यस्तो छ नेपालमा हवाइ सेवाको इतिहास

यस्तो छ नेपालमा हवाइ सेवाको इतिहास


इतिहास
✍ सुनिल उलक

दलीप सिंह मजीठिया भारतिय वायुसेनाका लडाकु विमान चालक थिए । वायुसेनाबाट अवकाश प्राप्त भएपछि आफैले खरिद गरेको चार सिट भएको Beach-Craft Bonanza विमान मोहनशम्शेरको समयमा नेपालको लागि पहिलो भारतीय राजदूत तथा दलीप सिंहका काकन सुरजीत सिंह मजीठियालाई लिन वि.सं. २००६ को बैशाखमा आएको थियो । यो नै काठमाडौंको गौचरणको रूपमा रहेको घाँसेमैदानमा अवतरण भएको पहिलो विमान थियो ।

यसभन्दा अगाडि राजा त्रिभुवनलाई पहिलो पटक हृदयघात हुँदा उपचारका लागि नेपाल आएका बेलायती डाक्टर कर्णेल डनहम ह्वाइट स्वदेश फर्कने क्रममा काठमाडौंबाट पैदल तथा रेलमा सिमरा पुगे पछि उनलाई लिन वि.सं. १९९९ भदौमा सिमराको घाँसेमैदानमा सानो तीन सिटको पुश मथ (Push Moth) विमान अवतरण गरिएको थियो ।

नेपाली आकाशमा भने जुद्धशम्शेरको शासनकालमा सगरमाथाको चक्कर काट्न वि.सं. १९८९ चैत्र २१ गते Westland PV-3/Westland PV-6 नामक दुई युद्धक विमानलाई केही परिमार्जित गरेर भारतीयभूमि पूर्णिया जिल्लाको लालबाबुबाट सगरमाथाको आकाशमा उडाइएको थियो । यस विमानलाई मेजर स्टेवार्ट ब्ल्याकरले उडाएका थिए ।

काठमाडौं गौचरमा पहिलो विमान चार सिट भएको Beach-Craft Bonanza विमान मोहनशम्शेरको समयमा नेपालको लागि पहिलो भारतीय राजदुत सुरजीत सिंह मजीठियालाई लिन वि.सं. २००६ को बैशाखमा आएको थियो ।

डकोटा डिसी-३ विमानको प्रवेश :

दोश्रो विमान पनि पटना विश्वविद्यालय का भि.सी. चन्द्रेश्वर प्रसाद नारायण सिंह नेपालको लागि दोश्रो राजदुत नियुक्त भएपछि महावीरशम्शेर राणाको निजी विमान कम्पनी हिमालयन एभिएशनको डकोटा चार्टर्ड गरेर वि.सं. २००६ को जेठमा काठमाडौ आएका थिए । यसपछी वि.सं. २००६ फागुन २२ मा मोहन शम्शेरको नातिनीको विवाह समारोहमा जम्मु काश्मिरका युवराज करण सिंह जन्तीको साथ चार्टर्ड गरिएको डकोटामा काठमाडौं आएका थिए ।

त्यसपछि २००७ असोज २६ बाट ब्यवसायिक उडानको शुरूवात भयो । पटनाबाट यात्रुहरू बोकेर पहिलो विमान काठमाडौं गौचरमा रोकियो । यसपछि त विमानको क्रम बढि नै रह्यो । २००७ को कार्तिक २२ मा नेपाली आकाशमा एकैचोटी चारवटा विमान देखियो । मोहनशम्शेरले केही दिनदेखि लगाएको एयरस्ट्राइकको बाबजुद पनि भारतिय सेनाको विमानले राज परिवारलाई रेस्क्यू गरेर नयाँ दिल्ली पुऱ्यायो ।

२०१२ मा सानो गौचरको नाम त्रिभुवन विमानस्थल भयो ।

शानेवानीको जन्म :

भारतको उडिसा प्रान्तमा रहेको मयुरभञ्ज राज्यका राजकुमार प्रदीपचन्द्र भञ्जदेवसँग राजा त्रिभुवनको कान्छी छोरी भारती राज्य लक्ष्मीको कलकत्तामा दरभंगाका राजा कामेश्वर सिंहको पहलमा उनकै महल दरभंगा हाउसमा २००८ माघ २५ गते (सन् १९५२ फेब्रुअरी ८)मा भएको थियो ।

