वैश्विक ध्रुवीकरणले निम्त्याएको महायुद्ध : शक्ति सन्तुलनमा फेरबदल हुने संकेत !

वैश्विक ध्रुवीकरणले निम्त्याएको महायुद्ध : शक्ति सन्तुलनमा फेरबदल हुने संकेत !


मानिसले प्रकृतिलाई लडेर जित्न सक्दैन तर प्रकृतिमैत्री बनाएर आफूलाई लामो कालसम्म बचाउन भने सक्छ । पुँजीवादी दर्शनको सैद्धान्तिक आधार नै मानव स्वभावको प्राकृतिक प्रवृत्तिविरुद्ध छ ।
✍ डिल्ली अम्माई

कुनैबेला कमजोर भएको शक्तिलाई सधैंभरि कमजोर रही रहन्छ भनेर हेप्नु हुँदैन, हियाउनु हुँदैन । क्षेत्रीय सुरक्षाको सन्दर्भमा रुसले राखेका जायज प्रस्तावहरूलाई कमजोरीको रूपमा बुझ्दा वा मिचमाच पारेर फाल्दा आज युक्रेनले अकल्पनीय दुर्गति ब्यहोरिरहेको छ । रुस, युक्रेन र उसका छिमेकी देशहरूको सुरक्षा-चिन्तालाई ख्याल गरेर टर्कीको पहलमा स्तान्बुलमा गत वर्ष एक सम्झौता भयो । बेलायत र अमेरिकाले उक्त सम्झौतामा आफू साक्षी बस्न नसक्ने भन्दै युक्रेनलाई अस्विकार गर्न लगाए ।

युद्ध सुरु हुनुअगाडि नै क्षेत्रीय शान्तिको लागि भन्दै रुसले नाटो र युक्रेनलाई एक प्रस्ताव पठायो । तर रुसको उक्त प्रस्ताव अमेरिका तथा नाटोले छलफलसमेत नगरी अस्विकार गरे, प्रस्तावको धज्जी उडाए । त्यसपछि रुसले बाध्य भएर युद्धमा होमिने निर्णय गरेको सत्य आज पश्चिमा मिडियाहरूमा लुकाइएको छ ।

आजसम्मको युद्ध परिणामलाई हेर्दा रुसको शक्तिका अगाडि नाटोभित्रका सबै सामरिक प्रविधि कमजोर देखिएका छन् । अजय शक्तिको रूपमा मिथक भएर संसारमा लुट मच्चाइरहेका नाटोका देशहरूका च्यालेञ्जर, अब्राहम र लियोपार्ट ट्यांक रुसको सामरिक शक्तिका अगाडि कवाडी सावित भएका छन् । आफैँले बनाएको चक्रब्युहमा अमेरिका आफै फस्दै गइरहेको छ । इतिहासका पाँच खतरनाक युद्ध जितेको इजरायल जाबो हमाससँग गाजामा फसेर अमेरिकी विदेशमन्त्रीलाई मध्येपूर्वमा गुहार माग्न कुदाइरहेको छ । मण्डेलाको देश दक्षिण अफ्रिकाले इजरायलविरुद्ध आम नरसंहारको मुद्धा निदरल्याण्डको हेगमा अवस्थित अन्तर्राष्ट्रिय अपराध अदालतमा दर्ता गरि पहिलो चरणको सुनुवाइसमेत सकिएको छ । यी घटनाले अमेरिकाको बाइडेन सरकार र उसको कठपुतली इजरायल सरकार विश्व जनमतमा नाङ्गेझार भएको छ । कुनै बेला अपराजय मानिएको शक्तिको यो हविगत होला भनेर दुनियाँमा कसैले कल्पना गरेको समेत थिएन ।

इजरायललाई हमाससँगको लडाइमा युद्धमा युद्धविरामको लागि संयुक्त राष्ट्र संघमा ल्याइएको प्रस्ताव अमेरिकाले भिटो लगाएर छलफल नै हुन दिएको छैन । यसले अमेरिका र इजरायलको मानवअधिकार र प्रजातन्त्रको कथित अनुहारलाई नाङ्गेझार पार्दै लागेको छ । इजरायली सेनाले गाजामा हम्जालगायत १०९ जना पत्रकारलाई छानी-छानी मारेको छ । लडाइँमा पनि पत्रकारलाई मार्न पाइँदैन तर त्यो सिमा इजरायली सेनाले इन्कार गर्दै आफूलाई संसारकै सबैभन्दा बर्बर र क्रुर सत्ताको रूपमा सावित गर्दै लागेको छ ।

मध्येपूर्वमा युद्ध फैलिने क्रममा छ । अमेरिका र इजरायली सत्ताको बर्बरता विरुद्ध विश्वब्यापी प्रदर्शन तीव्र बन्दै गइरहेका छन् । इरान आफ्नो कमान्डरको शोकसभामा भएको आक्रमणको बदला लिन भूमध्य सागरतिर हिँडेपछि अमेरिका उक्त क्षेत्रबाट भागेको छ । मध्यपूर्वमा अमेरिकाको पक्षमा बहराइन मात्र प्रतक्ष रूपले देखिएको छ । साउदी र संयुक्त अरब इमिरेटको भूमिका खासै स्पष्ट देखिएको छैन । अमेरिकन धम्कीपछि उसले अमेरिकालाई युद्धक विमान अवतरण गर्ने स्पेस र ग्राउण्ड उपलब्ध गराएकोले यी दुई अरबियन मुलुकभित्र असन्तुष्टि चुलिँदै गएको छ ।

इजरायलले नर्दन लेबनानका गाउँहरूमा प्रयोग गर्न ब्याण्ड भएको फस्फोरस बम हानिरहेका खबर आएका छन् । बेलायतले त युद्धमा त्यस्ता घातक बम प्रयोग गर्न पाउनुपर्ने जिकिर गरिरहेको छ ।

