सट्टाबाजीकै रूपमा अनलाइनमा क्यासिनो गेम

सट्टाबाजीकै रूपमा अनलाइनमा क्यासिनो गेम


क्यास एप, मिल्की वेजस्ता एप्लिकेसनमार्फत हारजित हुनेगरी अनलाइन क्यासिनो गेम खेलाउने क्रम दिनदिनै बढ्दो छ । सट्टाबाजीकै रुपमा फाइदा हुनेभन्दै युवाहरुलाई बाजी राख्न लगाएर पैसा ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तो सट्टाबाजी फुटवल र क्रिकेटका विश्वस्तरीय प्रतियोगिता हुँदा बढी हुने गरेकोमा अहिले भने प्रविधिमा पहुँच भएका युवाहरू सामान्य अनलाइन गेममा पनि सट्टाबाजी गर्न थालेका छन् ।

यस्तो कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खोजीमा प्रहरी रहेको जनाउँछ । पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-१ स्थायी घर भएका र हाल काठमाडौं कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, भक्तपुर सूर्यविनायक नगरपालिक-४ अनामनगर बस्ने सर्लाही बागमती नगरपालिका-७ का २१ वर्षीय निशानराज कार्की र भक्तपुर सूर्यविनायक नगरपालिका-४ अनामनगर बस्ने सर्लाही बरथहवा नगरपालिका-११ हिरापुरका २५ वर्षीय निशान गौतम छन् ।

विभिन्न खेलमा ‘अनलाइनमार्फत बाजी राख्दा जितिन्छ’ भन्दै विश्वासमा पारखेर हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राख्दै रकमको बाजी राख्न लगाइ सट्टावाजी गराई खेल खेलाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीका अनुसार राजधानीमा अनलाइन खेलमार्फत ठगी भइरहेको र त्यस्ता कार्यमा संलग्नलाई कार्यालयले निगरानीमा राखिरहेको छ । अनलाइन क्यासिनो खेलाउनेको जानकारी भए प्रहरीलाई खवर गर्न कार्यालयले आग्रह पनि गरेको छ ।