क्यानद्वारा पूर्वकप्तान लामिछाने निलम्बित

क्यानद्वारा पूर्वकप्तान लामिछाने निलम्बित


नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा निजलाई दोषी ठहर गरी सजाय निर्धारण गरेकाले घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आज एक विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई बुधबार आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने फैसला सुनाएको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले उक्त सजाय सुनाएको हो । यही पुस १३ गते ‘गौशाला–२६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई अदालतले दोषी ठहर गरेको थियो ।

अदालतले लामिछानेलाई आठ वर्ष कैद रु तीन लाख जरिवाना र रु दुई लाख क्षतिपूर्ति निर्धारण गरेको छ ।

फैसलाबाट असन्तुष्ट लामिछानेका कानुन व्यवसायीले पुनरावेदनमा जाने जनाएका छन् ।