नेपाली इतिहासका युद्धहरू

नेपाली इतिहासका युद्धहरू


इतिहास

✍ डा. प्रेमसिंह बस्न्यात
लिगलिग कोटको लडाइँ :

लम्जुङको राजा यशोब्रम्ह शाहको कान्छा छोरा द्रव्य शाहले विशेष जुक्ति पुऱ्याइ वि.सं. १६१६ को विजयादशमीको दिन लमजुुङबाट गएर लिगलिग कोटमा हमला गरी त्यहाँको राजा भए । त्यसबखत गोरखाको उपल्लो कोट क्षेत्रमा खड्का र तल्लोकोट क्षेत्रमा घले गुरुङहरूले शासन गर्थे भने ती दुवै भन्दा सानो लिगलिग कोट क्षेत्रमा पनि घले गुरुङ नै शासक थिए । जुम्ला राज्यअन्तर्गतका ती आश्रित स्थानीय रजौटा थिए । राज्यकै रूपका राजा भने होइनन् । यसरी तीन थरी शासक रहेको यस क्षेत्रमा द्रव्य शाह राजा भएपछि मात्र गोरखा नामाकरण गरियो । गोर्खा राज्यको स्थापना हुनु, गोर्खा नामाकरण हुनु र आधुनिक नेपालको निर्माण हुनुमा लिगलिग कोटको युद्धले ठुलो भूमिका खेलेको छ ।

राजा द्रव्य शाह गोर्खा राज्यको संस्थापक थिए । अर्को महत्वपूर्ण तथ्य के हो भने वि.सं. १६१६ को असोजमा नै भगीरथ पन्तलाई सेनापति काजी बनाइ यसै स्थानमा सेना खडा गरियो । यही सेनाको क्रमिकता वर्तमान नेपाली सेना हो । वि.सं. १६१६ देखि २०६३ सालसम्म गोर्खाका शाहवंशीय राजतन्त्र अविछिन्न रहेकाले तिनले खडा गरेको सेना पनि अविछिन्न रूपले विकास हुँदै आएको हो । हाल आएर मनमौजीसँग कसैले वि.सं. १८०१, १८१९, १८२५ लगायतका स्थापना सम्वत् लेखेका छन् । त्यो गल्ती हो ।

नुवाकोट विजय हमला :

बडामहाराज पृथ्वीनारायण शाहको नेपाल एकीकरणको लागि गरिएको सैनिक अभियानमा सन् २६ सेप्टम्बर १७४४ कान्तिपुरको मल्ल राजाको नुवाकोट किल्लाको विजय पहिलो महत्वपूर्ण उपलब्धि हो । यो विजयको लागि तीन दिशा- तीनधारा दिशाबाट बडामहाराज पृथ्वीनारायण शाह स्वंयले, गेर्खु दिशाबाट काजी कालु पाँडेसम्मिलित फौजको नेतृत्व राजकुमार दलमर्दन शाहले र, धरमपानी दिशातर्फको नेतृत्व राजकुमार महोद्दामकीर्ति शाहले गरेका थिए । बडामहाराजको यो पहिलो विजय हमला थियो ।

साँगाचोकको हमला :

बेलकोटदेखि शिवपुरी, साँखु, चाँगु, नालदुम, फटकसिला, सिन्धु, सिपा, चौतराको युद्धहरूमा चरम सामसिंह बस्न्यातले गरेका थिए । हाल काठमाडौं जिल्लाको साँखुभन्दा माथि, उत्तर डाँडोमा सफलता पाएको एकीकरण युद्धको नेतृत्व प्रधान सेनापति काजी शिव रहेको साँगाचोक भनिने डाडो छेउमा रहेको द्वारेटोलको बारीका ठुला पाटोमा वि.सं. १८०३ फागुन ५ गतेको मध्यरातमा कान्तिपुरे फौजले प्रत्याक्रमण गर्दा सेनापति शिवरामसिंह लगायत १३ जना सेनाले वीरगति प्राप्त गरेका थिए । तिनै प्रधानसेनापति काजी शिवराम सिंह बस्न्यातको सालिक हाल जहरसिंह पौवामा स्थापना गरिएको छ ।

गुर्गीन खाँविरुद्ध मकवानपुरको लडाइँ :

