सशस्त्र प्रहरी बलले आफ्नो २३औं वार्षिकोत्सवको अवसर पारेर राष्ट्रव्यापी कविता प्रतियोगिता गर्ने भएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक सबैमा यही पुस २९ गतेभित्र सशस्त्र प्रहरी बल, नेपालको कार्यादेशसँग सम्बन्धित रहेर ३ सय शब्दमा नबढाई [email protected] मा प्राप्त हुने गरी कविता पठाउन भनिएको छ । कविता लेखन तथा वाचन प्रतियोगितामा सहभागी प्रतियोगीहरुमध्ये उत्कृष्टमा परेका १० जनाहरुले आगामी माघ ५ गते सशस्त्र प्रधान कार्यालयमा कविता वाचन गर्ने छन् ।
प्रतियोगितामा सहभागी हुनेले सशस्त्र प्रहरी बल, नेपालको कार्यादेशहरु नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्न, आतंककारी गतिविधि नियन्त्रण गर्न, दंगा नियन्त्रण गर्न, दैवी प्रकोप र महामारीबाट पीडितको उद्धारमा सहयोग पुऱ्याउन, नेपालको कुनै नागरिक वा अरु कसैलाई अपहरण गरिएमा अपहरित व्यक्तिको उद्धार गर्न वा अन्य कुनै किसिमको जघन्य तथा गम्भिर अपराध घटेमा वा गम्भिर प्रकृतिको अशान्ति भएमा वा हुने आशंका भएमा त्यसलाई नियन्त्रण गर्न, नेपालको सीमा सुरक्षा गर्नसमेतमा रहेर लेखन गर्न सकिने छ ।
यस्तै वाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्न, नेपाल सरकारले तोकेको सार्वजनिक महत्वका भवन, संरचना र अन्य स्थल आदिको सुरक्षा गर्न, नेपाल सरकारले सुरक्षा दिनु पर्ने ठहऱ्याएका व्यक्ति र तोकेको संस्था आदिको सुरक्षा गर्न, सशस्त्र प्रहरी बल नेपालको ऐन र ऐनअन्तर्गत बनेको नियममा उल्लेख भएका वा अन्य प्रचलित कानून बमोजिम तोकिएका कार्यहरु गर्न, नेपाल सरकारले समय समयमा तोके बमोजिमका अन्य कार्यहरु गर्न, नेपाल सरकार मन्त्रिपरिषद्को विगत २०६९ असोज ११ गतेको निर्णयनुसार राजश्व, भन्सार तथा औद्योगिक सुरक्षा गर्न र २०७७ पौष १५ गतेको निर्णयनुसार रेलवे सुरक्षा गर्न अन्तर्गत रहेर कविता लेख्नुपर्ने छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वित्तिय पुरस्कार ३० हजार र तृतीय पुरस्कार १५ हजार रुपैयाँ तथा उत्कृष्टमा परेका ७ सात जना प्रतियोगीलाईसमेत जनही ७ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार दिइने एपीएफ मुख्यालयले जनाएको छ ।
प्रतिक्रिया