नक्कली मदिरा राख्दै ‘ब्राण्डेड’ बनाउँदै, ९ जना पक्राउ

नक्कली मदिरा राख्दै ‘ब्राण्डेड’ बनाउँदै, ९ जना पक्राउ


कम गुणस्तरका र स्थानीय मदिराको प्रयोग गरेर उच्च गुणस्तरका मदिरा बनाउँदै बिक्री गर्ने गिरोह प्रहरी फन्दामा परेको छ । नाम चलेका ब्राण्डी, ह्वीस्कीका बोतल संकलन गर्दै गुणस्तरहिन नक्कली मदिरा उत्पादन गरेर मानव जीवनमाथि खेलवाड गर्ने गिरोहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो ।

गिरोहमा काठमाडौं कोटेश्वर बस्दै आएका रामेछापको खाँडादेबी गाउँपालिका-२ घर भएका ३६ वर्षीय बिनोदकुमार कार्की र सिन्धुली कमलामाई नगरपालिका-७ घर भएका ४० वर्षीय लेखबिक्रम थापा तथा काठमाडौं मुलपानी बस्नेहरू रामेछाप खाँडादेबी गाउँपालिका-२ का २८ वर्षीय मनोज खत्रीसमेत छन् ।

यस्तै, रामेछाप मजुवा गाउँपालिका-३ का २३ वर्षीय महेश खत्री, रामेछाप खाँडादेबी गाउँपालिका-२ का २० वर्षीय मनिस खत्री, सिन्धुली कमलामाई नगरपालिका-९ का २८ वर्षीय गौरव तामाङ, सिन्धुपाल्चोक चौतारा नगरपालिका-३ का २७ वर्षीय मोहन खड्का, सिन्धुपाल्चोक चौतारा नगरपालिका-१ का १८ वर्षीय किशोर र काठमाडौं कागेश्वरी मनोहरा-६ का ३५ वर्षीय सुमन नगरकोटी रहेका छन् । उनीहरु अहिले प्रहरी नियन्त्रणमा छन् ।

कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीका अनुसार राजधानीको कागेश्वरी मनोहरा नगरपालिका-५ थलिस्थित बिनोदकुमार कार्कीले भाडामा लिएको कोठामा नक्कली खुकुरी रम, गोल्डेन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक, सगुन गोल्ड मदिरासमेत बरामद भयो । प्रवक्ता रेग्मीका अनुसार यो गिरोहले मदिरा बनाउन प्रयोग गर्ने समान, चिनी-पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीको खालि बोतल, राजश्व अन्त शुल्कको स्टिकरहरु, लेवलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानलगायत नक्कली मदिरा बनाउन प्रयोग हुने सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो समूहले स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहीन नक्कली मदिरा बनाएर कालो बजारी गर्दै आएका थिए । अन्तरिक राजश्वको अन्त शुल्कका नक्कली स्टिकरहरु प्रयोग गर्ने, नक्कली मदिरा संचालकले उक्त स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहिन नक्कली मदिरा प्रचलित बजार दरभाउ भन्दा कम मूल्यमा बिक्री गर्थे । सस्तो मूल्यमा बिक्री गर्नाले उनीहरुको धन्दा निक्कै मौलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले यो गिरोहमाथि थप अनुसन्धान तथा कारवाही गर्न थालेको छ ।