मकवानपुरबाट हारेर भागेका पराजित दिग्बन्धन सेन राजाको अनुरोधमा लागेर बंगालका नवाव मीर कासिमले सेनापति गुर्गीन खाँको नेतृत्वमा ३७०० जति फौज पठाइ वि.सं. १८१९ मा मकवानपुर दरबारमा हमला गर्न लाग्दा करिब ४०० जना गोरखाली सेनाले तहसनहस पार्ने आक्रमण गरी १७०० जना भन्दा बढी मुसलमान फौज मारिदिए । मकवानपुरका सेन राजाका दरबारलाई हाम्रा इतिहासकारहरूले गढी भनी लेखिदिए । यो सरासर गल्ती छ । अहिलेसम्म उक्त दरबारलाई गढी भनिएको छ । उसबखतको दरबारलाई कोट भनिन्थ्यो । त्यस्ता कोटहरू भारतमा मुगलहरूले बनाएका दरबारजस्तै किल्लाको रूपबाट बन्दथे । यस लडाइँंमा दुश्मनसँग खोसेको ४०० भन्दा बढी बन्दुक र दुई नाल तोपलाई प्रयोगमा ल्याउन नेपाली सेनामा पहिलोपल्ट १८१९ सालमा श्रीनाथ, कालीबक्स, बर्जवाणी, पुरानो गोरख, सवुज गरी ५ कम्पनी खडा गरियो भने विदेशी दुश्मनस“ग लडिएको पनि यो पहिलो लडाइँ थियो ।

नेपालको परम्परादेखिको इतिहासमा मुसलमान फौजले पटक-पटक नेपाल आएर हाम्रा मन्दिर लुटेर सुनचाँदी लग्ने, शहरमा लुट्ने गर्थे भने मुसलमान सेना आयो भनेपछि काठमाडौं उपत्यकाका राजा÷प्रजा भागेर जङ्गलमा लुक्न जान्थे । शहरमा आगो लगाउँथे तिनले । उता सिमरौनगढ राज्यको दरबारमा आगो लगाएर अनि राजा भगाएर यो राज्यको पतन पनि मुसलमानले नै गरे । नेपालको इतिहासमा बडामहाराज पृथ्वीनारायण शाहले नै हो पहिलो पटक यी मुसलमान सेनालाई सोत्तर पारेर नेपाललाई विजयी गराएको पनि ।

क्याप्टेन किनलकविरुद्ध पौवागढीको लडाइँ :

गोर्खाली सेनाको विरुद्ध कान्तिपुरका राजा जयप्रकाश मल्लले तत्कालिन इष्ट इण्डिया कम्पनीसँग सैनिक सहयोग मागेपछि अङ्ग्रेजतर्फबाट क्याप्टेन किनलकको नेतृत्वमा असरदार हतियार सहित करिव २४०० अर्थात् एक बाहिनी फौज पटना-जनकपुर-सिन्धुलीगढी हुँदै कान्तिपुरतर्फ बढेको थियो । ती फौज बोलाइएर मात्र आएका थिए । सोही क्रममा सिन्धुलीगढी नआइपुग्दै सिन्धुलाई माडीबाट सिन्धुली गढीतर्फ उकालो चड्दै गरेका अङ्ग्रेजी सेनालाई गोर्खाली सेनाले पौवा गढी, ढुङग्रेभञ्ज्याङ र ढुङग्रेबास तीन ठाउँबाट एकै पटक हमला गरे र, करिव १६०० दुश्मनहरू मारे भनी लेखिएको पाइन्छ । तथापि, सतही विश्लेषण गर्दा करिव ३०० देखि ४०० जनासम्म दुश्मन मरिएका हुन सक्छन् । किनकि, क्याप्टेन किनलकले पनि केही दिनपछि नै फेरि हरिहरपुर गढी क्षेत्रबाट पनि काठमाडौं आउने प्रयास गरेका थिए । २४०० मा १६०० सेना मरिएका थिए भने उनको त्यो प्रयास एकदम असम्भव नै हुने थियो । मल्टिपल एम्बुस अर्थात् थुप्रै धरापहरू थिए । अर्को कुरा बडामहाराज पृथ्वीनारायण शाहले यही युद्ध लडाउनको लागि नै नयाँ सैनिक रणनीतिमा ‘जाइ कटक नगर्नु झिकी कटक गर्नु’ लागु गरेका थिए । जसको मतलब आमुन्नेसामुन्नेको नभइ लुकी-लुकी ठोक्ने लडाइँं थियो । शक्तिसाली दुस्मनविरुद्ध यो रणनीति अपनाइन्छ । थुप्रै हतियार हात लागेको, वि.सं. १८२४ मा भएको यो युद्ध अङ्ग्रेजसँगको पहिलो लडाइँ थियो । किन हाम्रा इतिहासकारहरूले लेखेनन् पहिलो नेपाल-अङ्ग्रेज युद्ध भनेर ? यो पहिलो नेपाल-अङ्ग्रेज युद्ध हो, अवश्य पनि ।