नेपालको राजघराजासंग गाँसिएपछि सम्पन्न र शक्तिशाली राज्यका राजकुमारलाई राजा महेन्द्रले आफ्ना ज्वाइ प्रदीपचन्द्र भञ्जदेवलाई नेपालमा नीजि विमानसेवा सञ्चालनका लागि अनुरोध गरेका थिए । राणाशासनबाट मुक्त भए पनि देशमा आएको प्रजातन्त्रको राम्रो सदुपयोग त्यसबेलाका नेताहरूले गर्न सकेका थिएनन् । आपसी द्वन्द्वलेले कुनै पनि सरकार लामो समयसम्म टिक्न पनि सकेका थिएनन् । जसले गर्दा देशको आर्थिक अवस्था सुदृढ हुन सकेको थिएन । यसर्थ भर्खरै राजा बनेका महेन्द्रले भारतको शक्तिशाली र सम्पन्न राजा प्रतापचन्द्र भञ्जदेवका छोरा राजकुमार प्रदीप चन्द्र भञ्जदेवलाई अनुरोध गरेका थिए ।

राजकुमार मानसिक रूपले तैयार भएपछि राजा महेन्द्रले त्रिपुरेश्वरमा रहेको अतिथिगृहमा राजकुमारलाई बस्ने प्रबन्ध मिलाइ विमानसेवा स्थापनाका लागि विभिन्न अनुष्ठान गर्ने ब्यवस्थासमेत मिलाइदिएका थिए । तन्त्रमा विश्वास गर्ने राजकुमारले उडिसाबाट केही तान्त्रिक ल्याएका थिए भने राजा महेन्द्रले काठमाडौंमा रहेका गुभाजुहरूलाई पनि अनुष्ठानका लागि खटाएका थिए ।

श्वेतभैरवको साधना गरि विमान सेवाको शुभारम्भ गरेको हुँदा श्वेतभैरवलाई नै विमानको चिन्हको रूपमा राखियो । साथै मयुरभञ्जको राजकीय परिवारबाट स्थापना भएको हुँदा Royal Nepal Airlines नाम दिइएको विमान कम्पनीमा नेपाल सरकारको ५१ प्रतिशत स्वामित्व थियो भने राजकुमार प्रदीपचन्द्रको ४९ प्रतिशत स्वामित्व थियो । वास्तवमा Royal शब्द उनको राजघरानाका रूपमा राखिएको थियो । तर पछि यो नाम नेपालीकरण गर्दा शाही नेपाल वायुसेवा निगम भयो । नेपालमा डिसी ३ विमान ल्याइयो । पहिलो उडानमा पाइलट थिए- बंगाली बेलायती पाइलट बब डब्लु चाटर (चटर्जी), को पाइलट थिए- टिएस जान्लट, रेडियो अफिसर पिके सोम तथा परिचारकको रूपमा पुरी नाम गरेका थिए । एयरलाइन्सको जनरल मेनेजर भने राजकुमार प्रदीप चन्द्र भञ्जदेव नै थिए । विमान कम्पनीको विधिवत उद्घाटन २०१५ असार ४ गते रोयल नेपाल एयरलाइन्सको पहिलो ब्यवसायिक उडान पटनाको उडानबाट भएको थियो । दोश्रो उडान असार ५ गते गरेको थियो भने ६ गते भैरहवा र बिराटनगरको दुई उडान गरेको थियो । यसरी रोयल नेपाल एयरलाइन्सको शुरुवात भएको थियो । यसअगाडि पनि विमानले सेवा दिन थालिसकेको थियो ।