इरानले जनवरीको दोश्रो शुक्रबार देशको धार्मिक केन्द्र कोममा अवस्थित जमकरन मस्जिदको टुप्पोमा रातो झण्डा फहरायो, कासिम सुलेमानीको स्मारकमा भएको बम विष्फोटबाट कम्तिमा ८४ शोकसभामा उपस्थित मानिस मारिएपछि प्रतिशोधको संकेत स्वरूप उक्त झण्डा फहराइएको हो । यसले इरान समेत युद्धमा तानिन सक्ने खतरालाई झनै नजिक ल्याएको छ ।

इजरायल भूमिभित्र चलेको द्वन्द्वलाई हेर्दा मध्यपूर्वमा क्षेत्रीय युद्ध भड्किने सम्भावना प्रष्ट देखिँदै छ । गाजामा हमास र इजरायल युद्धले अमेरिका र इजरायललाई आफैले थापेको ट्रयापमा पार्दै लगेको छ । इजलायललाई हमास, हुथी, हिजबुल्ला, इराक र इरानसँग एकै साथ युद्ध लड्नुपर्ने अवस्थामा पुऱ्याउँदै छ । अमेरिका आफैं युद्धमा होमिन सक्ने अवस्था छैन । अमेरिकामा चुलिँदै गएको ऋणले अवस्था नाजुक छ । लालसागरबाट भागौँ महाशक्तिको शान गुम्ने नभागौँ युक्रेनमा जस्तै ट्रयापमा परिने खतरा ।

उता उत्तर कोरियाले युद्ध अवश्यम्भावी छ भन्दै युद्धको तयारी गर्न सेनालाई आदेश दिइसकेको छ । उसले दक्षिण कोरियालाई आफ्नो पहिलो दुश्मनको संज्ञा दिँदै द्वन्द्वनिषेधित टापुमा गोला बर्साउन थालिसकेको देखिन्छ ।

त्यस्तै, युक्रेन र रसिया युद्धले अमेरिका, स्पेन, फ्रान्स, हंगेरीलगायत युरोपियन देशहरू बीच अन्तरविरोध चर्काउँदै लागेको छ । इरान आउने चाल पाएपछि भू-मध्ये सागरबाट अमेरिकी युद्धपोतको पलायन मात्र भएको छैन इरान र इजरायललाई युद्धमा फसाएर त्यहाँबाट भाग्ने चालबाजी गरिरहेका संकेतहरू देखिँदै छन् । लाल सागरमा हुथीसँग पश्चिमा र इजरायलको टकरावले अमेरिकाको सातो लगेको छ ।

फ्रान्सलगायत युएनओ संरक्षित पश्चिमा बर्चस्वको अफ्रिकाको साहेल क्षेत्रबाट अन्त्य भएको छ । यसको मतलव अफ्रिकामा उठेको जागरणले साम्राज्यवादी फ्रान्स, अमेरिका तथा युरोपियनहरूको अधिपत्यलाई लगभग मिल्क्याइसकेको छ । अमेरिका तथा उसको कठपुतली इजरायली सरकारका आइरन डोम, युद्ध प्रविधि तथा त्यसको खुफिया मोसादका बारेमा चलाइएका मिथक वा प्रोपागान्डा केवल कागजी बाघ मात्र भएको हमास इजरायल युद्धले प्रमाणित गरिदिएपछि पश्चिमा साम्राज्यवादविरुद्धको मोर्चाको हौसला चुलिएको छ । जसलाई क्रमश निम्नानुशार विश्लेषण गर्न सकिन्छ :

१) रुस-युक्रेन युद्धमा नाटोको पराजय निश्चित र युक्रेन रुसमा बिलय हुने सम्भावना :

इतिहासमा युक्रेन वास्तवमा रुसकै एक भाग थियो । जारको पालामा समेत युक्रेन रुसको एक भाग थियो र रुस साम्राज्यको राजधानी किभ नै थियो । सोभियत संघ कमजोर भएको बेला पश्चिमा मिसनमा युक्रेनलाई अलग देश घोषणा गराइएको थियो । सोभियत संघको विघटन अमेरिकी स्वार्थमा भएकोले उसले युक्रेनलाई पनि अलग देश घोषणा गर्न बाध्य बनाएको थियो ।

अबको रुस ९०को दशकको जस्तो कमजोर रुस छैन, न त चीन नै कमजोर छ । उत्तर कोरिया, इरान, ब्राजिल र दक्षिण अफ्रिका लगायतका शक्तिहरू पनि अत्यन्त शक्तिसाली बनेर आएका छन् । रुसको नेतृत्वमा सामरिक शक्ति एकीकृत गर्न उनीहरूबीच मोर्चाबन्दी भएको छ ।

त्यसैले अहिलेसम्मका सबै युद्धमा अपराजय शक्तिको रूपमा रहेको रुसलाई समाप्त पार्न पश्चिमा शक्तिहरू लागिरहेका छन् । त्यसकै परिणाम एक कमेडियन यहुदी मुलका भोलोडिमिर जेलेन्स्की (Volodymyr Oleksandrovych Zelenskyy) लाई सत्तामा ल्याएर रुस-युक्रेन युद्ध भड्काउन सहज हुने आंकलन नाटोको थियो । तर परिणामहरू अमेरिकाले सोचेभन्दा उल्टो दिशामा जान थालेका छन् । रुसको उर्जालाई लिएर युरोप तथा अमेरिका, पश्चिमा ब्लक र भारत, ल्याटिन, अफ्रिका, सिनो रसियन धुरी तथा पश्चिमा देशहरूका मत एकापसमा बाझिएका छन् । गाजाको तेल कब्जा गर्न अमेरिकाको उक्साहटमा भएको युद्धमा अमेरिका आफै फस्दै गइरहेको छ भने यहुदी राज्य इजरायलको भ्रामक अजय शक्तिको मिथकले हावा खाइ सकेको छ ।