कीर्तिपुरको युद्ध :

ललितपुर राज्यअन्तर्गत कीर्तिपुर एउटा बलियो किल्लाको रूपमा पर्खाल र खाडलले घेरिएको शहर थियो । यस शहरलाई लिनको लागि गोर्खाली सेनाले वि.सं. १८१४ मा बडामहाराज पृथ्वीनारायण स्वयमको नेतृत्वमा र वि.सं. १८२२ मा राजकुमार सुरप्रताप शाहको नेतृत्वमा असफल हमला गरेता पनि अन्तमा नाकाबन्दी लगाइ युद्ध नै नलडी किल्लाप्रमुखले कीर्तिपुरको पश्चिमी ढोका खोलेर आत्मसमर्पण गरेपछि वि.सं. १८२३ मा कीर्तिपुर गोर्खालीको हात पऱ्यो । पहिलो युद्धमा बडामहाराज झन्डै काटिइसकेका थिए । यो युद्धको कुरा गर्नासाथ एकाथरिले नाक काटेको कुरा ल्यायर हुन्डरी मच्चाउँछन् । उक्त समुहलाई पङ्क्तिकारको अनुरोध के छ भने त्यो जमानामा नेपाल, हिन्दुस्थान, युरोप, चीन, मुसलमान देशहरूमा समेत ‘धोकाधारी’ काम गर्ने जो-कोहीलाई सेनामा र दुश्मन पक्षमा नाक काट्ने सजाय थियो, कतिपय मुस्लिम देशहरूमा त अहिले पनि छ । अर्को कुरो नेपालमा त वि.सं. १९११ को अन्तिम नेपाल-भोट युद्धमा धोका दिने नेपाली सेनालाई रसुवागढीमा नाक-कान काटिएको दस्ताबेज छन् । अर्को उदाहरण ‘जनयुद्ध’ नाम दिइएको हिजो-अस्तिको आन्तरिक लडाइँंमा समेत माओवादी समुहहरूले मान्छेका के-के काटे ? वर्णन गरेर साध्य छैन । त्यस्ता घटना उस जमानामा गरिन्थे । हो हाल आएर मानवअधिकारको आँखाबाट र संसारले निकालेको युद्ध सन्धिअनुसार पछिका दिनहरूमा यस्ता कार्य दण्डनीय र निन्दनीय छन् ।

कान्तिपुरको युद्ध :

कान्तिपुर पर्खालले घेरिएको बलियो किल्ला थियो । वि.सं. १८२५ को इन्द्रजात्राको दिन मध्यरातमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहकै नेतृत्वमा स्वयंले टुँडिखेल, भीमसेनस्थान र नरदेवी तीन दिशाबाट एकै पटक हमला गरी सफलता मिलेको थियो । मुख्य हमला टोली नरदेवीबाट बढेको थियो । यो लडाइँंमा कान्तिपुरका सेना एक जना पनि मारिएनन् । पृथ्वीनारायण शाह सोही रातमा कान्तिपुरको राजगद्दीमा बसी कान्तिपुरको समेत राजा होइबक्सीयो । त्यसको केही दिनपछि नै पाटन राज्य पनि बिना लडाइँं नेपालमा गभियो ।

भक्तपुरको युद्ध :

