राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ मनाउने नेपाली सेनाको तयारी

राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ मनाउने नेपाली सेनाको तयारी


नेपाली सेनाको अगुवाइमा यो वर्ष ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ ।

नेपाली सेनाले शनिबार (२१ पुष) गोरखा दरबारबाट श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको फौजले नेपाल एकीकरणको दौरान प्रयोग गरेको मार्ग हुँदै पदयात्रा गर्दैछ । पदयात्रा धादिङ तथा नुवाकोट हुँदै काठमाडौं आइ नगर परिक्रमापछि पुस २७ गते जङ्गी अड्डामा आयोजना गरिने विशेष कार्यक्रमका बीच श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा सलामी अर्पणपछि समापन हुने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका आरम्भकालीन पाँच कम्पनी श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी र सबुजको झण्डा तथा दिपज्योतिसहित ऐतिहासिक सैनिक पोशाक लगाएर र परम्परागत बाजा बजाउने छ ।

राष्ट्रिय एकता दिवसका अवसरमा पुस २७ गते जङ्गी अड्डास्थित सभामण्डपमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेशसम्बन्धी प्रवचन, लघु नाटक प्रदर्शन, कविता प्रतियोगिता आयोजना गरिने छ ।

यसैगरी देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न एकाइमा पनि विविध कार्यक्रम आयोजना गरिने उक्त निर्देशनालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।