सम्मान नपाउने भएपछि शङ्कराचार्यहरू अनुपस्थित !

सम्मान नपाउने भएपछि शङ्कराचार्यहरू अनुपस्थित !


भारतको राम मन्दिरमा आयोजित प्राणप्रतिष्ठा समारोहमा चारै जना शङ्कराचार्यहरूको सहभागिता नरहनुको मुख्य कारण ‘सम्मान नदिइनु’ भएको बुझिएको छ । शङ्कराचार्यहरूले कहिले मन्दिरको निर्माण कार्य पूरा नभइ मुर्तिको प्राणप्रतिष्ठा गर्नु शास्त्रसम्मत नहुने त कहिले प्राणप्रतिष्ठा गराउने ब्यक्ति सपत्नी सहभागी हुनुपर्ने बताउँदै आएका छन् । तर वास्तविकता अलिक भिन्न भएको बुझिएको छ ।

पुरीका शङ्कराचार्यसँग सत्तारुढ भाजपा र त्यसका नेताहरूसँग धेरै पहिलेदेखि नै अन्तरविरोध रहँदै आएको छ । भाजपासमर्थकहरूले उनलाई काङ्ग्रेस आई निकटको ब्यक्तिका रूपमा हेर्ने गरेका छन् । एक शङ्कराचार्यलाई छोडेर तीन जनालाई मात्र गर्भगृहको कार्यक्रममा सहभागिता गराउनु उपयुक्त नहुने भएकोले चारै जनालाई समान व्यवहार गर्दै आयोजकले सहभागिताको निमन्त्रणा मात्र पठाएको थियो । आफूहरूलाई गर्भगृहमा हुने खास समारोहमा सहभागी नगराइने भएपछि शङ्कराचार्यहरू रिसाएको बताइन्छ । रामको मुर्तिमा प्राणप्रतिष्ठा गर्ने भित्री कार्यक्रममा सहभागी नगराइनुलाई उहाँहरूले आफूहरूको अपमान ठान्नुभएको छ ।

माघ ८ गते (२२ जनवरी) आयोजना गरिने विशाल एवम् भब्य समारोहमा करोडौँ मानिसको सहभागिता रहने देखिएको छ । गर्भगृहमा आयोजित प्राणप्रतिष्ठा समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र पुजारीलगायत पाँच जनाले मात्र भाग लिने ब्यवस्था मिलाइएको छ । प्रधानमन्त्रीको हातबाट प्राणप्रतिष्ठा हुने निश्चित भएपछि शङ्कराचार्यहरूले कहिले पत्नीबिना गर्भगृहमा पुगेर प्राण प्रतिष्ठा गराउन नहुने त कहिले मन्दिर निर्माणले पूर्णता नपाएसम्म मुर्तिमा प्राणप्रतिष्ठा गर्नु शास्त्रसम्मत नहुने बताउँदै आएका छन् । उक्त विशेष धार्मिक समारोहमा विशेष सहभागिताको लागि प्रधानमन्त्री मोदीले विशेष तयारी गर्नुभएको छ । उहाँ एघार दिनसम्म ब्रतमा रहनुहुने बताइएको छ ।

रामजन्मभूमिमा रामको मन्दिर बनेर नित्यपूजा प्रारम्भ भएपछि एक पचासी वर्षीया महिलाले तीस वर्ष देखिको मौनब्रत तोड्ने भएकी छन् । हैदरावादका छल्ला श्रीनिवास शास्त्री नामक ब्यक्ति भारतीय रूपैयाँ पैंसट्ठी लाखमा भगवान् रामका लागि तयार गरिएको सुनको जुत्ता मन्दिरमा चढाउन आठ हजार किलोमीटर पैदलै हिँडेर अयोध्या पुग्ने भएका छन् ।

सन् २०२० को ५ अगस्तमा शिलान्याश भएको राम मन्दिर करिव २० अर्ब भारूमा सम्पन्न हुने अनुमान गरिएको थियो । फलामको प्रयोग नभएको राम मन्दिरमा ३९२ वटा खम्बा र ४४ वटा ढोका रहेका छन् । ५७४०० वर्ग फिट क्षेत्रफलमा फैलिएको मन्दिरको उचाई १६१ फिट भएको बताइएको छ । नृपेन्द्र मिश्र निर्माण समितिको अध्यक्ष रहेको र, प्रमुख इञ्जिनियर गिरिश सहस्र भोजनी भएको बुझिएको छ ।