यसको करिव एक वर्षपछि देशमा प्रजातान्त्रिक सरकार बन्यो यातायात मन्त्री बने गणेशमान सिंह । गणेशमानकै कार्यकालमा भारतबाट पाइलट पढेर भर्खरै आइपुगेका बद्रीकृष्ण श्रेष्ठले पाइलटका लागि रोयल नेपाल एयरलाइन्समा निवेदन दिन गए । तर जनरल मेनेजर रहेका राजकुमार प्रदीपचन्द्रले अस्विकार गरि फिर्ता पठाए । यो कुरा यातायात मन्त्री रहेका गणेशमान सिंहसम्म पुग्यो । गणेशमानले तत्कालै नियुक्तिका लागि राजकुमारलाई नेपालीमा लेखिएको चिट दिएर पठाए । तर राजकुमार प्रदीपचन्द्रले उल्टै मन्त्रिलाई अंग्रेजीमा अनुवाद गरेर पठाउनु भनेर चिट फर्काइदिए । यसपछि रिसले गणेशमानसिंहले तत्कालै क्याबिनेटको बैठक बोलाएर नेपाल एयरलाइन्स राष्ट्रियकरण भएको निर्णय गराए । केही दिनपछि राजकुमार प्रदीपचन्द्रलाई नेपाल एयरलाइन्सबाट सदाका लागि छुट्टी दिइयो । २०१५ असारमा अमेरिकी सरकारले दोश्रो विश्व युद्ध पछि उपयोग बिहिन रहेको ३ वटा डकोटा विमान यातायात मन्त्री गणेशमान सिंहलाई हस्तान्तरण गरेपछि शाही नेपाल वायु सेवा निगमको जन्म र आफ्नै सरकारी स्वामित्वको विमान उडाउन सफल भयो । पनि त्रिभुवन विमान स्थलमा अवतरणको सुअवसर पायो ।

नेपाली आकाशमा पिलाटस पोर्टरको पिसी-६ :

२०१६ सालमा भएको सफल स्वीस धवलागिरि अभियानमा पिसी-६ को पहिलो विमान HB-FAN लाई ‘यती’ नामाकरण गरेर नेपालमा उडाईएको थियो । नेपालमा भएको सफल उडानले यस विमानले विश्व बजार लिन सक्षम भयो । STOL (छोटो दुरीमा अवतरण र उडान गर्न सकिने) प्रविधिको विमान भएकोले पहाडी र हिमाली क्षेत्रका लागि अति नै उपयुक्त सावित भयो ।

पिसी-६ को दोश्रो विमान HB-FAO पनि पछि स्वीस प्रोजेक्ट हेल्भेटास मार्फत २०२४ जेठमा नेपालमा आयो । योभन्दा पहिले २०१७ सालको माघमा अमेरिकी सहयोग नियोग यूएसओएमले दुर्ई पिसी-६ विमान तथा स्वीस रेडक्रसले एक विमान नेपालमा ल्यायो । यूएसओएमले शानेवानिलाई २०१७ फागुनमा हस्तान्तरण गरेको एक महिना नबित्दै एउटा जिरीमा दुर्घटना ग्रस्त भयो भने १८ महिना पछि ढोरबाराहीमा अर्को विमान दुर्घटनाग्रस्त भयो । 9N–AAF र 9N–AAG को दुर्घटनापछि २०२० को जेठमा संयुक्त राष्ट्र संघले पिसी-६ विमान ल्यायो यसको विमान सुचकांक थियो 9N–AAN । रेडक्रसले ल्याएको HB–FAX अंकित पिसी-६ विमान भने तिब्बती शरणार्थीहरूको लागि राहत बाड्ने काममा ब्यस्त रह्यो । २०१७ माघ १४ देखि २०२५ भदौ १४ सम्म नेपालमा रहेको थियो । साथै समय समयमा जंगल एभिएशनको पिसी-६ विमान पनि चार्टर्ड उडानमा नेपाल आउने गरेको थियो । भने २०२२ सालमा अमेरिकी राजदुतावासले पनि पिसी-६ विमान ल्याएको थियो । यसबाहेक २०२९ को मंसिरमा युएनडिपीले पिसी-६ ल्यायो । 9N-AAW अंकित यो विमान केही वर्ष नेपालको आकाशमा उड्यो । पछि दुर्घटनाग्रस्त भएपछि क्यानाडामा बिक्री गरियो ।

अन्ततः २०२८ को असारमा बल्ल शानेवानीले पिलाटस कम्पनीसँग दुई विमान खरिद गऱ्यो । 9N-AAZ / 9N-ABC अंकित दुई पिसी-६ विमान खरिद गरेको ५ वर्षपछि फेरि दुई विमान मगायो 9N-ABJ २०३२ को कार्तिकमा आइपुग्यो भने पुसमा9N-ABK नेपालमा थपियो । दुःखको कुरा… २०५५ को पुससम्म नेपालमा रहेको पिसी-६ विमान दुर्घटना हुँदै सकियो । तर, पिलाटसप्रतिको माया फेरि करिव ५० वर्षपछि यती एयरलाइन्समार्फत फर्कियो । २०६६ को जेठ र असारमा दुई विमान आइपुग्यो । नेपाली आकाशमा तारा एयरको नाममा उडेका यी दुई विमान पनि क्रमशः २०६६ कार्तिकमा स्याङबोचे र २०६८ असोजमा लुक्लामा दुर्घटना भएपछि विदेशी कम्पनीलाई बिक्री गरियो ।