फ्रान्सले रुसले युक्रेनको रुसद्वारा कब्जा गरिएको भूमि फिर्ता गर्नुपर्ने, रुसको सुरक्षा चिन्तालाई पश्चिमाहरूले सम्मानपूर्वक संबोधन गर्नुपर्ने र आफूले कुनैपनि हालतमा रुसविरुद्ध आणविक अश्त्र प्रयोग नगर्ने आफ्नो अडान रहेको जनाइसकेको छ । फ्रान्स, इटाली र स्पेनले लाल सागरमा अमेरिकी कमाण्डमा घोषणा गरिएको एकीकृत प्रतिकारमा अमेरिकी कमाण्डलाई अस्विकार गरिदिएका छन् । हामीले यी सबै कुरालाई नाटोभित्र झाङ्गिदै गरेको अन्तरविरोधको बहुआयामिक कडीको रूपमा बुझ्नु पर्दछ ।

सोभियत संघको विभाजनपछि नाटोको बिस्तारलाई लिएर पश्चिमा शक्ति र रुससँग भएको औपचारिक समझदारी र मिन्स्क सम्झौताको उलंघनले युरोपियन युनियन बीचमै नयाँ संकटहरू पैदा गराएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । त्यो सम्झौता युरोपियन सान्तिको लागि भनेर प्रचार गरिएको थियो तर जर्मनीकी पूर्व चान्सलर एन्जेला मार्केलले सन् २०१४ र १५ मा गरिएको ‘मिन्स्क सम्झौता रुसका विरुद्ध लड्न युक्रेनलाई तयारीको लागि समय दिलाउने रणनीतिबाट गरिएको थियो’भन्ने अभिव्यक्ति दिएपछि विश्व राजनैतिक वृत्तमा आशंका पैदा भएको हो ।

मार्केलकै पालामा भएको मिन्स्क सम्झौता जर्मनी, फ्रान्स र रुसको मध्यस्थतामा युक्रेनी सरकार र डोनबास क्षेत्रका रुसीभाषी युक्रेनीहरूका बीचको युद्धलाई रोक्नका लागि गराइएको थियो । तर पश्चिमाहरू विशेषगरी अमेरिकन र बेलायतीहरूले त्यसलाई कहिल्यै कार्यान्वयन गर्न दिएनन् र अन्त्यमा विकासको आफ्नै मौलिकतामा उभिन खोज्दै गरेको रुसको छिमेकी राष्ट्र युक्रेनलाई रुससँगको युद्धमा धकेली दिए ।

उनीहरूले युक्रेनलाई वर्षौसम्म उठ्न नसक्ने गरि युद्धमा फसाउनुको मुख्य उद्देश्य केवल रुसको सामरिक क्षमता समाप्त पारेर साधन श्रोत कब्जा गर्नु मात्र नभइ युक्रेन युद्धलाई युरोपभरि बिस्तार गरि युरोपलाई कमजोर गराउँदै अनन्तकालसम्म अमेरिकाको सुरक्षा छाताभित्र ल्याउनु रहेको थियो । तर अमेरिकी बाइडेन प्रशासन र बेलायतको यो उद्देश्यलाई राम्रैसँग बुझेका फ्रान्स र जर्मनले युद्धलाई फैलिनबाट रोक्न अथक प्रयास गरे । आंशिक सफल पनि भए ।

युक्रेनको जेलेन्स्की सरकारले अमेरिकी निर्देशनमा १७० किलोमिटरबाट नाटोको सदस्य राष्ट्र पोल्याण्डमा मिसायल प्रहार गर्न लगाउनु, बेलायतले पनडुब्पीमार्फत रुसको पुलमा आक्रमण गर्नु, नर्द स्टिम २ मा आक्रमण गरि ग्याँस पाइपलाइनमाथि क्षति पुऱ्याउनु अमेरिकी ब्लकका युद्ध फैलाउने चालबाजीहरू थिए तर फ्रान्स, जर्मन, रुस लगायतका राष्ट्रहरूको संयमताले तत्कालको लागि युद्ध रुस र युक्रेनबाट अनेत्र फैलिन पाएन ।

अहिले रुस-युक्रेन युद्धबाट कुनै लाभ हुने नदेखिएपछि अमेरिका युक्रेनलाई दिने घाटाको सौदा रोकेर भाग्ने तरखरमा छ । विश्लेषकहरूका अनुशार अमेरिकाले युक्रेनमा सैनिक ‘कु’ गराउन लागेको आशंका गरेका छन् । भनिन्छ, जेलेन्स्कि ‘कु’मार्फत जेलमा जाकिन वा मारिन सक्छन् ।

झन्डै ४ लाख युक्रेनी सैनिक र नागरिकको ज्यान लिएको, करोड भन्दा बढी नागरिकलाई देश छोड्न बाध्य बनाएर अमेरिकी स्वार्थमा लडिएको रुस-युक्रेन युद्धले युरोपमा मात्र नभएर विश्वभर आर्थिक संकट बढाएको छ । भनिन्छ, अमेरिकी सरकारको ३४ ट्रिलियन डलरको बढ्दो राष्ट्रिय ऋण अमेरिकी अर्थतन्त्रको लागि आत्मघाती हुने देखिन्छ । अमेरिकीहरू ऋण लिएर युद्ध गरिरहेका छन् । ऋण लिएर युक्रेन र इजरायललाई सामरिक सहयोग गरिरहेका छन् । अमेरिकीहरू ऋणको भारले असक्त बन्दै गैरहेका छन् । यदि उनीहरूले अरुलाई लुटेर नै आफ्नो ऋण चुक्ता गर्ने सपना देखेका हुन् भने उनीहरू पनि विभाजनको चपेटामा परेर कमजोर राष्ट्रमा परिणत हुने छन् भने इजरायल र युक्रेनहरू ब्ल्याकबेरी फोन झैँ इतिहासमा सीमित हुने छन् ।

अमेरिकी बजेट कार्यालयको अनुमानअनुसार, सन् २०३० को शुरुवातसम्ममा त्यहाँको सरकारी खर्च यसको राजस्वभन्दा माथि पुग्ने छ । राजनैतिक विश्लेषकहरूको एक अनुमानअनुसार, डेमोक्र्याट र रिपब्लिकनहरूको द्वन्द्वले अमेरिकामा राजनैतिक अराजकताको चरणमा प्रवेश गराउने छ । त्यो अराजकताले अमेरिका गृहयुद्धमा प्रवेश गर्ने छ । उक्त गृहयुद्धबाट अमेरिकाका चार देश तत्काल अलग हुने छन् भने अन्य राज्यहरूमा पनि विद्रोहको आगोले प्रवेश पाउने छ । ट्रम्पलाई आगामी चुनावमा रोक्न वा निषेध गर्न गरिएको प्रयासले अमेरिका द्वन्द्वको चरणमा प्रवेश गरेको आभास दिँदैछ । अमेरिकामा गृहयुद्ध भयो भने प्रत्येक घरमा रहेका बन्दुक र मेशिनगनहरू प्रयोग हुने छन् ।