पृथ्वीनारायण शाहको मितबाबु राजा रणजित मल्लको राज्य भक्तपुर वरिपरि पर्खालले घेरिएको अति नै बलियो किल्लाको रूपमा रहेको थियो । उपत्यकाको लडाइँमा सबैभन्दा कडा प्रतिकार भएको यस युद्ध दुई दिनसम्म चल्यो । बाक्लो घर बस्ती भएकोले नेपाली सेनालाई घर र दरबारको छानाहरूबाट गोली चलाउनुपरेको थियो । वि.सं. १८२६ मार्ग १ गते (१० नोभेम्वर १७६९) को दिन भक्तपुरमाथि विजय भयो । नेपाल एकीकरणका लडाइँंमा दुवैतिरका सबैभन्दा धेरै सैनिकको मृत्यु भएको यहीबेला हो ।

जुम्लाको युद्ध :

बाइसी राज्यअन्तर्गतको जुम्ला तत्कालीन बाइसी र चौबीसी राज्यहरूमध्येको सबैभन्दा बलियो र बाइस हजार सेना भएको राज्य थियो । यहाँका चौतारा (राजाका भाइ खलक) शोभान शाहीले नेपालको विरुद्ध तिब्बतको दलाई लामालाई सहयोग पुऱ्याउँदै आएका थिए । यस राज्यविरुद्ध नेपाली फौजले आक्रमण गर्नु ठुलो जोखिम मोल्नुसरह थियो । यद्यपी काजी शिवनारायण खत्री, सर्दार प्रवल राना मगर र सर्दार कालु पाँडे (ब्राम्हण)ले नेतृत्व गरेको करिब २००० फौजले तीन दिशाबाट हमला गरी १९ अक्टोबर १७८९ को दिनसम्म पूरै जुम्ला नेपाली सेनाले कब्जा गरेपछि शोभान शाही भागेर तिब्बत गए । यस लडाइँमा नेपाल विजय भएको प्रभावले गर्दा कुमाउँ क्षेत्रसम्मको युद्धमा अरु राज्यहरूले नेपालीसँग डटेर युद्ध लड्ने आँट गर्न सकेनन् ।

कासीको युद्ध :

राजा प्रतापसिंह शाहको पालामा कलकत्ताको लागि नेपाली वकील दिनानाथ उपाध्याय खट्टिएका थिए । त्यसबेला हाल भारतको बनारस इलाका विजयगढ राज्यअन्तर्गत थियो भने राजा चेतसिंह थिए । अङ्ग्रेजहरू राज्य विस्तारको सिलसिलामा बनारस पुग्दा भारतीय मूलका फौजबाहेक सबै अङ्ग्रेजहरूलाई चेतसिंहको फौजले बन्धक बनायो । अङ्ग्रेजलाई आपत परेको त्यस घडीमा गोर्खाली फौजको बहादुरी सम्झियो र कील दीनानाथमार्फत कासीमा पक्रिएका अङ्ग्रेजहरूलाई छुटाउन नेपाली फौज पठाउन अनुरोध प्राप्त भयो । त्यसपछि राजा र भारदारहरूको सल्लाहमा काजी धौकलसिंह बस्न्यातको नेतृत्वमा वि.सं.१८३४ मा ५ कम्पनी फौज पठाइयो । उनको सहयोगी कमान्डर सर्दार पार्थ भण्डारी थिए । तर उक्त बन्धक कान्ड दुईतर्फबाट लेनदेनमा सकिएकोले नेपाली सेना हाल चितौनको माडीमा रहेको सोमेश्वर गढीबाट फर्केको थियो । नेपालको इतिहासमा अङ्ग्रेजको लागि पठाइएको यो पहिलो सैनिक सहयोग थियो । त्यसपछि वि.सं. १९१४ तदानुसार सन् १८५७ मा भारतीय सैनिक बिद्रोह नियन्त्रण गर्न नेपालले फौज पठाएको थियो ।

काँगडाको युद्ध :

नेपाल एकीकरण युद्धमा सफलता हासिल गर्दै पश्चिम हानिएका नेपाली फौजले अति नै बलियोसँग बनेको र पहाडको टुप्पोमा रहेको काँगडा किल्लालाई करिब ४ वर्षसम्म घेराबन्दी गरी बस्यो । यो किल्ला राजा संसार चन्दको थियो । राजा संसार चन्दले पंजावको राजा रणजित सिंहसँग ठूलो सैन्य सहयोग लिएर संयुक्त हमला गरेपछि नेपालीको नराम्रो हार भयो । सेनापति बडाकाजी अमरसिंह थापा नेपालतर्फको कमाण्डर थिए । त्योभन्दा अगाडि नै काजी नयनसिंह थापासहित ३०० जति नेपाली सेनाले यसै किल्लामा वीरगति प्राप्त गरेका थिए । यो युद्ध नेपालीको पक्षमा हुन सकेन र यस भन्दा अगाडि नेपाली सेना बढ्न नसकेपछि वि.सं. १८६६ (२४ अगस्त १८०९) बाट पश्चिमी एकीकरण अभियान अन्त भयो । यो युद्धलाई नेपाल एकीकरणको पूर्णबिराम मान्न सकिन्छ ।