२०१६ सालको मंसिरको २२ गतेबाट नेपालको आकाशमा उड्न शुरुवात गरेको पिलाटस पोर्टरको पिसी–६ विमानले २०६८ को असोज १९ मा अन्तिम उडान गरेको थियो । यसरी करिव ५२ वर्षको अवधीमा १२ वटा पिसी–६ विमानले नेपालको आकाशमा चक्कर लगायो ।

यसरी हेर्दा नेपालको आकाशमा एउटा मात्र इञ्जिन भएको पिलाटस पोर्टर खासै नाफामुलक तथा सुरक्षित रहेन । त्यसैले पनि नेपाली आकाशमा बिस्तारै दुई इञ्जिन युक्त ट्वीनअटरले पिलाटस पोर्टरको ठाउँ लिन थाल्यो ।

नेपाली आकाशमा ट्वीनअटर :

२०१७ सालको अन्तमा नेपालमा आएको पिलाटस पोर्टर ‘यती’ को उडान पछि नेपालको पहाडी धरातलको लागि STOL (छोटो दुरीमा उडान र अवतरण गर्न सकिने) प्रविधिको आवश्यक रहेको प्रमाणित भयो । साथमा पिलाटस पोर्टरको आगमन पनि हुन थाल्यो । एक मात्र इञ्जिन भएको र समय समयमा दुर्घटनाहरू हुँदा बिस्तारै यसको विकल्प पनि सोच्न थालियो ।

२०२२ सालमा उत्पादन थालेको ड हैविलैंड क्यानाडाको ट्वीनअटर विमानले बिस्तारै विश्वबजार लिन थालेको थियो । शुरुमा १०० सिरिजको विमानहरूको उत्पादन गरेको ट्वीनअटर कम्पनीले पछि बिस्तारै २००, ३०० र ४०० सिरिजका विमानहरू पनि बनाउन थाल्यो । नेपालले पनि पिलाटस तथा डकोटाको विकल्पको रूपमा ट्वीनअटरबारे सोच बनाउन थाल्यो ।

नेपालमा पहिलो पटक २०२५ सालको जेठमा १०० सिरिजको विमान ल्याइएको थियो । 9N–RF9 नम्बर दिइएको थियो । यो विमानले खासै उडान गर्न पाएन, २० महिनापछि नै जोमसोममा दुर्घटनाग्रस्त भयो । नेपाली सेनाले प्रयोगमा ल्याएको यो विमान रोयल फ्लाइटको लागि ल्याइएको थियो, तर यो विमान जोमसोम विमानस्थलमा दुर्घटनाग्रस्त भयो । २०२६ फागुन १७ मा दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको थियो, अन्य तीन यात्रु र पाइलट घाइते भएका थिए ।

नेपाली सेनाको पहिलो ट्वीन अटरको दुर्घटनाको एक वर्षपछि नै नेपालले एकसाथ दुईवटा ट्वीन अटर मगायो । DHC–6 300 मोडलका दुई विमान क्रमशः २०२८ को जेठ ६ र २०२८ को असार ३ मा काठमाडौं आइपुग्यो । खासगरी यो विमान दोश्रो विश्वयुद्धपछि ब्यवसायिक उडानमा ल्याइएको डकोटा विमानको विकल्पको लागि ल्याइएको थियो । डकोटा प्रमुख ठूला विमानस्थलमा मात्र अवतरण गर्न सकिन्थ्यो भने ट्वीन अटर पहाडी साना विमानस्थलमा पनि अवतरण गर्न सकिन्थ्यो, जसले गर्दा नेपालको भू-बनावट सुहाउँदो थियो । 9N–ABA र 9N–ABB संकेत दिइएको यो दुई विमान नेपालको लागि निकै महत्वपूर्ण रह्यो । न्यूनतम मर्मत तथा सम्भार खर्चमा यी दुई विमानमा पहिलोले २० वर्ष उडान गर्न सक्यो भने दोश्रोले ४३ वर्ष नेपाली आकाशमा उड्यो ।