सन् २०२४ भित्र अमेरिकाले ब्यहोर्नुपर्ने आन्तरिक युद्ध र अर्कोतिर लाल सागर लगायतमा भड्किँदै गइरहेको बर्चस्वको युद्धले अन्तराष्ट्रिय रूप लिन सक्ने सम्भावना प्रवल देखिन्छ ।

विभिन्न चरणमा भएका सम्झौतामा भएको धोकाधडी र साधन श्रोत कब्जा गर्ने होडबाजीहरूबाट थोपरिएका युद्ध तथा आतंकको कारण उसको समर्थन विश्वब्यापी रूपमा कमजोर हुँदै गैरहेको छ । आफ्नो राष्ट्रिय स्वार्थमा अमेरिकी रणनीति हानिकारक देखेका धेरै देशहरू अहिले विश्वमा अर्को ध्रुवको आवश्यकता महसूस गरि गोलबन्द हुने क्रम तीव्र छ । जसरी अमेरिकाले जर्मन, फ्रान्स लगायतको फरक मतका कारण अंग्रेजीभाषी देशहरूको छुट्टै सामरिक संगठन एङ्ग्लो सेक्सन र फाइभ आइज नामक जासुसी संस्था निर्माण गरेको छ, त्यसैगरी ब्रिक्स र संघाई कर्पोरेशनमा संगठित हुने देशको संख्या बढ्दै गइरहेको छ । डि-डलराइजेसनले गति लिने क्रम तीव्र छ ।

अमेरिकी सुरक्षा छाताभित्र रहेका युरोपियन युनियन र जापानले पनि आफ्नो सुरक्षाको लागि अलग सामरिक क्षमताको लागि बजेट बिनियोजन गरिसकेका छन् । यसको अर्थ, अब फ्रान्स, जर्मन, स्पेन, हंगेरी, टर्कीहरूलाई अमेरिकाको ‘अरुलाई प्रयोग गरिरहने’नीति प्रति कुनैपनि बेला अफगान र युक्रेनमा जस्तै धोका हुनसक्ने भय छ । यसर्थ जर्मन, मध्यपूर्व, अफ्रिका र ल्याटिन अमेरिकाका देशहरूले आफ्नो अर्थतन्त्रको बचावको लागि चीन र रुससँग नयाँ-नयाँ सम्झौताहरू गर्दै गएका छन् ।

केही समयअघि चीन र प्रमूख अरब देशहरू साउदी अरबिया, इजिप्ट, कतार, सुडान, इराक, कुबेत, फिलिस्तिन, लिविया लगायतका अरब देशहरू सम्मिलित सम्मेलनमा साउदी अरेबीयाले चीनसँग हुवावे ५-जी नेटवर्क लगायतका ३४ वटा विभिन्न शीर्षकमा सम्झौता गरेपछि अमेरिका रिसले आगो भएको थियो । हाल लाल सागरमा युएइ, साउदी लगायतका देशहरूले अमेरिकी धुरीमा बसेर हुथी विरुद्धको मोर्चामा आउन अस्विकार गरेपछि अमेरिका मध्येपूर्वमा एक्लिन पुगेको छ ।

यसै सन्दर्भलाई लिएर पश्चिमा विष्लेषकहरूले अरब जगत पश्चिमाहरूको हातबाट बाहिर गैसकेको अभिव्यक्ति दिइरहेका छन् । एक अमेरिकी सरकारी खुफिया रिपोर्टको हवाला दिँदै ‘यदि ताइवानको विषयलाई लिएर अमेरिकाको चीनसँग युद्ध भइहालेमा युद्ध जित्न सभव छैन’ भन्ने रिपोर्ट केही अघि सार्वजनिक भएको थियो । त्यसपछि अमेरिका ताइवान मामिलाबाट पन्छिएर फिलिपिन्सलाई चीनविरुद्ध उकासिरहेको छ ।

पोल्याण्डमा दर्ता गरिएका वा नगरिएका गरी अनुमानित ८० लाख युक्रेनीहरूलाई गत १ मार्चदेखि पोल्याण्डले निशुल्क खाना रोकिदिएको छ । चिसो बढेसँगै रुसले युक्रेनमा आक्रमण बढाएको छ र एक तिहाइ थप भूमि कब्जा गरिसकेको छ ।

पुटिनले एक वक्तब्यमार्फत युक्रेनसँगको युद्धलाई ‘गृहयुद्ध’ भन्नुले रुसले पुरै युक्रेन कब्जा गर्न सक्ने आसंकालाई बल मिलेको छ । युक्रेनमा मानवीय संकट बढेसँगै शासक वर्गमा ठूलो फुट देखापरेको छ । युक्रेनको राजधानी किभका मेयरले जेलेन्स्की र सहयोगी देशहरूमाथि संकट समाधानमा ध्यान दिनुको साटो राजनीतिक नाच देखाइरहेको गम्भीर आरोप लगाएका छन् । यसले गर्दा युक्रेनभित्र समेत अमेरिका स्वार्थको कारणले उत्पन्न युद्धको विरुद्धमा स्वरहरू मजबुत बन्दै गैरहेको देखिन्छ । अहिले सेना प्रमुख र राष्ट्रपतिबिच चर्की रहेको विवादले पनि युक्रेनमा अर्को भबितब्य हुन सक्नेतर्फ नै संकेत गर्दछ ।

२) मध्येपूर्वबाट विश्वयुद्ध शुरु हुन सक्ने सम्भावना :