झुंगाको युद्ध :

तिब्बतसँग नेपालले गरेको सन् १७८८ को यो पहिलो युद्धमा करिव १५००० नेपाली फौजले भाग लिएका थिए । राजकुमार बहादुर शाहको नायवीकालमा भएको यो हमला कुती र केरुङ दुई क्षेत्रबाट भएको थियो । कुतीक्षेत्रको नेतृत्व काजी श्रीकृष्ण शाह र केरुङ क्षेत्रको नेतृत्व काजी कीर्तिमानसिंह बस्न्यातले गरेका थिए । केरुङको झुंगामा भएको युद्धमा भोटेहरू हार खाएपछि २ जुन १७८९ मा केरुङको सन्धिबाट युद्ध टुंगियो ।

बेत्रावतीको युद्ध :

भोटले केरुङको सन्धिलाई उल्लंघन गरेपछि सन् १७९१ को सेप्टेम्बरमा काजी अभिमानसिंह बस्न्यातको नेतृत्वमा तिव्बतमाथि दोश्रो पटक कुती र केरुङबाट हमला भयो । नेपालीले पुर्ण सफलता प्राप्त गर्दै रहेको यस युद्धमा पछि गएर चीनले भोटलाई सैन्य सहयोग दिएपछि नेपाली फौजले विलम्ब युद्ध अर्थात् डिलेइङ ब्याटल लडी बेत्रावतीसम्म पछि हट्नुपऱ्यो । काजी दामोदर पाँडेको नेतृत्वमा २० अगस्त १७९२ मा चीन र तिब्बतको संयुक्त फौजलाई बेत्रावतीमा नेपाली फौजले हराएपछि बेत्रावतीमा सन्धि भइ युद्ध अन्त भयो । यसलाई नेपाल-चीन-तिब्बत युद्ध भनिन्छ । नेपालले ‘विजय युद्ध’ लेखेको छ । तर चीनले यसलाई उसको विजय युद्ध लेखेको छ । खाँटी कुरो, बेत्रावतीको सन्धि पढ्ने हो भने यो लडाइँंले नेपाललाई साथ दिएको देखिँदैन ।

जितगढको युद्ध :

यो लडाइँंको लागि मुख्य सैनिक हेडक्वार्टर तानसेन र युद्धकालीन मुकाम नुवाकोट गढी थियो । सुरुमा त अङ्ग्रेजहरू शिवराज (स्युराज) गढी हुँदै पाल्पाको बल्ड्याङ गढी क्षेत्रबाट तान्सेन पुग्ने योजनामा थिए । तर यो बाटो अप्ठेरो भाकोले पछि तिनाउ नदीलाई मुल केन्द्र बनाइ तानसेन कब्जा गर्न अघि बढेका थिए । एक पृतना अर्थात् डिभिजन सेना केवल तिनाउ नदी किनाराबाट मात्र आउँछ भन्ने हामीले कल्पना नगरे हुन्छ । यस्तो हमलामा कम्तीमा पनि ५ किलो मिटरको मोहोडामा अगाडि बढ्छ, बढ्छ । अर्कोतर्फ कर्नेल उजीर सिंहले यो कुरा बुझेर माथा गढी, बल्ड्याङ गढी, दाउन्ने गढी, नुवाकोट गढी, काठे गढी, ब्याक्मी गढी, तिनाउ नदी किनाराको झाडीमा समेत फौज तैनात गरेका थिए । वास्तबमा, यो हाल जित गढी भनिएको यसको खास नाम बुटवल गढी हो र यो नेपाल अङ्ग्रेज युद्धपछि मात्र बनेको तोप हान्ने गढी हो । यस्तो गहिरो स्थलमा इन्फेन्ट्री सेनाको लागि गढी बन्दैन । अर्थात्, नेपाली सेनाको युद्धकलामा यस्तो गहिरो ठाउँमा कतै इन्फेन्ट्री गढी बनाएको छैन, सेन राजाको पालाको गढी भनिएको छ । यो बारेमा थप अनुसन्धान हुनैपर्छ ।

