राष्ट्रियसभा सदस्य निर्वाचन : २ हजार २७ मतदाता, मतभार ५७ हजार ५५९

राष्ट्रियसभा सदस्य निर्वाचन : २ हजार २७ मतदाता, मतभार ५७ हजार ५५९


  • सुरेन्द्र सुवेदी, काठमाडौं

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा २ हजार २७ जना मतदाता र उनीहरूको मतभार ५७ हजार ५ सय ५९ रहने भएको छ ।

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता सङ्ख्या ९३ तथा तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या २ सय ७४ गरी कूल ३ सय ६७ जना मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ४ हजार ९ सय २९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५ हजार २ सय ६ समेत १० हजार १ सय ३५ मतभार रहेको निर्वाचन आयोगले जनाएको छ ।

मधेस प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता संख्या १ सय ७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या २ सय ६७ समेत ३ सय ७४ जना मतदाता रहेका छन् । यो प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५ हजार ६ सय ७१ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५ हजार ७३ समेत १० हजार ७ सय ४४ कूल मतभार रहेको छ ।

बागमती प्रदेशमा प्रदेश सभा सदस्यतर्फ मतदाता संख्या १ सय १० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या २ सय ३७ समेत ३ सय ४७ मतदाता रहेका छन् । उनहरुको मतभार १० हजार ३ सय ३३ रहेको छ । गण्डकी प्रदेशमा कूल मतदाता २ सय ३० जना र उनीहरुको मतभार ६ हजार ४ सय १० रहेको छ ।

यस्तै, लुम्बिनी प्रदेशमा कूल मतदाता ३ सय ५ जना र कूल मतभार ८ हजार ७ सय ५३ रहेको छ । कर्णाली प्रदेशमा कूल मतदाता १ सय ९६ जना र उनीहरुको मतभार ५ हजार ८४ रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा ५२ जना प्रदेश सभा सदस्य रहेका छन् । यो प्रदेशमा पालिकाप्रमुख तथा उपप्रमुखसमेत २ सय २८ जना मतदाता रहेका छन् । उनीहरुको कूल मतभार ६ हजार १ सय रहेको छ ।