथा शाहका शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको राप्रपा पश्चिम नवलपरासीका कार्यवाहक जिल्ला अध्यक्ष रामजीबाबु पराजुलीले बताउनुभयो।

पूर्व श्री ५ ले हात हल्लाएर उपस्थित शुभेच्छुकलाई अभिवादन गर्नुभएपनि केही सम्बोधन भने गर्नुभएन । प्रतिनिधिसभा सदस्य प्रधानले राजाको भ्रमणले यस क्षेत्रको महत्व झनै बढेर गएको उल्लेख गर्दै बर्दघाटे कालिका मन्दिरको पनि विकास र प्रर्वद्धन हुने विश्वास व्यक्त गर्नुभयो । प्रधान केही दिनदेखि राजाको भ्रमणको तयारीमा खटिँदै आउनुभएको थियो । सो क्रममा स्थानीय तहका प्रतिनिधिले समेत राजालाई मायाको चिनो प्रदान गरेका थिए । स्थानीय तहको तर्फबाट मायाको चिनो प्रदान गर्नेमा रामग्राम नगरपालिकाका कार्यवाहक नगरप्रमुख सम्झना चौधरी, सरावल वडा नम्बर ३ का वडाअध्यक्ष फिरंगी चौधरी लगायत रहेका थिए ।

बर्दघाटे कालिका मन्दिर यस क्षेत्रकै पुरानो मन्दिरको रुपमा रहेको छ । सो मन्दिर कहिले स्थापना भयो भन्ने एकिन नभएपनि एक सय वर्ष भन्दा पनि पुरानो रहेको मन्दिरका महन्थ सुदामा दासको भनाइ छ । उक्त मन्दिरमा चैत्र नवमीमा भव्य मेला लाग्ने गर्दछ । मन्दिरमा भाकल गरे पुरा हुने जनविश्वास रहेको छ । भाकल पुरा भएकाहरुले मन्दिरमा आई हात्तिको प्रतिमा स्थापना गर्ने गर्दछन् ।

भैरहवालाई मुकाम बनाएर दुई साता देखि यस क्षेत्रमा रहँदैआउनुभएका राजा ज्ञानेन्द्र मंगलबार नै भैरहवा फर्किनुभएको थियो ।

ज्ञातव्य छ, उहाँलाई १९ गते भैरहवामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।