सेतोपहरा कार दुर्घटना : एकै परिवारका पाँच जनाको मृत्यु

सेतोपहरा कार दुर्घटना : एकै परिवारका पाँच जनाको मृत्यु


काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ पानीघाटनजिक हिमचुली सेतोपहरामा शनिबार दिउँसो भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

दुर्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिएका छन् ।

काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको प्र३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भइ सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेर दुर्घटना भएको थियो । अपराह्न १ः५५ बजेको समयमा भएको दुर्घटनाबाट एकै परिवारका चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमै मृत्यु हुनेमा काठमाडौं मैतिदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं लाजिम्पाटका डा. महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतम थिए ।

दुर्घटनामा स्मारिकाकी आमा डा. सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।