गाजामा अमेरिकाको सहयोगमा इजरायलद्वारा थोपरिएको जमिनी युद्धमा असफलता ब्यहोरेपछि हमासको उन्मुलन असम्भव भएको अमेरिकी तथा इजरायली पूर्व कमान्डरहरूको निष्कर्ष सार्वजनिक भएको छ । इजरायलका पूर्व सैनिक कमान्डरहरूको निष्कर्षअनुशार जमिनी युद्ध नलडी गाजा कब्जा नहुने र हवाइ हमलाले मात्र सर्वसाधारणको हत्या बढी हुने भएकोले यो रोकिनुपर्ने जनाएका छन् । यो युद्धले ओइलाउन लागेको प्यालेष्टाइन राष्ट्रको मुद्धा जागेको छ । इजरायलको अकल्पनीय र अजय शक्ति र मोसादबारे चलाइएका मिथकहरूबारे विश्वका सबै नागरिक भ्रममुक्त भएका छन् । यी सबै युद्धले अमेरिकी, इजरायली र युरोपियन भन्दा प्रविधि र सामर्थ्यमा अन्य कमजोर भनिएका देशहरू कति माथि पुगिसकेका रहेछन्, प्रष्ट पारिदियो ।

अमेरिकी र पश्चिमा सत्ताको विरुद्ध युरोप र अमेरिकामा समेत लाखौँका जुलुसहरू निस्कन थालेका छन् । हमासद्वारा अपहरित फ्रान्सका होस्टेजहरूलाई पनि हवाइ आक्रमण गरेर इजरायली आर्मीले मारेको कुरा हमासले प्रष्ट पारेको छ । तेइस वर्षकी एक पेलिष्टाइन समर्थक अमेरिकी महिला राचेल (Rachel Corrie)लाई इजरायली सेनाले गाजामा बुल्डोजरले कुल्चेर मारेपछि अमेरिकीहरू पनि इजरायल र अमेरिकी सरकारको विरुद्ध आगो भएका छन् । अमेरिकाको बाइडेन प्रशासन विश्व जनमतमा नाङ्गेझार भएको छ । १०९ जना स्थानीय तथा अन्तर्राष्ट्रिय पत्रकारहरूको परिवारसहित इजरायली सेनाले सामुहिक रूपमा हत्या गरेको छ । १६ पत्रकार घाइते भएको बताइएको छ । तीन जना पत्रकार बेपत्ता भएका छन् । २१ पत्रकार पक्राउ परेका छन् । त्यहाँबाट सत्य समाचार निस्कन दिइएको छैन । इजरायली सेनाले समाचार सेन्सर गरेर मात्र छाप्न अनुमति दिन्छ । संसारभर अमेरिका र युरोपका लगानीमा चलेका मिडियामा इजरायली जेनोसाइडको बारेमा समाचार छाप्न लगभग प्रतिबन्ध लगाइएको छ । नेपालमा समेत मुलधारका मिडियाले मध्यपूर्वको अमानवीय युद्धको बारेमा विश्लेषण र समाचार छापेका छैनन् । उनीहरूले दक्षिण अफ्रिकाले हेगमा प्रेसित मुद्धाको बारेमा चुँइक्क बोलेका छैनन् । इजरायलको जेनोसाइडबारे पश्चिमा मिडियामा पनि इजरायलको प्रतिउत्तरको लाइभ प्रसारण भयो तर दक्षिण अफ्रिकाको प्रशारण पुरै बेण्ड गरियो । यो घटनाले मिडिया निष्पक्ष हुन्छ भन्ने भ्रम यो पटक लगभग साफ भयो ।

यो वर्ष अर्थात् २०२४ मा कि अमेरिका मध्यपूर्वबाट लखेटिनेछ वा युद्ध तन्केर लालसागर, इरान हुँदै विश्वयुद्धको लय समात्न बाध्य हुनेछ भनेर विश्लेषकहरूले अडकलबाजी शुरु गरेका छन् । पङ्क्तिकारको विचारमा अमेरिकाले आत्मसमर्पण गरेन भने अब तेश्रो विश्वयुद्ध लगभग अपरिहार्य छ ।

इरान र शक्तिशाली अरबियन मुलुकहरू बीचको कुटनैतिक सम्बन्धको पुनर्बहाली, सिरियाको अरब लिगमा पुनरागमन, हुथी र साउदीबीच शान्ति सन्धि, साउदी र संयुक्त अरब इमिरेटमा पुटिनले पाएको भब्य राजकीय सम्मानले अमेरिका र मध्येपूर्वको पूर्ववत व्यापारिक समीकरण उल्टिइसकेको संकेत गरेको छ ।

३) नाटोभित्र अन्तरसंघर्ष, उदारवादविरुद्ध मौलिक राष्ट्रवादीहरू एकजुट हुँदै :

पश्चिमा सैनिक संगठन नाटोभित्र चलेको त्रिकोणात्मक संघर्ष झन् चर्कंदै गएको छ । इजरायलको पेलिस्टाइन जनतामाथि भएको जातिय नरसंहारलाई लिएर फ्रान्स, इटाली र स्पेनले इजरायललाई दिएको समर्थन इयुले रोक्नुपर्ने अन्यथा इयुका हरेक निर्णयको भारी बोक्न नसक्ने धारणा सार्वजनिक गरेका छन् । लालसागरमा फ्रान्स, इटाली, स्पेन लगायतका देशहरूले अमेरिकी कमाण्ड अस्विकार गर्दै आफ्नो जहाजको सुरक्षा आफै गर्ने नीतिगत घोषणा गरिसकेका छन् । त्यसपछि नाटोभित्र प्रो-रसियन ब्लक (स्लोभाकिया, टर्की, हंगेरी लगायत) का देशहरूले युक्रेनलाई गर्ने सहयोग रोक्न इयुमा भिटो प्रयोग गरिरहेका छन् भने टर्कीले दक्षिण अफ्रिकाद्वारा अन्तर्राष्ट्रिय अदालतमा दिइएको मुद्धाको समर्थन गर्दै इजरायललाई युद्ध अपराधमा कार्वाही गर्नुपर्ने माग गरिरहेको छ । युरोपमा नवउदारवादी राजनैतिक धारलाई बिस्थापित गर्नेगरी मौलिक राष्ट्रिय मुल्यका पक्षधर परम्परावादी शक्तिहरू अगाडि आइरहेका छन् ।

