‘द्वन्द्व, विग्रह र विवादबाट माथि उठी नेपाली माटो र नेपाली बाटो समातेर हिँडौँ’ : पूर्व श्री ५ ज्ञानेन्द्र

‘द्वन्द्व, विग्रह र विवादबाट माथि उठी नेपाली माटो र नेपाली बाटो समातेर हिँडौँ’ : पूर्व श्री ५ ज्ञानेन्द्र


पूर्व श्री ५ ज्ञानेन्द्र शाहले नेपाल, बुद्ध जन्मेको देश, सगरमाथाको देश सनातनी वैदिक संस्कृति विविध धर्म र सभ्यताको देश भएको बताउनुभएको छ । अनेक श्रोत साधन सम्पदाले भरिपूर्ण भएको समृद्धशाली, सुन्दर एवम् कैयन् मूल्य-मान्यता तथा सभ्यता भएर पनि आज हामी कता-कता हराइरहेको र आफै हारिरहेको अवस्थामा रहेको उहाँको भनाइ छ ।

बिहीबार रुपन्देहीको भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व श्री ५ ले भन्नुभयो- ‘हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन ।

सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छौँ । नेपालभित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँबायाँ, आन्तरिक तथा बाह्य शक्तिको टेको चाहिन्छ भन्ने एउटा भाष्य पनि हामीकहाँ छ । तर हामीलाई लाग्दछ- नेपाल राष्ट्रको एकिकरणदेखि आधुनिकीकरणसम्मका यावत प्रक्रियामा हामी नेपालीकै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भइ आएका हुन् ।’

सबै मिलेर एउटा राम्रो मार्गचित्र तयार गरी अघि बढ्न आग्रह गर्दै उहाँले हामी मात्र ठीक अरु बेठीक हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो भन्ने द्वन्द्व, विग्रह, विवादबाट उठी नेपालको माटो र नेपाली बाटो समातेर हिँड्न सके सबैको भविष्य सुरक्षित रहने उहाँले उल्लेख गर्नुभयो ।

यस्तो छ राजा ज्ञानेन्द्रबाट गरिएको सम्बोधनको पूर्णपाठ-

उपस्थित महिला तथा सज्जनवृन्द,
पवित्र लुम्बिनी क्षेत्रको यो समथर सुन्दर नगरीमा आएर, केही शब्द बोल्ने मौका मिलेकोमा खुशी लागेको छ । आयोजक/प्रबन्धकर्ता सबैमा धन्यवाद ।

नेपाल, बुद्ध जन्मेको देश, सगरमाथाको देश सनातनी वैदिक संस्कृति विविध धर्म र सभ्यताको देश । अनि अनेक श्रोत साधन सम्पदाले भरिपूर्ण भएको समृद्धशाली देश । यस्तो सुन्दर, यति मनोरम यतिका सम्पदा र कति-कति मूल्य-मान्यता तथा सभ्यता भएर पनि आज हामी कता-कता हराइरहेका छौँ, कता-कता आफै हारिरहेका छौँ ।

म जता जाउँ जहाँ पुगुँ, जनआवाज उठेको सुन्छु- आउ हाम्रो देश बनाऔँ र देश बचाऔँ, देशको सभ्यता र समृद्धि बढाऔँ । यहाँ खडा भएर म भन्दछु- म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना इच्छा आकांक्षा पोखिरहेछु । म कतै अन्त गएको छैन, सदा-सदा नेपालीका साथमा छु, नेपालभित्रै छु, नेपालीहरूको सुख-दुःख, सुविधा-असुविधा, बाधा-पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु ।

समाज, कानून र व्यवस्थाविना अस्तित्वमा रहनु हुँदैन । देशसुहाउँदो र बलियो आविष्कारहरूमार्फत अगाडि बढ्नुपर्छ । तर आज देश जर्जर भएको छ । बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौँ युवाजनशक्ति विदेशिएको छ । देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर हाम्रो युवा जमात बाहिरिएको हो । यस्तो अवस्थाको अन्त हुनु पर्दछ । देशमै उत्पादन, उद्यम, इलम, सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपरेको छ । देशलाई खोक्रो पार्नेगरी चलिरहेको आजको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नै पर्दछ ।

राष्ट्रिय उत्साह प्रतिभाको महान् निवास हो । वीरता, पराक्रम, पुरुषार्थ र उच्च मूल्य-मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको स्वाभिमानी जनताको अनुभूति छ । हाम्रा बुढापाका, अनुभवीहरूको विचार भन्नुपर्दा हाम्रो राष्ट्रको अस्तित्वमाथि आज खिया लाग्दै गइरहेको छ, हामी झन् परावलम्बी, परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिँदै गइरहेका छौँ ।

हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन । सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छौँ । नेपालभित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँबायाँ, भित्र तथा बाह्य शक्तिको टेको चाहिन्छ भन्ने एउटा भाष्य पनि हामीकहाँ छ । तर हामीलाई लाग्दछ- नेपाल राष्ट्रको एकिकरणदेखि आधुनिकीकरणसम्मका यावत प्रकृयामा हामी नेपालीहरूकै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भइ आएका हुन् ।

त्यसैले के गर्दा र के कस्तो विधि व्यवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ, त्यो हामी आफैले तय गर्ने विषय हो । हामी सबैको दृढ प्रयत्न यसै अनुरुप हुनुपर्दछ भन्ने हामीलाई लाग्दछ ।
त्यसैले म भन्दछु, आउँ अब हामी सबै एकै ठाउँमा उभिऔँ अनि सोचौँ र सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौंँ देश हामीले नै बनाउने हो, हाम्रै श्रोतसाधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो ।

हामी मात्र ठीक अरु बेठीक हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो भन्ने द्वन्द्व, विग्रह, विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समातेर हिँडौँ । हामी सबैको भविष्य, सुख शान्ति यसैमा छ ।

विगतको सबै दुःख बिर्सिदेउँ ,
मायाले मायालाई भरिदेउँ,
घृणाको आगोलाई कतै जलाइ देउँ,
पहिले यो आगोलाई मिलेर निभाइ देउँ,
भाग्यको सिमा हँदैन, हुनु पनि हुँदैन,
अब भाँचिएको टुक्राहरु जोडी देउँ,
उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने,
पहिले अन्याय अत्याचार मुक्त गरिदेउँ,
अनुहार फेरि फेरि षडयन्त्र नगर,
त्यस्ताको चालबाट आफुलाई बचाइदेऊँ
सबैमा फेरि एकपटक हाम्रो धन्यवाद ।

जय नेपाल ।