राप्ती बस दुर्घटनाको कारण चालकको लापर्वाही, मृतक सबैको सनाखत

राप्ती बस दुर्घटनाको कारण चालकको लापर्वाही, मृतक सबैको सनाखत


शुक्रबार राति साढे १० बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती नदीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ ।

मृत्यु हुनेमा बाँकेका चार जना, भारतीय नागरिक तीन जना, रुकुमपश्चिम, चितवन, मकवानपुर, काठमाडौं र जुम्लाका एक/एक जना छन् । दुर्घटनामा परी बाँके खजुरा गाउँपालिका-३ का सञ्जय केसी, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, बाँके कोहलपुर-८ का २८ वर्षीय अर्पण थापाले ज्यान गुमाएका छन् ।

त्यस्तै, रुकुम साविक गोतमकोट गाउँपालिका-९ का २५ वर्षीय दीपक कामी, चितवन भरतपुर नगरपालिका-२५ का ३५ वर्षीय अनिल खड्का, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरिका ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, भारत विहारका ६७ वर्षीय जोगेन्द्र राम, भारतजी बहराइज नानपारा बग्लु भौतपुरका ४५ वर्षीय चेतराम सिल्पकार र भारत उत्तर प्रदेशका ३१ वर्षीया मुनेको मृत्यु भएको हो ।

सो दुर्घटनामा परी २१ जना घाइते भएका छन् । मृत्यु भएकामध्ये १० जनाको शव परीक्षण भइसकेको छ भने दुई जनाका आफन्त नआएकाले शव परीक्षण हुनसकेको छैन । शवलाई लमही अस्पतालमा राखिएको छ ।

दुर्घटनामा परी २४ जना घाइते भएका थिए । घाइतेमध्ये चार जना गम्भीर, ११ जना मध्यम र नौ जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । घाइतेमध्ये तीन जनाको उपचारपछि डिस्चार्ज भइसकेको छ भने आठ जनाको बुटवल र १३ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

चालकको लापरवाहीका कारण दुर्घटना : प्रहरी

दुर्घटना चालकको लापरवाहीका कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । इन्ट्री नगरी तीव्र गतिमा कुदाउँदा बस अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताए ।

‘चालकले सपट बिग्रिएर दुर्घटना भएको वयान दिएका छन्, तर हामीलाई त्यस्तो लाग्दैन, नजिकै प्रहरीको इन्ट्री प्वाइन्टमै नरोकेर तीव्रगतिमा लिएकाले दुर्घटना भएको हाम्रो निष्कर्ष छ’, प्रहरी नायब उपरीक्षक मल्लले भनेका छन् ।

बस दुर्घटनामा सात जनाको घटनास्थलमै र पाँच जनाको उपचारका क्रममा निधन भएको हो ।

photo: rss