आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा थिइन् सञ्जिता अधिकारी । बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुर्ख्यौली कर्मघर देखेकी थिइनन् । बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहन्थिन् ।
दुर्भाग्य १ सञ्जिताले श्रीमानको जन्मथलो त टेकिन्, तर त्यो बाटो अब कहिल्यै फर्किने छैनन् । शनिबार बागलुङको ढोरपाटन नगरपालिका-५ प्याङ्खोलामा भएको जीप दुर्घटनामा चन्द्रागिरि नगरपालिका-५ काठमाडौंकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाइन् । दुर्घटनामा उनको परिवारका सबै सदस्य घाइते भएका छन् ।
ढोरपाटन नगरपालिका-४ छोरेगाउँका दीपक गैरे र चन्द्रागिरि नगरपालिका-५ सतुङ्गलकी सञ्जिता अधिकारी दुई वर्षअघि विवाह भएपछि बेलायत लागेका थिए। दीपक पहिलेदेखि नै बेलायत बस्थे । बिहेपछि दीपकले सञ्जितालाई जन्मघर ल्याएनन् । काठमाडौंमै बिहे भयो । उतैबाट बेलायत लागे ।
बेलायतको दुई वर्षको बसाइपछि यही पुस ६ गते गते उनीहरू नेपाल आएका थिए । करिब सात वर्षपहिलादेखि काठमाडौं बस्दै आएका दीपकको जन्मस्थान घुमेरमात्रै बेलायत जाने रहर सञ्जितालाई थियो । लमजुङको पहाडघर छाडेर काठमाडौं बस्दै आएकी सञ्जिताको रहरअनुसार दीपक र उनको परिवार पुस २६ गते जन्मगाउँ छोरेगाउँ पुगे । ‘घर जाने कर गरेकै उसैले हो, उसैले छाडेर गई’, दुर्घटनामा घाइते भएकी सञ्जिताकी जेठानी मनकुमारी गैरेले भनेकी छन् ।
सञ्जिताको रहरअनुसार नै दीपकको परिवार काठमाडौंबाट छोरेगाउँ आएको बताउँछिन् मनकुमारी । गत पुस २६ गते साँझ उनीहरू गाउँ पुगेका थिए । पुस २७ गते जेठो दाजु विवराज गैरेसँग दीपक, सञ्जिता र उहाँको परिवारले सात वर्षअघि छाडेर काठमाडौं पुगेको छोरेगाउँ घुमे । सञ्जितालाई बाल्यकालको रमाइलो सुनाउँदै २८ पुसमा ढोरपाटन घुम्ने योजना बनाउनुभएका दीपक दुर्घटनामा गम्भीर घाइते भएका छन् ।
सालझण्डी-ढोरपाटन सडकखण्डअन्तर्गत शनिबार बिहान ढोरपाटनतर्फ गइरहेको ध१ज १९ नम्बरको जीप ढोरपाटन नगरपालिका-५ प्याङ्खोला अस्तुमा दुर्घटना भयो । जहाँ श्रीमानको गाउँ घुमेर माघ ६ गते बेलायत जाने योजनामा रहेकी सञ्जितासँगै सवारी चालक ढोरपाटन-४ खुङ्गाका तिलक घर्तीको समेत ज्यान गयो । सग्लो परिवार सवार जीप सडकमा पल्टेपछि परिवारका सदस्य गम्भीर घाइते छन् । घर घुमाउन श्रीमती र परिवार लिएर आएका दीपकलाई उपचारका लागि हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
मृतक सञ्जिताका श्रीमान् दीपक, उनका आफन्त विवराज, जोगनारायण गैरे र उनकी श्रीमती निरुता गैरे, छोरी कल्पना गैरे, कृष्ण गैरे र उहाँकी श्रीमती हिमा गैरे तथा मनकुमारी गैरे दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए । घाइते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो । थप उपचारका लागि उहाँहरुलाई हेलिकप्टरमा मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ । मनकुमारीका अनुसार गैरे परिवारले ढोरपाटन घुम्नकै लागि जीप रिजर्भ गरेका थिए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक केसीको भनाइ छ ।
तस्बिर : रासस
प्रतिक्रिया