- सुरेन्द्र सुवेदी, काठमाडौं
वीर अस्पतालमा अनियमितता भएको भन्दै विभिन्न निकायमा उजुरी परेका छन् । वीरका उपसचिव थमनारायण शर्मा (लेखा) र बाबुराम घिमिरे (प्रशासन)ले निर्देशक डा. सन्तोष पौडेलसँग मिलेर प्रशासनिक अनियमितता, ‘प्रि-पेड’ भ्रष्टाचार गरेको भन्दै स्वास्थ्य मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, सम्पति सुद्धिकरण र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेका हुन् । स्वास्थ्यसचिवलाई सम्बोधन गरेर वीरका कर्मचारीले निर्देशक र उपसचिवमाथि कारवाही र उनीहरूको सम्पति जाँचबुझ गर्न माग गरेका हुन् ।
वीरमा कार्यालय सहयोगी, कम्पुटर अपरेटर, ल्याव असिस्टेन्ट, ड्राइभर ज्यालादारीमा नियुक्ति गरेका, अस्पतालमा आफूनिकटसँग महँगोमा कोटेशनमा सामान खरिद गर्नेसमेतका उजुरी यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आगोग र स्वास्थ्य मन्त्रालयमा परिसकेका छन् । ती निकायले हाल उजुरीमाथि छानविन गरिरहेको छ ।
अहिले वीरमा खरिद गरेका सामानको भुक्तानी दिँदा २० प्रतिशत कमिसन ब्यापारीसँंग लिने, ल्याब, रेडियोलोजी, एनेस्थेसिया भत्ता दिन कर्मचारीसँग कमिसन माग्ने गरेका, टेन्डरमा सामान हुँदाहुँदै कमिसनको लागि कोटेशनमा महँगोमा सामान खरिद गर्ने गरेका, ५ लाखमा मर्मत भएर सञ्चालन हुने अक्सिजन मेसिन मर्मत नगरी दैनिक १ लाख रुपैयाँ खर्च गरेर अक्सिजन खरिद गर्ने गरेको जसबाट अस्पताललाई वार्षिक ३ करोड रुपैयाँ घाटा हुन गएको घटना र विचारलाई प्राप्त उजुरीपत्रमा उल्लेख छ ।
वीरमा भ्रष्टाचारका कारण त्यहाँ कार्यरत कर्मचारीलाई तलव खुवाउन नै धौ-धौ परिरहेको छ । देशकै ठूलो अस्पताल र बिरामीको घुँइचो हुने गरेपनि अनियमितताका कारण विरामी उपचार गर्दा आउने रकमसमेत हिनामिना हुने गरेको पाइन्छ । यसले वीर अस्पताल दिनदिनै धराशायी बन्दै गएको भनी त्यहाँ कार्यरत कर्मचारीहरू चिन्ता व्यक्त गर्छन् ।
प्रतिक्रिया