अर्को कुरो यसलाई किन जित गढी भनियो त ? यसको सही जवाफ छैन । राष्ट्रिय अभिलेखालयमा भयको प्रमाणमा समेत बुटवल गढी नै छ । तर यो तिनाहु नदी क्षेत्र र हाल जित गढी बनेको ठाउँबाट नेपाली सेनाले धेरै अङ्ग्रेज मारेकोले वीरताको निसानी पक्कै हो । पाल्पा मोहोडाको बुटवल क्षेत्रमा भयको यो लडाइँंमा नेपालको सत प्रतिसत जित भएको थियो । नेपाल-अङ्ग्रेज युद्धमा पाल्पा क्षेत्रको नेतृत्व कर्नेल उजीरसिंह थापाले गरेका थिए । तानसेलगायत यस क्षेत्रमा हमला गर्न मेजर जनरल जोन सुलिवन उड करिव ५००० असरदार हतियारधारी फौज लिएर ३ जनवरी १८१५ को दिन बटौली (बुटवल) आइपुगे । तिनाउ नदीको किनारबाट नेपालीले स्पोइलिङ एट्याक गरे । धेरै अङ्ग्रेज फौज मरे । त्यसै गरी अन्यत्रबाट घुसपैठ भएको फौजलाई नुवाकोट र काठे गढीबाट बरवाद पारियो ।

नालापानीको युद्ध :

नेपाल-अङ्ग्रेज युद्धमा देहरादुनको नालापानी खोलानजिकको डाँडामा बनेको खलङ्गा किल्लामा बलभद्र कुँवरले महिला र पुरुषसहित करिव ६०० जनाको संख्यामा डिफेन्स लिएर बसेका थिए । उता अङ्ग्रेजको एक पृतना र पछि थप समेत हिसाब गर्दा ४ बाहिनी फौज थियो । त्यसबखतको प्रचलनअनुसार सैनिक अधिकृतहरूले आप्mना श्रीमती र केटाकेटी पनि साथमै राख्ने भएकाले किल्लाभित्र महिला र बालक पनि रहेका हुन् । अङ्ग्रेजले हजारौँ सैन्य र तोपखाना हतियार लगाइ यस किल्लामाथि २४ अक्टोबर देखि ३० नोभेम्बर १८१४ सम्म ३७ दिन लगातार हमला गरे । जनरल जिलेस्पी लगायत सयौँ अङ्ग्रेजी फौज यस युद्धमा मरे । किल्लाभित्र पानी भकारीमा भण्डारण गरेको पिउने पानी सकिएपछि नेपाली सेनाले कारीब एक किलोमिटर तल गहिरोमा रहेको सागर दहबाट बोकेर ल्याइ पानी भकारीमा जम्मा गर्न पाएनन् । सो पानीको मुहान अङ्ग्रेजले कब्जामा लिइसकेको थियो । केही सीप नलागेपछि बलभद्र लगायत बचेका ७० जना जति नेपाली फौजले ३० नोभेम्बरको ०३ः०० बजे बिहानै आफूखुसी किल्ला छाडिदिए । यो युद्धले नेपालीलाई साथ दिएन । युद्ध हारियो । तथापि, यो प्रतिरक्षात्मक युद्धले नेपालको इतिहासमा उच्च स्थान ओगटेको छ ।