पहिलो विमान २०४८ जेठ २६ लुक्लामा दुर्घटना भयो । तर कसैको पनि हताहत भएन भने दोश्रो विमान २०७० फागुन ४ गते दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । यो दुर्घटनाले नेपाल वायु सेवाले ट्वीन अटरसँगको सम्बन्ध नै तोड्यो । बाँकी रहेको एक विमान पनि यती एयरलाई भाडामा दियो । सेनाको दुई र नेपाल वायु सेवाको १२ गरी १४ विमानमा एउटाबाहेक सबै दुर्घटनाबाट भयो । कुनै आंशिक क्षति भए भने कुनै कामै नलाग्ने भयो ।

नेपाल वायु सेवा निगमबाहेक पनि ट्वीन अटर विमान नेपाली आकाशमा युएनडिपी, लुम्बिनी एयर, यति एयर, यतीकै भगिनी तारा एयर, सांग्रिला र स्काइलाइनको नाममा पनि उडे । १२ वटा नेपाल वायु सेवा निगमको २ वटा सेनाको, १ वटा यूएनडिपीको र ११ वटा निजी विमान सेवाको गरी २६ ट्वीन अटर नेपाली आकाशमा उडे । नेपाली आकाशमा ट्वीन अटरको ५० वर्षको इतिहासमा लामो अवधी उड्न सक्षम 9N–ABB मात्र ४३ वर्ष उड्यो । तर अन्यले खासै राम्रो सेवा दिन सकेन ।

यसरी समग्रमा हेर्दा नेपाली आकाशमा ५० वर्षमा २६ ट्वीन अटर उडे । अधिकांश दुर्घटनाग्रस्त भए जसको कारणले गर्दा १९० जनाको ज्यान गयो । अधिकांश विमान दुर्घटना प्राविधिक कारणले नै घटे ।

नेपाली आकाशमा फोकर F27 :

देशमा सडक मार्गको निर्माण नहुँदा आन्तरिक उडानहरूमा शाही नेपाल वायु सेवा निगमको माग निकै बढी भएको थियो । उपहारमा पाएका डकोटाहरूले देशको प्रमुख शहरहरूको उडान मज्जाले धानिरहेको थियो । बिकल्पमा ल्याइएका चीनिया जहाजले पनि राम्रो सेवा दिन सकेन । जसले गर्दा केही पिलाटस पोर्टर विमानले दुर्गम पहाडी विमानस्थल तथा मुख्य शहरी क्षेत्रहरूमा सेवा दिइरहेको थियो । भारतीय शहरहरूमा डकोटाले सेवा दिइरहेको भए पनि डकोटा विमान पुरानो हुँदै जाँदा दुर्घटना हुन थाले जसले गर्दा हटाउनु पर्ने बाध्यता बिस्तारै सोच्न थालियो । यसैले गर्दा नेपालकै प्रमुख विमानस्थल तथा भारतीय शहरमा सेवा नियमित गराउन पनि शानेवानिले नयाँ विमान किन्न बाध्य भयो । अन्ततः डच फोकर जहाज F27–200 विमान २०२३ सालको शुरुमा नेपाल भित्रियो । त्यति बेलाको राम्रो विमानमा पर्ने फोकर विमानले बिस्तारै भारतीय शहरमा उडान गर्न थाल्यो ।

२०२६ माघ १२ गते काठमाडौंबाट दिल्लीको लागि उडेको विमान पालम विमान स्थलमा अवतरणको समय अत्यधिक हावाहुरी चल्दा पाइलटले जहाजलाई नियन्त्रण गर्न असमर्थ भयो, जसको कारणले विमान दुर्घटना ग्रस्त भयो । पाइलट क्याप्टेन बलसाराले आफ्नो जीवन बलिदान दिएर सम्पूर्ण १८ यात्रु तथा ४ विमान कर्मचारीको ज्यान जोगाए । यसरी नेपालको पहिलो र एकमात्र फोकर विमानले सधैंको लागि बिदा लियो ।

नेपाली आकाशमा एभ्रो HS–748 :

डकोटाको विकल्पमा नेपालमा केही नयाँ जहाजको आवश्यकता अनुभूति भइसके पनि कुन जहाज उपयुक्त भन्ने निश्चित भइसकेको थिएन । पहाडी विमानस्थलको लागि ट्वीनअटर र पिलाटस पोर्टरलाई विकल्पको रूपमा लिन शुरु गरेझैँ ठूला शहरमा तथा भारतको प्रमुख शहरहरूमा डकोटाको विकल्पमा बेलायती जहाज कम्पनी Hawker Siddley को Hs–748 एभ्रो विमानलाई लिन थालियो । २०२६ को माघ ८ गते शाही नेपाल वायु सेवा निगमको लागि पहिलो एभ्रो विमान काठमाडौं आइपुग्यो । यसलाई 9N–AAU संकेताङ्क राखियो । ४१ दिनपछि फागुन २० गते अर्को विमान पनि त्रिभुवन विमानस्थलमा अवतरण ग¥यो । यसको संकेताङ्क 9N–AAV राखियो ।