अहिले अमेरिकी ब्लकले जर्मन र फ्रान्सविरुद्ध समेत छद्मयुद्ध चलाइरहेको अवस्था छ । ४० अर्ब डलरको फ्रान्स अष्ट्रेलियाबीच भएकोको पनडुब्बी सम्झौताबाट अष्ट्रेलियालाई हात झिक्न लगाउनु, पोल्याण्डलाई जर्मनसँग विश्व युद्धको क्षति पूर्ति माग्दै युरोपियन युनियनमा दाबी प्रस्तुत गर्न लगाउनु, नाटोलाई रुसमा आक्रमण गर्ने बहानामा युक्रेनलाई पोल्याण्डमा मिसायल हान्न लगाउनु, नर्थ स्टिम २ माथि आक्रमण गरी जर्मनी लगायत सिङ्गो युरोपमा उर्जा संकट निम्त्याउनु त्यसैका उदाहरणहरू हुन् । अब युरोपमा पनि उदार पुँजीवादी शक्तिको विरुद्ध परम्परावादी शक्तिहरू सशक्त एकजुट हुँदै गएका छन् र चुनावबाट राज्य यन्त्र कब्जा गर्न सक्ने हैसियतमा आफूलाई विकास गर्दै लागेका छन् । उनीहरूबीच चार मुद्धामा लगभग एकमत देखिन्छ । क) सभ्यताले सृजना गरेका मौलिक राष्ट्रिय मूल्यहरूको रक्षा र विकास, ख) अमेरिकी र बेलायती आधिपत्यको अन्त्य, ग) युरोपियन युनियन र नाटोको विघटन, घ) पूर्ववत आप्रवासी नीतिको खारेजी र आप्रबासीमुक्त राष्ट्रिय राज्य ।

४) संयुक्त राष्ट्रसंघमा पश्चिमा बर्चस्वको अन्त्य र रूपान्तरण हुनु पर्ने बहस :

अहिले युएनओको भूमिका सुन्यप्रायः छ । एक प्रकारले भन्नुपर्दा संयुक्त राष्ट्र संघ अहिले कोमामा छ भन्दा फरक पर्दैन । अमेरिकालगायत शक्ति-राष्ट्रहरूले गरेको अपराधलाई कानुनी वैधता दिन र कमजोर राष्ट्रहरूमाथि आक्रमण गर्ने दबाब झेलिरहेको अन्तर्राष्ट्रिय अदालतले धेरै देशको आन्तरिक मामलामा हस्तक्षेप गर्दै आएको छ । साम्राज्यवादीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय अदालत अहिले निस्प्रभावी छन् ।

पश्चिमाहरूको प्रभाव रहेको कुख्यात आइसीजेबाट धेरै युरोपियन, ल्याटिनो तथा स्वाधीनताका पक्षधर अफ्रिकी नेताहरू मारिए, हजारौँ जेलमा छन् । गाजामा इजरायलीले गरेको जेनोसाइडलाई यसले क्राइम मान्छ मान्दैन अब झन् प्रष्ट हुने छ । अहिले दक्षिण अफ्रिकाले हिम्मत गरेर इजरायलीहरूले गरेको मानवताविरुद्धको अपराधविरुद्ध अन्तर्राष्ट्रिय कोर्टमा मुद्धा दायर गरेको छ । गाजामा महिला तथा बालबालिकाको सामुहिक हत्या तथा युद्ध अपराधको विरोध गर्ने २०० मानवअधिकारवादी एनजीओहरूलाई बेलायत तथा इयुले आर्थिक सहायता रोक्न गरेको निर्णयले यिनीहरूको क्रुर अनुहार संसारका सामु पुन नाङ्गेझार भएको छ ।

५) रुसी महाशक्तिको पुनर्उदय :

पश्चिमाहरूको कडा नाकाबन्दी, आर्थिक र ब्यापार प्रतिबन्धका बाबजुद रुसले आफ्नो सामरिक र आर्थिक सामर्थ्य दिन–प्रतिदिन मजबुत बनाउँदै लागेको छ । अहिलेसम्मका सानाठूला कुनै पनि युद्ध नहारेको रुसले युक्रेनसँगको पश्चिमा नियोजित युद्धमा पनि लगभग विजय हासिल गरिसकेको अवस्थालाई स्वयम् नाटोप्रमुखले स्विकारी सकेका छन् । अहिले सिङ्गो अफ्रिका र ल्याटिन अमेरिका सिनो रसियन क्याममा गोलबन्द भइसकेको छ ।

युक्रेन युद्ध हेर्दा दुई देशको जस्तो देखिए पनि खासमा यो युद्ध रुस र नाटोबीचको युद्ध हो । प्राविधिक रूपमा युक्रेन हार्नु भनेको समग्रमा अमेरिकी र युरोपियन सामरिक प्रविधिको हार हो भन्नेमा अब शङ्का रहेन । मध्येपूर्वमा पनि इरान भर्सेज पश्चिमाले युद्धको अर्को मोर्चा खोल्दै गइरहेका छन् । गाजा-इजरायल युद्ध लालसागर हुँदै भूमध्य सागरसम्म फैलिने तरखरमा रहेको देखिन्छ । भूमध्य सागर र लालसागरबाट अमेरिका भाग्यो भने इजरायलीहरू गाजाबाट ब्याक होलान् अन्यथा उनीहरू हमाससँग गाजा र वेष्टब्यांकमा फसेर जमिनी युद्ध हार्ने र हुथी, हज्बुल्ला तथा इरानद्वारा इजरायलको नामेट हुने सम्भावना पनि उत्तिकै प्रवल देखिन्छ ।

६) पश्चिमा विचारधाराको बर्चस्व कमजोर, नव उदारवादी अर्थब्यवस्थाको विकल्प तयार हुँदै :

