कतार, स्लोभेनिया र रोमानियामा मानवतस्करी गर्ने चार जना पक्राउ

कतार, स्लोभेनिया र रोमानियामा मानवतस्करी गर्ने चार जना पक्राउ


  • सुरेन्द्र सुवेदी, काठमाडौं

देशबाट मानव तस्करी रोक्न कानुनमा कडाइ, मानव बेचबिखन ब्युरो नै स्थापनादेखि विमानस्थलसम्म कडा निगरानी राख्दै आएपनि बेचबिखन काबुबाहिर हुन थालेको छ । नेपालबाट दुवई, भारतको नयाँदिल्ली हुँदै नेपाली युवायुवतिलाई युरोप, अमेरिका, रुस र युक्रेनजस्ता देशमा पढाउने गिरोह सक्रिय रहेको पाइन्छ ।

प्रहरीको अपराध अनुसन्धान कार्यालयले रोमानिया, स्लोभेनिया र कतार भिजिट भिषाका नाममा मानव तस्करी गर्ने चार जनालाई नियन्त्रणमा लिएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-१ घर भएर अहिले काठमाडौं कागेश्वरी मनोहरा-९ गोठाटार बस्ने २२ वर्षीय कैलाश गिरी पक्राउ परे । उनले भाष्करदत्त भट्टलाई वैदेशिक रोजगारीको लागि कतार पठाउने भन्दै ३ लाख रुपैयाँ लिएर मासिक ८० हजार रुपैयाँ कमाउने प्रलोभन दिएका थिए । रकम लिएर फरार रहेका गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, धादिङको ज्वालामुखी-२ घर भएर हाल जिल्ला काठमाडौं चन्द्रागिरी-१३ बस्ने वर्ष २५ का अजयराज शाही र वर्ष ३५ कि छिमी सुदिनसमेत २ जनाले अनिल भुजेललाई वैदेशिक रोजगारीको लागि स्लाभेनिया पठाइदिन्छु भन्दै ७ लाख रुपैयाँ ठगी गरे । मासिक ७० हजार रुपैयाँ तलवको प्रलोभन दिएर रकम ठगी गर्ने दुवैजना प्रहरीको नियन्त्रणमा आइसकेका छन् ।

प्रहरीका अनुसार रोमानियामा मासिक १ लाख रुपैयाँ तलवको प्रलोभनमा २१ लाख ३६ हजार रुपैयाँ ठगी गर्ने राजधानीकै बाङ्गेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी पनि पक्राउ परेका छन् ।

बुढाथोकीले १४ जनासँग उक्त रकम असुलेका थिए । रकम लिएर फरार रहेका उनलाई आज नै प्रहरीले पक्राउ गरेको हो । यो मुद्धा वैदेशिक रोजगार विभागमा बुझाएको प्रवक्ता एसपी रेग्मीले घटना र विचारलाई बताए ।

सेटिङमा मानव तस्करी गर्ने गिरोहले नै नेपाली युवालाई रुससम्म पुऱ्याएको र त्यहाँको सेनामा कार्यरत १० जना युवाको मृत्यु भइसकेको छ । परराष्ट्र मन्त्रालयका अनुसार रुसमा मात्र अहिले २ सयबढी नेपाली युवा रहेको परराष्ट्रमन्त्री एनपी साउदले बताउँदै आएका छन् । नेपाली युवाहरु युक्रेनमा पनि पुगेको बताइन्छ । त्यहाँ केकति युवा पुगेका छन् भन्ने यकित तथ्याङ्क भने सार्वजनिक भएको छैन ।