देउथलको युद्ध

नेपाल-अङ्ग्रेज युद्ध भएको क्षेत्र मलाउँ किल्लाको ४०० मिटरभित्रै पूर्वतर्फ पर्दछ । नेपाली सेनाको इतिहासमा समेत देउथलको युद्ध भनिएको छ । देउथल यहाँबाट करिव १० किलोमिटर उत्तर विलासपुरतर्फ पर्दछ । यो युद्ध मलाउँकै हो, देउथलको होइन । सुरजगढ किल्ला सेनापति भक्ति थापाको हेडक्वार्टर थियो भने मलाउँ किल्ला बडाकाजी अमरसिंह थापाको गढवाल क्षेत्रकोे सेक्टर हेडक्वार्टर थियो । उक्त दुवै किल्लाहरू हात पार्न हजारौँ अङ्ग्रेज फौजले १४ अप्रिल १८१५ देखि हमला गर्न सुुरु गरेपछि त्यसको प्रतिकार गर्न नेपाली फौजको नेतृत्व ७३ वर्षीय भक्ति थापाले गरी १६ अप्रिलको ०४ः०० बजेबाट अङ्ग्रेजसँग युद्ध सुरु गरे । अङ्ग्रेजलाई बर्वाद पार्ने प्रयासमा अगाडि बढ्दै जाँदा तीन पटकासम्मको प्रयासमा करिब ५ घण्टा जतिको युद्धपछि भक्ति थापाको छातीमा गोली लागी उनले त्यहीँ नै वीरगति प्राप्त गरे । यो युद्धले पनि नेपालीलाई साथ दिएन । ७३ वर्षको वृद्ध सेनापतिको यस्तो उच्च मनोवल र मातृभूमिप्रतिको समर्पण अरु कसैसँग पनि दाँज्न सकिन्न । सरदार अर्थात् कप्तान भक्ति थापाको वीरता र बलिदानीको कदर गरेर केही वर्षअगाडि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भक्ति थापालाई नेपालको राष्ट्रिय विभूति घोषणा गरिएको छ ।

गुन्ता गढीको युद्ध :

नेपालीप्रति तिब्बतले गरेको अमर्यादित व्यवहारबाट आजित भएपछि बाध्य भइ नेपालले प्रधानमन्त्री जंगबहादुर कुँवरको पहलतामा कुती, केरुङ, ओलाङचुङ गोला र हुम्ला-मुस्ताङ क्षेत्रगरी चारतिरबाट हमला गर्ने निधो गरेता पनि सुरुमा केरुङबाट जनरल बमबहादुर राणा र कुती धीरशम्सेर राणाले नेतृत्व गरेको फौजले कुती र केरुङबाट मात्र हमला भयो । ६ मार्च १८५५ मा काठमाडौं छाडेका १७ हजार फौजले तिब्बतमाथि पूर्ण विजय हासिल गरे । केरुङ क्षेत्रको गुन्तागढीमा भएको निर्णायक युद्धले भोटे फौज सन्धि गर्न बाध्य भए । तिब्बतसँग अन्तिमपटक भएको यो युद्ध थापाथलीको सन्धिबाट अन्त भएको थियो । बीचमा गएर यस युद्धको नेतृत्व प्रधानमन्त्री जंगबहादुर कुँवर स्वयंले गरेका थिए ।

भारतमा भएको सिपाही विद्रोह :

बृटिश इतिहासकारले ‘सिपाही विद्रोह’ र भारतीय इतिहासमा ‘पहिलो स्वतन्त्रता संग्राम – सन् १८५७’ भनेर चिनिने यस घटनामा नेपालले तत्कालीन बृटिस इण्डिया सरकारलाई १४ हजारभन्दा बढी फौज दिएर सहयोग गरेको थियो । पूर्ण सफलता पाएको यस सैनिक कारवाहीपछि नेपालको सैनिक सहयोगलाई कदर गर्दै, नेपाल-अङ्ग्रेज युद्धमा गुमाएको प्रदेशमध्ये बाँके, बर्दिया, कैलाली र कन्चनपुर नेपालले फिर्ता पाएको थियो । नेपालले विदेशीहरूलाई सैन्य सहयोग गरेको यो दोस्रो अभिलेख हो । यस कारवाहीमा लप्टन (पछि कमान्डर कर्नेल) बहादुर गम्भीरसिंह रायमाझीले देखाएको बहादुरी प्रशंसनीय थियो । यस सैनिक कारवाहीको नेतृत्व पनि प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले गरेका थिए ।

प्रथम विश्व युद्ध :