वैश्विक रूपमा देखापरेका सबै युद्ध, संघर्ष र निजी स्वतन्त्रतामा विभुषित प्रजातन्त्रमा आएको गतिरोध भनेको समग्रतामा बजार पुँजिवादी अर्थ-राजनीतिको संकट हो । यसको विकल्पमा योभन्दा उन्नत र विकसित मौलिक सभ्यताको जगमा उभिने अर्थ सामाजिक प्रणालीबारे बहस चल्न थालिसकेको छ । सामाजिक न्याय र समान वितरण प्रणालीबिनाको प्रकृतिविरोधि प्रजातन्त्रको पश्चिमा परिभाषालाई पुनर्भाषित गर्ने बहसहरू घनिभूत भइरहेका छन् ।

यदि तेश्रो विश्वयुद्ध भएन र पृथ्वीमा मानव सभ्यता बाँचिरह्यो भने हाम्रो प्राकृतिक स्वभावलाई पनि प्रतिनिधित्व गर्ने गरेर उन्नत सामाजिक प्रणालीले यो उदार बजार पुँजीवादलाई प्रतिस्थापन गर्ने कुरामा उत्पीडित राष्ट्रहरूको एक मत रहेपनि आगामी उत्कृष्ट राजनैतिक मोडेलबारेको बहस चलि नै रहने देखिन्छ ।

७) मौलिक सभ्यताको जग र वैश्विक प्रणालीको विकासमा ब्रिक्स :

BRICS उदीयमान राष्ट्रिय अर्थतन्त्रहरूको वैश्विक संगठन हो । यसका संस्थापक राष्ट्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका हुन् । अङ्ग्रेजीमा यी देशहरूको नामको पहिलो अक्षर B, R, I, C / S जोडेर यो समूहको नामकरण गरिएको हो । सन् २०१० मा दक्षिण अफ्रिका समावेश हुनुअघि यसलाई ‘BRIC’ भनेर चिनिन्थ्यो । रूसबाहेक, सबै BRICS सदस्यहरू द्रुत रूपमा बढ्दै गइरहेको अर्थतन्त्र भएका विकासशील वा नयाँ औद्योगिक देशहरू हुन् । यी राष्ट्रहरूले क्षेत्रीय र विश्वव्यापी मामिलाहरूमा महत्त्वपूर्ण प्रभाव पार्छन् । २०१९ को अनुसार, पाँच BRICS राष्ट्रहरूले विश्वको जनसंख्याको लगभग ४२ प्रतिशत प्रतिनिधित्व गर्दछ र संयुक्त विदेशी मुद्रा भण्डारमा अनुमानित ४ ट्रिलियन युएस डलर योगदान गर्दछ । यी राष्ट्रहरूको संयुक्त कुल गार्हस्थ उत्पादन १५ ट्रिलियन युएस डलर छ । ब्रिक्स देशहरूले विश्वव्यापी जीडीपीमा २३ प्रतिशत योगदान गर्छन् र विश्व व्यापारको योगदानमा लगभग १८ प्रतिशत भूमिका खेल्छन् । यी पाँच देशको मुद्राको नाम ‘R’ बाट सुरु हुने भएकाले यसलाई R-5 पनि भनिन्छ ।

(क) बहसमा ग्लोबल साउथ : ‘ग्लोबल साउथ’ कुराहरूले पनि पश्चिमा मुल्यको बर्चस्वको विकल्पमा मौलिकताको बहस अलिक बढाउँदै लागेको छ । अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका धेरै देशहरूले युक्रेन युद्धमा नर्थ एट्लान्टिक सन्धि संगठन (नाटो) लाई समर्थन गर्न अस्वीकार गरेपछि ‘ग्लोबल साउथ’ फेरि चर्चाको विषय बनेको छ ।

अन्त्यमा, अहिल इतिहासमा अमेरिकाबाट पीडित देशहरू नवऔपनिवेशिक दासताबाट बाहिर आउने प्रयासमा संघर्षरत छन् । त्यसैकारण दक्षिण अमेरिकाका २१ देशहरूले चीनसँगको बिआरआई सम्झौतालाई अनुमोदन गरिसकेका छन् भने विश्वको झण्डै ८० प्रतिशत उर्जा आपूर्ति गर्ने देशहरूले अमेरिकाको धम्कीलाई बेवास्ता गर्दै ब्रिक्सको निर्देशन र आर्थिक नीतिको पर्खाइमा छन् ।

युक्रेन संकटको कारण रुस र चीनको ध्रुव बलियो बन्दै गएपछि अहिले अफ्रिकी र अरबीहरूले पनि टाउको माथि उठाउने प्रयत्न गरेका छन् । अफ्रिकाको नाइजरलगायत सायल क्षेत्रबाट फ्रान्सले हात धोएर निस्केको छ भने अन्य युरोपेली तथा अमेरिकी देशहरूको अबस्था पनि नाजुक छ । यी देशबाट औद्योगिक कच्चा पदार्थ र उर्जाको निकास बन्द भयो भने अमेरिका र युरोपको आर्थिक हैसियत कमजोर हुन्छ भन्ने बुझाउन मध्यपूर्वका देशहरूले खनिज तेलको उत्पादन बढाउने अमेरिकी धम्किलाई सिधै खारेज गरिदिएका हुन् ।

उत्तर अमेरिकाको सामरिक तथा आर्थिक बर्चस्व रहने गरि लागु गरिएको मुनेरो सम्झौता दक्षिण अमेरिकी देशहरूले संयुक्त रूपमा भंग गरिदिएका छन् र ब्रिक्सको सदस्यताको लागि आवेदन दिएका छन् । एसियामा पूर्वीय सभ्यताको उत्थान र युरेशियाको एकताको नारा लागि रहेको छ । ल्याटिन अमेरिकी र अफ्रिकी देशहरू पनि साम्राज्यवादी शक्तिहरू विरुद्ध सँगठित हुँदै गएका छन् । कतिपय अफ्रिकी देशहरूमा विद्रोहहरू भै रहेका छन् ।

