बाँकेको सीमा क्षेत्रमा सौन्दर्यीकरण

बाँकेको सीमा क्षेत्रमा सौन्दर्यीकरण


बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका जमुनाहस्थित नेपाल-भारत प्रवेशद्धारमा सशस्त्र प्रहरी बल, नेपालद्वारा सीमाक्षेत्र सौन्दर्यीकरण कार्यक्रमको सुरु भएको छ । कार्यक्रम ५ नम्बर बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीको तत्वावधान र नेपालगंज उप-महानगरपालिकाको सहकार्यमा ३० नम्बर बागेश्वरी गण बाँकेले आयोजना गरेको हो ।

कार्यक्रमअन्तर्गत जमुनाहस्थित नेपाल-भारत प्रवेशद्वारको सरसफाइ र रंगरोगनसहित गमलामा विभिन्न प्रजातिका बिरुवा र फूल राखिएका छन् भने प्रवेशद्वारमा राष्ट्रिय झण्डा समेत राखिएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालको क्विक इम्प्याक्ट प्रोजेक्टअन्तर्गत बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीको सौजन्यमा स्थानीय बासिन्दा र नेपाल भारत सीमा आवतजावत गर्ने सर्वसाधारणका लागि युभि फिल्टरजडित शुद्ध खानेपानीसमेत राखिएको छ । झण्डोत्तोलन तथा खानेपानी सेवाको सशस्त्र प्रहरी बल बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्री, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल तथा नेपालगंज उप-महानगरपालिका प्रमुख प्रशान्त बिष्टले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै नेपालगंज उप-महानगरपालिकाका मेयर प्रशान्त बिष्टले सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा गर्ने यस प्रकारका कार्यहरुमा नेपालगंज उप-महानगरपालिकाले सदैव सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सशस्त्र प्रहरी बल, नेपालले गरेका यस्ता कार्यहरु सराहनीय रहेको बताए ।

बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीले सीमा क्षेत्रमा सौन्दर्यीकरण गर्ने कार्यलाई अभियानको रुपमा क्रमशः अन्य जिल्लामा समेत संचालन गर्ने र सशस्त्र प्रहरी बल, नेपालले क्विक इम्प्याक्ट प्रोजेक्टको रुपमा सर्वसाधारणलाई तत्काल सेवा प्रदान गर्न खानेपानीलगायतका सेवाहरु उपलब्ध गराउने कार्यको शुरुआतसमेत गरिएको जानकारी दिए ।