सन् १९१४-१८ सम्म भएको प्रथम विश्व यद्धमा तत्कालिन बृटिस-इन्डियाको सहयोगार्थ नेपालले २० पल्टन सेना पठाएको थियो । सो युद्धमा नेपाली सेनाले संवेदनशील क्षेत्रको सुरक्षाको काम गऱ्यो । काकुल र देहरादुन इलाकामा तैनाथ रहेको नेपाली फौजले भारतको विभिन्न क्षेत्रमा पनि काम गरेको थियो । यस युद्धमा फष्ट राइफल, कालीबक्स, पुरानो गोरख, देवीदत्त, कालीबहादुर, बर्दबहादुर, शम्सेरदल, जब्बरजंग, पशुपति प्रसाद, रामदल, शेर, सिंहनाथ, महिन्द्रदल, नयाँ गोरख, सबुज, बरख, भैरवनाथ, दोश्रा राईफल, भैरुङ र श्रीनाथ गणले भाग लिएका थिए ।

अफगान युद्ध :

प्रथम विश्व युद्धपछि अङ्ग्रेज र अफगानीहरूको तेश्रो पटकको युद्ध हुने निश्चित भएपछि २ जुन १९१९ मा अङ्ग्रेजको अनुरोधमा नेपालले पशुपति प्रसाद गण, भैरवनाथ गण, दोश्रा राइफल र भैरुङ चार पल्टनमा २०९७ जना फौज पठायो । अवोदावादमा जम्मा भइ मर्दन र नौसेरामा तालिमी सैनिक अभ्यास गर्दा गर्दै अफगानहरू भागेकाले खासै युद्ध भने गर्नु परेन । अङ्ग्रेजहरू र पछि रसियनहरूलाई समेत पटक-पटकको युद्धहरूमा अफगानीहरूले हराए भने हाल सोही क्षेत्रमा अमेरिकी फौज युद्ध पनि हार खाएर फर्किसकेका छन् । वास्तवमा, नेपाली सेनाले सिक्नुपर्ने युद्धकला भनेको अफगानी सेनासँग हो । गरीब र सानो देसले बिस्वका सक्ती राष्ट्रहरूलाई हराएरै छाडेका नजीर छन् ।

वजिरीस्तानको युद्ध :

वजिरीस्तानको मसुद जातिले अङ्ग्रेजविरुद्ध विभिन्न आतङ्क गरिरहेका थिए । अङ्ग्रेज सरकार प्रथम विश्व युद्धमा फसेको बेलामा मसुदहरूले कडाइको साथ संघर्ष सुरु गरे । भारतका भाइसरायको अनुरोधमा १६ जुन १९१७ मा प्रथम विश्व युद्धमा खट्टिएका नेपाली फौजमध्येबाट फष्ट राइफल गण, महेन्द्र दल गण, भैरवनाथ गण र भारतीय फौजको संयुक्त कारवाहिमा सयौँ आतंककारीहरू मारी सफलता प्राप्त भएको थियो । यस कारवाहीमा उदाहरणीय साहसिक कार्य गरेवापत नेपालमा पहिलो पटक फष्ट राइफल गणको सुवेदार चन्द्रबहादुर कार्की (पछि कर्नेल)ले मिलीटरी क्रस तक्मा पाएका थिए । उनी ओखलढुङ्गामा जन्मेका थिए । प्रथम विश्व युद्धमा नेपालीको इमान्दार सहयोगबाट अङ्ग्रेज सरकार प्रभावित भइ नेपाललाई पूर्ण स्वतन्त्र राज्यको मान्यता दिए । त्यसैगरी श्री ५ महाराजाधिराजलाई ‘हिज हाइनेस’को सट्टा ‘हिज मेजेष्टी’, प्रधानमन्त्रीलाई ‘हिज एक्सेलेन्सी’को सट्टा ‘हिज हाइनेस’, ‘नेपाल दरबार’को सट्टा ‘गर्भमेन्ट अफ नेपाल’को सम्मानको अतिरिक्त वार्षिक दश लाख रूपैयाँ प्रदान गरेको थियो ।

अन्तमा, माथि लेखिएका बाहेक नेपाली सेनाले अन्य धेरै लडाइँंहरू लडेको छ । पछि फेरि लेखिने छ । यो लेखमा दिइएका मितिहरू विक्रम र इस्वी सम्वत् दुवैमा लेखिएकोमा बुझ्न अप्ठेरो पर्न गए इस्वी सम्वतमा ५७ वर्ष थप गरेर विक्रम सम्वत् बनाउन सकिनेबारे पङ्क्तिकार जानकारी गराउँछ ।

(तस्बिरको परिकल्पनाकार लेखक स्वयम्, तस्बिर श्रोत : सैनिक सङ्ग्राहलय, काठमाडौं)