मौलिक सभ्यताका मूल्यहरूको जगमा माथि उठ्दै गरेको सांघाई कर्पोरेशन र ब्रिक्स मोर्चा साम्राज्यवादी एकाधिकार पुँजीवादको विरुद्धमात्र नभएर आत्मनिर्भर राष्ट्रिय स्वाधिनता र मौलिक सभ्यताहरूको रक्षाका लागि समेत अपरिहार्य आबश्यकाता हो । डी डलराइजेशनको लागि समेत यसले विकल्प तयार गर्दै जानेमा विश्व जनमत ढुक्क छ । अहिले देखिएका अन्तरविरोधहरू विद्रोहको पर्खाइमा रहेका छन् र संसारभर एकाधिकार पुँजीवादका विरुद्ध जागरण अभियान एकीकृत हुँदै गैरहेको छ । अहिले साम्राज्यवादविरुद्ध राष्ट्रिय स्वाधीनताका पक्षधर ग्लोबल इष्ट, नर्थ र साउथ एक जुट हुने अवस्था आएको छ । राम्राज्यवाद परास्त भएपछि संसारले आफ्नो हितसापेक्ष निर्णय लिन सक्षम हुने छ । आफ्नो देशको मौलिकताअनुरूप ब्यवस्था अपनाउन स्वतन्त्र हुने छ । आफ्नो देशको हितमा कुनै पनि राष्ट्रसँग सम्झौता गर्न सक्ने छ । ऋण लिँदा निजी हितमा बाधा पर्ने गरि सर्त लादिने छैन । मुलुक सामुहिक हितको लागि समर्पित हुने बाटोमा जानेछ जसले वितरण प्रणालीमा समेत सकारात्मक प्रभाव पार्नेछ । छनौटमा स्वतन्त्र भएपछि देश प्रगतिको मार्गमा जान र सामुहिक हितको प्रतिनिधित्व हुने शासन ब्यवस्था अँगाल्न कसैले रोक्ने भन्ने कुरा नै हुँदैन । त्यसैले साम्राज्यवादी प्रभुत्वको युग सकिनु नै छनौट स्वतन्त्रताको युगको प्रारम्भ हो ।

वर्तमान युगको समाप्ति हुनुको प्रमुख कारण यसभित्र रहेको अप्राकृतिक जीवन पद्दति हो । मानिसले आफूलाई ‘म पनि प्रकृति हुँ’ भन्ने कुरालाई भुलेर ‘म प्रकृतिभन्दा फरक तथा अलग अरु नै केही हुँ’ भन्ने बुझाइ हो । मानिसले प्रकृतिलाई लडेर जित्न सक्दैन तर प्रकृतिमैत्री बनाएर आफूलाई लामो कालसम्म बचाउन भने सक्छ । पुँजीवादी दर्शनको सैद्धान्तिक आधार नै मानव स्वभावको प्राकृतिक प्रवृत्तिविरुद्ध छ ।

निजी शक्ति आर्जन, ब्यक्तिगत नाफाको केन्द्रीकरण, ब्याक्तिगत स्वतन्त्रताको सिमाहनिता र वितरण प्रणालीको असमानताका फरक-फरक महत्वाकांक्षाको कारण नै पुँजीवादी दर्शनको अभ्युदय भएको हो । पुँजीवादले हरेक कुरालाई उपभोग्य र नाफाको लागि बेच्ने बस्तुसरह सोच्दछ । पुँजीवादी दर्शन मानवको सामाजिक प्रवृत्ति र समूहबाहेक बाँच्न नसक्ने उसको प्राकृतिक गुणविरुद्ध छ । फरक-फरक श्रम क्षमताको एकत्व, सामुहिक जीवन पद्धतिका आन्तरिक सम्बन्ध र आयामहरूको विरुद्ध भएकोले पुँजीवादी दर्शनको अन्त्य हुनु आवश्यक मात्र नभएर अपरिहार्य देखिन्छ ।

कुनै पनि प्रणालीको मृत्यु उसभित्रै अन्तर्निहित हुन्छ । अत कुनै पनि व्यवस्था, जीव, पदार्थ र शक्तिद्वारा निर्मित तत्वको अस्तित्व आफ्नै कारणले समाप्त हुन जान्छ । यो नै सृष्टिको सार्वभौम र शास्वत नियम हो । उदाहरणको लागि डिएनए चेनलाई लिन सकिन्छ । अणुमा चार प्रकारका न्यूक्लियोटाइड सब्युनिटहरू मिलेर बनेका दुई लामा पोलीन्यूक्लियोटाइड चेनहरू हुन्छन् । यी प्रत्येक चेनहरूलाई डिएनए चेन भनिन्छ । न्यूक्लियोटाइडको आधार भागहरू बीचको हाइड्रोजन बन्डले दुई चेनहरूलाई एकसाथ समात्छ । त्यहि कारण जीवमा प्राणको अस्तित्वले जन्म लिन्छ । अन्यथा यी चेनमा आउने फेरवदलीले प्राणतत्व समाप्त हुन पनि सक्छ ।

राजनैतिक प्रणालीको विकाशक्रममा पनि यही प्राकृतिक नियम लागु हुन्छ । यसरी हेर्दा, बर्तमान बर्बर साम्राज्यबादी उत्पीडन पनि आफैभित्रका अप्राकृतिक मलिक्युल (molecule) हरूकै कारण नामेट हुने दिशातिर उन्मुख छ । यसले अबको केही दशकसम्ममा आफ्नो स्वरूपलाई कि प्रकृतिमैत्री र मानविय बनाएर रूपान्तरण गरि समतामुखी बाटोमा लग्छ र आफूलाई केही लामो समय बचाउँछ, अन्यथा युद्ध जस्ता बर्बरताको आगोमा जलेर आफूलगायत जगतलाई खरानी पार्दछ । लाग्छ, विश्वका उत्पीडित देश र जनताहरूले मरणासन्न अवस्थामा जाँदै गरेको उदार पुँजीवादलाई दोश्रो विध्वंशक बाटो रोज्न दिने छैनन् । यदि त्यसो हुन सक्यो भने विश्वका उत्पीडित देश र जनताका लागि खुशीको कुरा हुनेछ । जय होस् !

यो पनि पढ्नुहोला-

कसैलाई बाँकी राख्ने छैन तेश्रो विश्वयुद्धले !

https://ghatanarabichar.com/68257