तालिममा रहेका प्रहरी जवानको मोटरसाइकलको ठक्करले मृत्यु

तालिममा रहेका प्रहरी जवानको मोटरसाइकलको ठक्करले मृत्यु


तालिमको क्रममा बिहानै दौडिरहेका प्रहरी जवानको मोटरसाइकलको ठक्करले मृत्यु भएको छ । मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवान २५ वर्षीय विनोद एडीको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करले तालिममै रहेका अन्य दुई प्रहरी घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडा-११ थानाभ्याङमा आज बिहान हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना४३प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवान एडी गम्भीर घाइते भएका थिए, उनको उपचारको क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव निरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

मोटरसाइकल सडकमा अनियन्त्रित भएर पल्टिँदा चालक हेटौँडा-४ का ४१ वर्षीय लक्ष्मण लामा र सोही गणमा कार्यरत प्रहरी जवान नवराज सार्की र विजय खत्री घाइते भएका थिए । मोटरसाइकल चालक लामाको चितवनमा उपचार भइरहेको छ भने प्रहरी जवानद्वय सार्की र खत्रीको हेटौँडा अस्पतालमा समान्य उपचारपछि घर गण फर्किएका छन् ।