विद्युतीय सवारीसाधनको ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा

विद्युतीय सवारीसाधनको ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा


चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् । झण्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो ।

सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डिसी चार्जर बिग्रेको जनाइएको छ । हाल एउटा एसी चार्जर मात्र सञ्चालनमा छ ।

एसी चार्जरबाट सवारीसाधन चार्ज गर्दा ढिलो हुन्छ । गाडी चार्ज गर्न पुगेका गोरखाका ध्रुव गुरुङले चार्जिङ स्टेसन बिग्रँदा हैरानी ब्यहोर्नुपरेको गुनासो गरे । एसी चार्जरबाट चार्ज गर्दा घण्टौँ कुर्नुपर्ने समस्या रहेको उल्लेख गर्दै उनले २० मिनेटमा गाडी जम्मा ६ प्रतिशत चार्ज भएको बताए । ‘नबिग्रेको अवस्थामा झण्डै एक घण्टामा पूरै चार्ज हुन्थ्यो, अहिले त दुई तीन घण्टा कुर्नुपर्छ’ भन्दै उनले सरकारले विद्युतीय सवारीसाधन प्रयोगमा जोड दिए पनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रेका स्टेसनको समयमै निर्माण गर्ने कुरामा ध्यान नदिएको गुनासो गरे ।

चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दिगोका आयोजना व्यवस्थापक शिव अधिकारीले चार्जिङ गर्ने नोजल फुटेका कारण समस्या भएको स्वीकार गर्दै चार्जिङ स्टेसनमा फेर्नुपर्ने सामान मगाइसकेको र एक दुई दिनमै आउने जानकारी दिए । ‘भन्सारमा सामान आएको हप्तादिन भयो, सम्भवतः आजै भन्सार छुटेर सामान काठमाडौं आइपुग्छ ।”’एक/दुई दिनमा प्राविधिक टोली पठाएर मर्मतको काम गरिने उनले बताए ।

आयोजना व्यवस्थापक अधिकारीका अनुसार नेपाल विद्युत् प्राधिकरणमार्फत देशभर ६२ चार्जिङ स्टेसन निर्माण गरिएको छ । केही स्टेसनमा समस्या देखिएको छ । देशभर चार्जिङ स्टेसनका १५३ मध्ये २० मा समस्या देखिएको छ । उनले सबै स्टेसनमा बिग्रिएको मर्मत तत्काल सुरु गरिने जानकारी दिँदै चार्जर प्रयोग गर्दा सेवाग्राहीले सावधानी नअपनाउँदा पनि समस्या आएको तर्क गरे । सवारीसाधन चार्जका विषयमा उपभोक्तालाई धेरै कुरा जानकारी गराउनुपर्ने उनको भनाइ छ ।

ज्ञातव्य छ, चितवनमा केन्द्रीय बस टर्मिनल र मुग्लिनमा नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।

तस्बिर : रासस