नेपालमा सर्वप्रथम थाई बक्सिङ भित्र्याउने नमराज

नेपालमा सर्वप्रथम थाई बक्सिङ भित्र्याउने नमराज


  • सुरेन्द्र सुवेदी, काठमाडौं

त्यो समय थाई बक्सिङ (मुवा थाई) को नाम कसैले सुनेका भए पनि यो खेल नेपालमा थिएन । यो कुरा सन् २००७ को हो । जब यहाँका एक युवा घुमफिरका लागि थाइलैण्ड पुगे, उनले यो बक्सिङको विश्वमा चर्चा र महत्व बुझे । उनी हुन् राजधानी काठमाडौं बुढानीलकण्ठका नमराज भण्डारी । उनले ३ महिना थाइलैण्डमा बसेर थाई बक्सिङ सिके । अनि उनी त्यो सीप लिएर देश फर्किए ।

२०३९ सालमा आमा कमला र बुबा रुपबहादुरका दुईमध्ये कान्छो सन्तान जन्मिएका नमराजले २०४९ देखि ‘मार्सल आर्ट’ खेल्न थाले । उनले २ वर्ष सन्जिन काइकान कराँते, क्वान मुकान कराँते, केन्सिन कान कराँते, केकोसिन फुल कन्ट्याक्ट कराँते र वादुरियो कराँते खेले ।

बुढानील माविबाट अध्ययन सुरु गर्दै त्रिचन्द्र क्याम्पसबाट उच्च शिक्षा लिएका भण्डारीले नेपाल आएपछि बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमीबाट थाई बक्सिङ सिकाउन सुरु गरे । सुरुमा तीन जनाबाट सिकाउन थालेका उनको क्लबमा दिनदिनै यो बक्सिङ सिक्नेको भीड लाग्न थाल्यो । अनि, यो सिकाइको क्रममा ७२ जनासम्म विद्यार्थी खेल सिक्न थाले ।

यो सिकाइले दिनदिनै उनलाई चिनाउँदै लग्यो । उनी सुकेधारा, मिनार स्कूल बसुन्धारा, नेपाली सेनाको भैरवनाथ गण, नयाँबजार, राई स्कूल र चुच्चेपाटीसम्म पुगेर सिकाउन थाले । उनले हालसम्म करिव ६ हजार युवालाई थाई कराँते सिकाए । उनीसँग सेना, प्रहरी, कलाकार, राजनीतिकर्मीदेखि व्यापारी र विदेशी पर्यटकसम्म कराँते सिक्न पुगे । उनको यो सिकाउने अभियान अहिलेसम्म जारी छ । हाल उनको बुढानीलकण्ठको हात्तिगौंडामा दैनिक सिकाउनेक्रम जारी छ ।

यो अति कडा तालिम हो । कडा परिश्रम गर्नुपर्छ । ‘रिङ’ मा प्रतिस्पर्धा हुँदा ‘नक आउट’ सिस्टममा खेलिन्छ । यो अन्य कराँतेजस्तो नम्बरको आधारमा खेलाइन्न ।

नमराजले राष्ट्रिय खेलकुद परिषद्मा २०७१ पुसमा नेपाल थाई बक्सिङ संघ दर्ता गरे । नमराज अध्यक्ष रहेर गठन भएको संघमा झण्डै ४ हजार जना सदस्य भइसकेका छन् । उनले उत्पादन गरेका खेलाडीहरू अहिले प्रशिक्षकको रुपमा खेल सिकाइरहेका छन् । राजधानीका बिभिन्न स्थानमा १४ जना प्रशिक्षकले क्लब र विद्यालयहरूमा नियमितरूपमा थाई बक्सिङ सिकाइरहेको नमराजले घटना र विचारलाई बताए ।

यो बक्सिङको ‘क्रेज’ यति छ कि मार्सलआर्टका अरु विधामा ध्यान नदिनेको संख्या अधिक छ । आत्मसुरक्षा र लडाकुको रूपमा राम्रो मान्नेहरू यही बक्सिङ सिक्न चाहन्छन् । र, राजधानी बाहिरका स्थानमा पनि यसको माग बढ्दो छ । उपत्यकाबाहिरका धेरै स्थानमा मागअनुसार यो खेल सिकाइरहको यो खेल भित्र्याउने तथा संघका अध्यक्ष नमराजले बताए ।