यि दुई एभ्रो विमान सञ्चालकको निर्णयबाट नै खरिद गरिएको थियो । एभ्रो निकै सफल विमानको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा ब्यस्त रह्यो । भारतीय उडानमा शानेवानिले काल्र्सवर्ग वियर पनि दिन थालेको थियो । ४४ सिट क्षमताको यो विमान सफलतम् नै रह्यो, जसले गर्दा निगमले २०३६ कार्तिक १२ मा थप एक एभ्रो फेरि ल्यायो । यसअगाडि राजा वीरेन्द्रको शुभराज्यभिषेक भन्दा केही अगाडि शाही उडान तथा अति विशिष्टको उडानको लागि शाही सेनाको लागि एभ्रो विमान खरिद गरेको थियो । २०३१ माघ १० मा आइपुगेको विमानले पनि निकै समय उडान गर्न सक्षम भयो ।

शानेवानिका शुरुका दुई एभ्रो र सेनाको एभ्रो धेरै उडानले थोत्रिए तर पछिल्लो एभ्रो भने २०५३ बैशाख १३ मा वर्षातको समय भरतपुर मेघौलीको घाँसेमैदानमा अवतरणको क्रममा चिप्लिएर विमानस्थल भन्दा बाहिर ककपिट जमिनमा धस्सिएर दुर्घटना भयो । विमानका यात्रु तथा चालक दलका कसैलाई पनि कुनै चोटपटक लागेन ।

२०४९ सालमा नेपालमा गैरसरकारी विमान कम्पनीले आन्तरिक हवाइ उडान गर्न पाउने भएपछि पहिलो निजी विमान कम्पनीको रूपमा नेकोन एयरको जन्म भयो । यही कम्पनीले २०४९ भदौ २९ मा एउटा एभ्रोबाट उडानको शुरुवात गरेको थियो । पछि तीनवटा एभ्रो, एउटा टर्बो एटिआर र एउटा सेस्ना विमान चार्टर्ड उडानको लागि थप गऱ्यो । नेकोन एयरसँग रहेको एभ्रो विमानहरूमा संकेताङ्क 9N–ACM, 9N–AEG विमान क्रमश: २०५४ कार्तिक २२ मा पोखरा विमानस्थलमा र २०५६ भदौ २० गते काठमाडौं पुग्न लाग्दा दूरसञ्चारको टावरमा ठोक्किएर दुर्घटना भयो । पहिलो दुर्घटनामा विमान क्षति मात्र भएको थियो तर दोश्रो दुर्घटनामा भने १० यात्रु तथा पाँच विमानका कर्मचारी गरी सबैको निधन भयो ।

नेपालको अर्को निजी कम्पनी नेपाल एयरवेजले पनि एउटा एभ्रो ल्याएको थियो । 9N–ACW संकेताङ्क रहेको यो विमान पनि २०५४ कार्तिक २२ मा नेकोन एयरको विमानले पोखरा विमानस्थलमा ठक्कर दिँदा कामै नलाग्ने भयो ।

यसरी नेपालको आकाशमा सबैभन्दा बढी नेकोन एयरको ७, शानेवानिको ३, नेपाल एयरवेजको ३ र नेपाली सेनाको एक गरि १४ वटा एभ्रो विमानले सेवा दिएको थियो ।

त्रिभुवन विमानस्थलमा कंकर्डको सफल अवतरण :

टुर अपरेटरको रूपमा विश्वप्रख्यात अमेरिकी कम्पनी अमेरिकन एक्सप्रेसले २०४४ को बैशाखमा सुचना निकाल्दै कंकर्ड विमानमा विश्व भ्रमणका इच्छुकहरूलाई आमन्त्रण गऱ्यो । २०४४ असोज १४ देखि असोज ३० गते (३० सेप्टेम्वर देखि १६ अक्टोवर १९८७) सम्मको १७ दिनको यात्राको २५ हजार डलर प्रतियात्रु तोकिएको थियो । यस शुल्कमा यात्रुलाई प्रत्येक शहरमा बस्ने र खाने सुविधा पनि प्रदान गरिएको थियो । केवल ६३ जना धनाध्यहरू यात्रुको रूपमा र ९ जना विमान कर्मचारीको रूपमा पेरिसबाट पेरिससम्मको यात्रा तोकिएको यो चार्टर्ड उडानमा विश्वका दश शहर पुगेका थिए । पेरिसबाट उडान शुरु गरेर पेरिसमा टुङ्ग्याउने यो यात्राको सुचीमा नवौँ विन्दु काठमाडौ राखिएको थियो । पेरिसबाट अमेरिकाको सान्ता मारिया तथा सान जुआन, मेक्सिकोको मेक्सिको सिटी तथा आकापुल्को, होनोलुलु, हङकङ, काठमाडौं, दिल्ली हुँदै पेरिस फर्कने तालिका बनाइएको थियो । निर्धारित तालिकाभन्दा एक दिनअगाडि २०४४ असोज २५ गते काठमाडौं अवतरण गरेर निर्धारित मिति असोज २८ मा दिल्लीको लागि उडेको थियो ।

बहुदलको साथ आएको निजी विमानसेवा :

२०४६/४७ को आन्दोलनको सफलतापछि देशमा बहुदलीय राजनीतिको शुरुवात भयो । देशमा परिवर्तनका सपनाहरू बुन्न थालियो । केही राम्रा कामहरू भए, केही देशको प्रमुख उद्योगहरू राजनीतिक कार्यकर्ताको भर्तिकेन्द्र बन्दै धराशायी भए ।

यहीअनुरूप २०५० सालमा ‘राष्ट्रिय हवाई नीति २०५०’ पारित भयो, जसले गर्दा नेपाली आकाशमा निजी स्तरको विमानसेवाले पनि प्रतिस्पर्धा गर्न पाउने भयो । नेपाली आकाश नेपाल सरकारको विमानको मात्र एकलौटी भएन । यसले केही प्रतिस्पर्धाको शुरुवात गराउन थाल्यो । एकातर्फ यो आवश्यकता थियो भने अर्कोतर्फ नाफामा गएको शाही नेपाल वायुसेवा निगम धराशायी गर्ने एक प्रकारको षडयन्त्रको शुरुवात पनि भयो ।

यसरी ‘राष्ट्रिय हवाई नीति २०५०’ लागू भएपछि देशमा निजी विमानको आगमन हुन थाल्यो । २०५२ सालको माघ २२ गते नेपालमा पहिलो नीजि विमान कम्पनीको रूपमा एशियन एयरलाइन्सले दर्ता गर्न सफल भयो । यसको दुई दिनपछि अर्को विमान कम्पनी लुम्बिनी एयरले दर्ता गऱ्यो । २०५२ सालको अन्तसम्ममा एभरेष्ट एयर, नेपाल एयरवेज र नेकोन एयरले पनि दर्ता गरिसकेको थियो ।

निजी विमान कम्पनीहरूमा एयर डाइनाष्टी, एशियन एयरलाइन्स, लुम्बिनी एयर, एभरेष्ट एयर, नेपाल एयरवेज, नेकोन एयर, गोर्खा एयरलाइन्स, मनकामना एयरवेज, बुद्ध एयर, फिसटेल एयर, मनाङ एयर, कस्मिक एयर, माउन्टेन एयर, गरुड एयर, कर्णाली एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सीता एयर, अग्नी एयर, गुण एयरलाइन्स, तारा एयर, मकालु एयर, माउन्टेन हेलिकोप्टर्स, समिट एयर, हिमालय एयरलाइन्स, एयर काष्ठमण्डप, अल्पाइन एयर, एशियन एयरलाइन्स, बेस एयर, बिबि एयरवेज, सौर्य एयरलाइन्स, प्रभु हेलिकोप्टर्स, हेली एयरेष्ट, अल्टिच्युट एयर, फ्लाइ यती, फ्लाइङ ड्रागन एयरलाइन्स, गरूड एयर, स्काइलाइन एयरवेज, साङ्ग्रिला एयर, मुक्तिनाथ एयरलाइन्स, गोर्खा एयरलाइन्स कैलाश हेलिकोप्टर सर्भिस तथा अन्य रहेका थिए । यसमध्य कतिपयको कुनै पनि निशानी बाँकी छैनन् ।